भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई लाभांश वितरणका लागि राष्ट्र बैंकले तोक्यो ६ पूर्वशर्त

जोखिम बहन कोष र जगेडाकोषको व्यवसथा गर्नुपर्ने

448
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ ।

बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाले आर्जन गरेको मुनाफाको बाँडफाँट तथा लाभांश वितरण सम्बन्धी व्यवस्थालाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायले ‘भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको जानकारी गराएको छ ।

लाभांश वितरणका लागि केन्द्रीय बैंकले विभिन्न ६ वटा पूर्वशर्तहरु तोकेको छ । लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक रहेको केन्द्रीय बैंकले जनाएको छ ।

मार्गदर्शनमा लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, सेयर प्रिमियमबाट नगद लाभांश घोषणा गर्न नपाइने एवं सेयर, लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्ने विषय अगाडि सारेको छ ।

यस्तै, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको र केन्द्रीय बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको हुनुपर्ने उल्लेख गरेको छ ।

भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले लाभांश वितरण गर्दा नाफाबाट जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था गर्नुपर्ने भएको छ । संस्थाले यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउनुपर्छ । जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिनेछ ।

मार्गदर्शनमा लाभांश वितरणको प्रस्ताव र स्वीकृति सम्बन्धी व्यवस्था पनि गरिएको छ । जसमा कोषहरुमा रकम छुट्याई बाँकी रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्ने, लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति संगै लाभांश प्रस्ताव समेत समावेश गरी यस बैंकको पूर्वस्वीकृति लिनुपर्ने विषय राखिएको छ ।

संस्थाको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय, लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, कोषहरुमा रकम छुट्याइएको विवरण देखाउनुपर्ने बताइएको छ ।

संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण सम्पूर्ण कागजातसहित निवेदन पेस गर्दा ६ महिना व्यतित नभएको, बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने व्यहोरा सहितको स्वःघोषणा हुनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।