रसुवागढी बाढीः २९ करोडको बिमा दाबी माग, सबैभन्दा बढी शिखर इन्स्योरेन्समा

343
Shares

काठमाडौं । रसुवागढी आएको बाढीले पुराएको क्षतिपछि नेपाल बिमा प्राधिकरणमा २८ करोड ९२ लाख रुपैयाँ बराबरको ६३ दाबी परेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार असार २३ गते रसुवा जिल्लामा आएको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिका लागि हालसम्म २८ करोड ९२ लाख रुपैयाँ बराबरको माग दाबी परेको हो ।

बाढीको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा प्रारम्भिक बिमा दाबी परेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार सामुद्रिक बिमा लेखका ६ वटा बिमा बापत १५ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको छ ।

यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा लेखका ४ वटा दाबी बापत ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बिमा लेखका १० वटा दाबी बापत ४ करोड १८ लाख ५० हजार रुपैयाँ, मोटर बिमा (सार्वजनिक)लेखका ३२ वटा दाबी बापत २ करोड ३१ लाख ५० हजार रुपैयाँ र मोटर बिमा (निजी) लेखका ११ वटा दाबी बापत १ करोड १७ लाख ५० हजार रुपैयाँ माग गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा दाबी परेका छन् । शिखर इन्स्योरेन्समा १० वटा दाबी बापत १६ करोड १२ लाख १० हजार रुपैयाँ माग गरिएको छ । यस्तै, नेको इन्स्योरेन्समा ३ वटा दाबी बापत ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ वटा दाबी बापत ३ करोड ४१ लाख ५० हजार रुपैयाँ माग गरिएको छ ।

नेपाल इन्स्योरेन्समा १२ वटा दाबी बापत १ करोड २८ लाख ५० हजार रुपैयाँ, सानिमा जीआइसी इन्स्योरेन्समा ६ वटा दाबी बापत ७७ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ९ वटा दाबी बापत ७५ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबी बापत ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बिमा दाबी बापत ४७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबी बापत ३१ लाख रुपैयाँ माग गरिएको छ ।

भोटेकोसी नदीमा आएको बाढीले नेपाल चिन मितेरी पुलसँगै बन्दरगाहमा रहेका सवारी साधन र केही हाइड्रोपावर कम्पनीहरुमा क्षति पुराएको थियो । उक्त बाढीबाट क्षति पुराएपछि साउन १ गतेसम्ममा सो रकम बराबरको बिमा दाबी माग भएको प्राधिकरणले जानकारी दिएको छ ।