जाजरकोट भूकम्पपीडित ऋणीलाई राष्ट्र बैंकको राहत


काठमाडौं । नेपाल राष्ट्र बैंकले जाजरकोट भूकम्पबाट प्रभावित ऋणीलाई कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न दिने भएको छ ।

केन्द्रीय बैंकले आागमी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीति कार्यान्वयन गर्न परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

२०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम लगायतका क्षेत्रमा संचालनमा रहेका व्यवसायहरुमा प्रवाहित कर्जामा पनि उक्त सुविधा उपलब्ध हुने छ । त्यस्तै उक्त क्षेत्रमा बसोवास गरिरहेका सर्वसाधारणले लिएको आवासीय घर कर्जा लगायत प्रयोजन खुलेका व्यक्तिगत कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सक्नेछन् ।

कर्जा कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुलउपर गरी राष्ट्र बैंकले तोकेका शर्त पूरा गर्नुपर्नेछ । कर्जा पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यसरी कर्जा पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।