
काठमाडौं । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक बनेको छ । बैंकले आर्थिक वर्ष सकिएको २ दिनमै सबै वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको चौथो त्रैमासअन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण निकालेको हो ।
राष्ट्र बैंकले दिएको समयभन्दा ४ हप्ता अघि नै प्रकाशित विवरणअनुसार बैंकको खुद ब्याज आम्दानीसँगै, नाफा, वितरणयोग्य नाफा र लाभांश क्षमतामा पनि सुधार गरेको हो । बैंकहरूले साउन ३० गतेभित्र चौथो त्रैमासअन्त्यको वित्तीय विवरण सार्वजनिक गर्न पाउँछन् ।
आव २०८०/८१ मा कुल ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले आव २०८१/८२ मा ६३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ जुन ९.१९ प्रतिशत बढी हो ।
ब्याजदर घट्दा ब्याज आम्दानीमा भारी गिरावट आउँदा पनि बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेर २ अर्ब २४ करोड ४४ लाख पुगेको छ । यस्तै खुद फि एन्ड कमिसन आम्दानी पनि वृद्धि हुँदा सञ्चालन आम्दानी २ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर २ अर्ब ६३ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।
यता नोक्सानी व्यवस्थातर्फ अघिल्लो आवको भन्दा केही बढी रकम छुट्याएर बैंकले सम्भावित नोक्सानीतर्फ सुखद भविष्य ग्यारेन्टी गरेको देखिन्छ । अघिल्लो आवमा बैंकले ३५ करोड ८२ लाख रुपैयाँ प्रोभिजन गरेकामा गत आवमा ४१ करोड ७५ लाख रुपैयाँ प्रोभिजन गरेको छ । यसैगरी सञ्चालन खर्च थोरै बढे पनि बैंकको खुद नाफामा आकर्षक सुधार आएको हो ।
बैंकले २०८२ असार मसान्तसम्म ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा निक्षेप र कर्जाको वृद्धिदर क्रमशः ६.३८ र ८.६७ प्रतिशत रहेको छ ।
निक्षेपभन्दा कर्जाको विस्तार केही बढी हुनुको लाभ खुद ब्याज आम्दानीमा देखिएको हो ।
यता नाफामा सुधार आउँदा बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवको अन्त्यसम्म १७.७३ रुपैयाँ रहेको ईपीएस अहिले १८.१० रुपैयाँ कायम भएको छ ।
बैंकको कोर पुँजी अनुपात १०.५५ प्रतिशत र पुँजीकोष अनुपात १३.२० प्रतिशतको सबल स्थितिमा छ । एक वर्षको अवधिमा निष्क्रिय कर्जा झिनो मात्राले बढेर ३.३८ प्रतिशत कायम भएको छ । जबकि राम्रो प्रोभिजनका कारण खुद एनपीएल ०.१९ प्रतिशतमात्र छ ।
बैंकको आधार दर ७.०७ प्रतिशत र कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) ४.२७ प्रतिशत छ । दुवै दर अघिल्लो आवको भन्दा भारी मात्रामा घटेका हुन् ।
असार मसान्तमा बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ प्रतिशत कायम हुँदा दोस्रो बजारको मूल्यका आधारमा पीई रेसियो २७.६९ रहेको छ ।
कामना सेवाले गत आवमा रिकभरीतर्फ राम्रो प्रगति हासिल गरेको देखिन्छ । बैंकले बक्यौता रहेको ब्याज उठाएर रेगुलेटरी एड्जस्टमेन्टबाट १७ करोड ८ लाख रुपैयाँ बाँड्न मिल्ने रकममा जोडेको छ । अघिल्लो आवमा ३ करोड ११ लाख रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्टमा थपेको थियो ।
यसरी कामना सेवा विकास बैंकको गत वर्षको वितरणयोग्य नाफा ५८ करोड ९९ लाख रुपैयाँ रहेको छ । साथै आर्थिक वर्षको सुरुको रिटेन्ड अर्निङ ४१ करोड १२ लाखबाट लाभांश वितरण गरेको रकम घटाउँदा २०८२ असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य रकम ६० करोड ७४ लाख रुपैयाँ रहेको छ ।
यसरी बैंकको लाभांश क्षमता १७.३ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो क्षमता १२.३५ प्रतिशत रहेकामा बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश विवरण गरेको थियो ।
बैंकको चुक्तापुँजी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।








प्रतिक्रिया