ग्रीन फाइनान्सलाई सघाउँदै बेष्ट फाइनान्स, हरेक ग्राहकको तर्फबाट एक बिरुवा रोप्ने

539
Shares

काठमाडौं । बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहकमाझ ल्याएको छ । नेपाल राष्ट्र बैंकको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ग्रीन फाइनान्सिङ’ का लागि स्रोत जुटाउन कम्पनीले यो प्रडक्ट ग्राहकसामु ल्याएको हो ।

बेष्टको निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्याउन पुग्ने कम्पनीले जनाएको छ । त्यसका लागि हरेक ग्राहकका तर्फबाट एक वटा बिरुवा रोपिदिने व्यवस्था बेष्ट फाइनान्सले मिलाएको छ ।

स्थानीय निकायहरुसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने र उक्त बिरुवा रोपेर हुक्र्याउने र ५ बर्ष पछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ ।

उक्त साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौं) को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका छन् ।

यसैबीच गोदावरी नगरपालिका वडा नं. १, बेष्ट फाइनान्स र लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नं. १ गोदामचौर स्थित खाली जग्गामा ५०० बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नंं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा कर्मचारीहरु, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगाएत लायन्सका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । उक्त वृक्षारोपण कार्यक्रमलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढी क्लबहरुले ऐक्यबद्धता जनाएका थिए ।