
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) माथि कांग्रेसको मूल्यमान्यता र मूल विचार र सिद्धान्तमा निरन्तर आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंको बसुन्धारामा आयोजित ४३औं बीपी स्मृति दिवसको गोष्ठीमा बोल्दै उनले कांग्रेस नेतृत्व निर्णयमा स्पष्ट नहुँदा एमाले झनै आक्रामक बन्दै गएको बताएका हुन् ।
कोइरालाले विशेषगरी कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद् सम्बन्धी विधेयकमा एमालेले कांग्रेसका मौलिक मान्यता र सैद्धान्तिक आधारमा हस्तक्षेप गरेको बताए ।
‘हामी चुपचाप लागेर बसिरहेका छौं, बीपी भएको भए यस्तो कुरा स्वीकार गर्नुहुन्नथ्यो,’ उनले भने, ‘यो कांग्रेसको मुटुमा प्रहार हो।’
उनले संवैधानिक परिषद सम्बन्धी विधेयक पारित गर्दा पार्टी नेतृत्वबाट गरिएको ह्विप प्रयोगप्रति असन्तुष्टि व्यक्त गरे ।
प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभामा पुगेको विधेयक परिमार्जन भएर फर्किँदा पनि त्यसमा गम्भीर समीक्षा नहुनु र ह्विप लगाएर पारित गर्नु गलत निर्णय भएको कोइरालाको तर्क छ । ‘यो मुद्दा त अदालतमा जान्छ, त्यति कुरा कांग्रेसका चिफलाई थाहा छैन ? लगाउन हुन्थ्यो ह्विप?’ उनले प्रश्न गरे ।
पूर्वमन्त्रीहरूमाथि लागेका भ्रष्टाचारका आरोप र भूमि मन्त्री बलराम अधिकारीको राजीनामा माग गर्न कास्की एमालेले आह्वान गरिसक्दा पनि कांग्रेस चुप बस्नुलाई उनले लाचारीपनाको संज्ञा दिए । ‘कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्,’ उनले कटाक्ष गरे, ‘हामी विचारमा कमजोर छैनौं, तर मूल्यमान्यतामा अडिन सकिरहेका छैनौं ।’
उनले भूमि विधेयकलाई संसदीय समितिमा छलफल नगरी हतारमा पास गर्न खोज्नु आपत्तिजनक भएको भन्दै प्रश्न गरे, ‘के हतार छ भूमि विधेयक पास गर्न ? किन छलफल गर्न एमाले डराइरहेका छन् ?’ साथै, कुलिङ पिरियडलाई हटाउने संशोधन प्रस्ताव एमाले सांसदहरूबाट आउनु कांग्रेसको विचारमा प्रत्यक्ष हमला भएको बताए ।
कर्मचारीले अवकाश वा राजीनामापछि दुई वर्ष कुनै संवैधानिक निकायमा नजाने भन्ने ‘कुलिङ पिरियड’ को प्रावधान एमालेले हटाउन खोज्नु कांग्रेसको सिद्धान्त र नीतिप्रति असहिष्णुता भएको भन्दै उनले पार्टी नेतृत्वसँग चनाखो हुन आग्रह गरे ।








प्रतिक्रिया