युद्ध अर्थतन्त्र: अमेरिकी राजनीतिमा हतियार उद्योगको दबदबा

427
Shares

हालै प्रकाशित दुईवटा प्रतिवेदनहरूले पश्चिममा युद्ध अर्थतन्त्र कसरी फस्टाइरहेको छ भनी स्पष्ट चित्र कोरेका छन् ।प्यालेस्टाइनी भूभागमा मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक फ्रान्चेस्का एल्बनिजीले तयार पारेको ‘फ्रम इकोनोमी अफ अकुपेशन टु इकोनोमी अफ जेनोसाइड’ ले गाजामा इजरायली सैनिकहरूले गरिरहेको नरसंहारबाट पश्चिमका ठूला व्यापारिक कम्पनीहरूले फाइदा उठाइरहेको उल्लेख छ ।

त्यस्तै क्विन्सी इन्स्टिच्युट र ब्राउन विश्वविद्यालयको द कस्ट्स अफ वार प्रोजेक्टका लागि विलियम हार्तुङ र स्टिफन सेमलरले तयार पारेको ‘प्रोफिट्स अफ वार: टप बेनेफिसिएरीज अफ पेन्टागन स्पेन्डिङ, २०२०–२०२४’ ले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विगत पाँच वर्षमा तजबिजी खर्चका रूपमा ४४ खर्ब डलर खर्च गरेको र त्यसको ५४ प्रतिशत भाग रक्षा सम्बन्धी ठेकेदारहरूले हत्याएको उल्लेख छ ।

पहिला एल्बनिजीको प्रतिवेदनको चर्चा गरौं । यसले अधीनस्थ गाजा क्षेत्रमा इजरायलले उपनिवेशवादी नीति अपनाइरहेको र त्यसमा पश्चिमको कर्पोरेट क्षेत्रको सघन संलग्नता रहेको दाबी गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलीहरूमाथि आक्रमण गरेर १ हजारभन्दा बढीको हत्या गरेपछि प्रतिशोधका लागि इजरायलले गाजामा चलाएको सैन्य कारवाहीमा ५७ हजारभन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ । त्यो सैन्य कारवाही नरसंहार भएको एल्बनिजीको दाबी छ । त्यससँगै उनले प्रतिवेदनमा व्यापारिक स्वार्थका कारण औपनिवेशिक गतिविधि र त्यससँगै नरसंहारहरू हुने गरेको तर्क गरेकी छन् ।

प्रतिवेदनमा कर्पोरेट जगतले आफ्नो लाभका लागि नरसंहारलाई योगदान गरिरहेको स्पष्ट उदाहरणहरू दिइएको छ । इजरायली कम्पनीहरू एल्बिट सिस्टम्स र इजरयाल एयरोस्पेस इन्डस्ट्रीजले नरसंहारबाट विशाल लाभ उठाइरहेको उल्लेख छ । सन् २०२३ र २०२४ मा इजरायलले रक्षा खर्चमा ६५ प्रतिशतले वृद्धि गर्दै ४६.५ अर्ब डलर पु¥याएको छ । यसले गर्दा सैन्य उद्योगको वार्षिक मुनाफामा ठूलो वृद्धि भएको छ ।

त्यसका साथै गोलीगट्ठा र बम उत्पादन गर्ने विदेशी कम्पनीहरूले पनि राम्रो नाफा कमाएका छन् । लकहीड मार्टिन कम्पनीले एफ–३५ लडाकू विमान र अन्य हतियारहरू इजरायललाई बेचेर नाफा कमाएको छ ।

हतियार उद्योगसँगै प्रविधि क्षेत्रले पनि नाफा कमाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२४ मा सैन्य प्रविधि सम्बन्धी स्टार्टअप कम्पनीहरूको १४३ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसबाहेक अमेरिकाका विशाल प्रविधि कम्पनीहरूले इजरायलको रक्षा मन्त्रालयबाट विशाल ठेक्का पाएका छन् । गूगलको माउ कम्पनी अल्फाबेटका साथै अमेजन डट्कमलाई प्रोजेक्ट निम्बस अन्तर्गत १.२ अर्ब डलर बराबरको ठेक्का दिइएको छ । माइक्रोसफ्टको अज्योर प्ल्याटफर्म र प्रोजेक्ट निम्बसले इजरायललाई क्लाउड र एआई पूर्वाधार उपलब्ध गराएर प्यालेस्टाइनीहरूको निगरानी र हत्यामा योगदान गरिरहेका छन् ।

