
काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न मंगलबार बूढानीलकण्ठस्थित निवास पुगेका छन् ।
पार्टी र सरकारका समसामयिक विषयमा सोमबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल गरेका उनीहरूले सभापति देउवासँग आफूहरूको निष्कर्ष सुनाएका हुन् ।
पूर्वपदाधिकारीहरूको निष्कर्ष अनुसार नेपाली कांग्रेसले नेकपा (एमाले) सँग २०८१ असार १७ गते भएको ७ बुँदे सहमति अनुसार गठबन्धनको भावना र स्पिरिट बमोजिम सरकार सञ्चालनमा ध्यान दिनु पर्नेछ । साथै, संविधान संशोधनको विषय पनि प्राथमिकताका साथ अघि बढाइनु पर्ने उनीहरूको धारणा छ।
यसैबारे छलफल गर्न सभापति देउवाको निवास पुगेका नेताहरूमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन् ।








प्रतिक्रिया