त्यस्तै पालन्टियर टेक्नोलोजीजले इजरायली सेनालाई उपलब्ध गराएको आर्टिफिसियल इन्टेलिजेन्स प्ल्याटफर्मले युद्धभूमिबाट तत्कालै प्राप्त डेटामार्फत स्वचालित निर्णय लिएर सकेसम्म धेरै प्यालेस्टाइनीहरूलाई हत्या गर्न सहज बनाइदिएको छ ।

त्यस्तै भारी मशिन उत्पादन र निर्माण व्यवसाय क्षेत्रले पनि इजरायल सरकारसँग करोडौं डलर बराबरको ठेक्का गरेर राम्रो मुनाफा कमाइरहेको छ । गाजामा प्यालेस्टाइनीहरूको घर र आवासीय क्षेत्र भत्काउनुका साथै पश्चिम किनारमा अवैध यहुदी बस्ती बसाउनका यिनीहरूको योगदान छ ।

अमेरिकाको क्याटरपिलर इन्कर्पोरेशनका साथै कोरियाको एचडी ह्युन्डाई, दूसान र स्विडेनको भोल्भो ग्रुपले बनाएका डोजर र अन्य निर्माण उपकरणले नरसंहार तथा जातिसफायामा योगदान गरिरहेका छन् ।

यसका अतिरिक्त, अमेरिकाको शेभ्रोन कर्पोरेशनले इजरायलको न्युमेड इनर्जीसँगको समन्वयमा प्राकृतिक ग्यास उत्खनन गरी बिक्री गरिरहेको छ । सन् २०२३ मा उसले इजरायल सरकारलाई ४५.३ करोड डलर राजस्व बुझाएको थियो । बेलायतको बीपी पीएलसीले गत मार्च महिनामा प्यालेस्टाइनको जलक्षेत्रमा उत्खननको अनुमति पाएको छ र त्यसबाट भविष्यमा विशाल लाभ उठाउने सम्भावना छ ।

कृषिक्षेत्रमा इजरायलको सबभन्दा ठूलो खाद्य कम्पनी टीनुभाले प्यालेस्टाइनीहरूलाई हटाइएको क्षेत्रमा उब्जनी गरेर लाभ उठाइरहेको छ । त्यसका साथै उसले प्यालेस्टाइनी बजारमा कब्जा गरेको छ ।

बैंकिङ क्षेत्र पनि इजरायलबाट लाभ उठाउन पछि परेको छैन । बीएनपी पारिबास र बार्क्लेज लगायतका ठूला बैंकहरूले इजरायलको ट्रेजरी बोन्डमा लगानी गरेर इजरायललाई रक्षा बजेट बढाउन योगदान गरिरहेका छन् । त्यस्तै ब्ल्याकरक, भ्यानगार्ड र पीआईएमसीओ लगायतका सम्पत्ति व्यवस्थापन कम्पनीहरूले इजरायली बोन्ड खरिद गरेका छन् ।

यी सबै वित्तीय कारोबारहरूका कारण सन् २०२३ अक्टोबरपछि तेल अभिभ स्टक एक्सचेन्जमा सूचीकृत कम्पीहरूले कीर्तिमान रूपमा १७९ प्रतिशत मुनाफा कमाएका छन् । त्यो भनेको १५७.९ अर्ब डलर बराबरको नाफा हो । युद्ध लम्बिनुको पछाडि यही अकुत नाफा जिम्मेवार छ ।

एल्बनिजीको प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाले उनीमाथि प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकी तथा इजरायली अधिकारी, कम्पनी तथा कार्यकारी अधिकृतहरूका विरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई कारवाहीका लागि उत्प्रेरित गर्ने अवैध तथा लज्जास्पद गतिविधि गरेको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेका हुन् । एल्बनिजीले अमेरिकी कम्पनीहरूको नाम पोलेपछि अमेरिकाको पारो तातेको यसबाट स्पष्ट हुन्छ ।

उता हार्तुङ र सेमलरको प्रतिवेदनले अमेरिकाको सैन्य बजेटमा निजी कम्पनीहरूको वर्चस्वको विश्लेषण गरेको छ । उनीहरूले आफ्नो नाफाका लागि राष्ट्रिय रक्षा रणनीतिलाई दिशानिर्देश गर्ने हैसियत राख्ने गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

रक्षा बजेटमा अन्य क्षेत्रभन्दा हतियार उद्योगको दबदबा छ । जम्मा पाँचवटा निजी कम्पनीहरू लकहीड मार्टिन (३१३ अर्ब डलर), (पहिला रेथ्यन भनेर चिनिने) आरटीएक्स (१४५ अर्ब डलर), बोइङ (११५ अर्ब डलर), जनरल डाइनामिक्स (११६ अर्ब डलर) र नोरथ्रोप ग्रुमान (८१ अर्ब डलर) ले सन् २०२० देखि २०२४ सम्म ७७१ अर्ब डलर बराबरको ठेक्का पाएका थिए । त्यही अवधिमा अमेरिकाले कूटनीति, विकास र मानवीय सहायताका लागि ३५६ अर्ब डलर मात्र खर्च गरेको थियो । यसले अमेरिकाको राष्ट्रिय प्राथमिकतालाई स्पष्ट पार्छ । अमेरिकाको अर्थतन्त्र युद्धमा अडिएको तथ्यलाई पनि यसले उजागर गर्छ ।

प्रतिवेदनमा अमेरिकी सेनाको खर्च अघिल्लो शताब्दीको तुलनामा लगभग दोब्बर बढेको उल्लेख छ । सन् २०२५ मा आइपुग्दा त्यो खर्च १०.०६ खर्ब डलर पुगिसकेको छ । अफगानिस्तान र इराकमा अमेरिकाको युद्ध अन्त्य भए पनि रक्षा खर्च झनै धेरै बढिरहेको छ किनकि अमेरिकाले अब आफ्नो ध्यान चीनतर्फ केन्द्रित गर्न खोजिरहेको छ ।

हतियार उद्योगले अमेरिकी राजनीतिमा व्यापक प्रभाव पारिरहेको तथ्यलाई पनि प्रतिवेदनले औंल्याएको छ । सन् २०२४ मा हतियार उद्योगले ९५० जना पैरवीकर्ताहरूलाई नियुक्त गरेको थियो । तिनले पेन्टागनको ठेक्का हात पार्न र अमेरिकाको रक्षा नीति निर्धारण गर्न योगदान गरिरहेका हुन्छन् ।

अमेरिकी सरकारबाट अधिकतम लाभ लिनका लागि हतियार उद्योगले संसद्का रक्षा समितिहरूका सदस्यको चुनावी अभियानमा करोडौं डलर खर्च गरिरहेका छन् । त्यसका साथै उनीहरूले सरकारी सेवाबाट निवृत्त भएका वरिष्ठ कर्मचारीहरूलाई भित्र्याउने गरेका छन् ।

नोरथ्रोप ग्रुमान र लकहीड मार्टिन जस्ता ठूला कम्पनीले थिंकट्यांकहरूमा पनि करोडौं डलरको लगानी गर्ने गरेका छन् । क्विन्सी इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टले गत फेब्रुअरीमा प्रकाशन गरेको प्रतिवेदन ‘बिग आइडियाज यान्ड बिग मनी: थिंक ट्यांक फन्डिङ इन अमेरिका’ ले एट्लान्टिक काउन्सिल, ब्रूकिङ्स इन्स्टिच्युशन, कार्नेगी इन्डावमेन्ट फर इन्टरनेशनल पीस र सेन्टर फर ए न्यु अमेरिकन सिक्योरिटी लगायतका थिंकट्यांकले हतियार कम्पनीहरूबाट फन्ड पाउने उल्लेख गरेको छ । ती थिंकट्यांकले हतियार उद्योगको पक्षमा नीति बनाउन पैरवी गर्ने गरेका छन् ।

त्यसका साथै सैन्य प्रविधि कम्पनीहरू स्पेसएक्स, पालन्टियर र एन्डुरिलले एआई, ड्रोन र मानवरहित हतियारका लागि अर्बौं डलर बराबरको ठेक्का हात पार्न लागेको प्रतिवेदनमा उल्लेख छ । ट्रम्पको कर तथा खर्च कानूनले यी कम्पनीहरूका लागि बजेट छुट्याइसकेको छ । त्यसअन्तर्गत अवैध आप्रवासीहरूको निगरानी तथा देश निष्काशनका लागि इमिग्रेशन यान्ड कस्टम्स इन्फोर्समेन्टको सफ्टवेयरका लागि पालन्टियरले ७० करोड डलरभन्दा बढी रकम पाउने भएको छ । उपराष्ट्रपति जेडी भ्यान्सको कम्पनी नार्या क्यापिटललाई पालन्टियरका संस्थापक पिटर थिएलले लगानी गरेका छन् । त्यसैले थिएललाई फाइदा गराउने काममा भ्यान्स अग्रसर हुन्छन् ।

ट्रम्पसँग झगडा गरिरहेको भए पनि इलोन मस्कको स्टार्टअप एक्सएआईले केही दिनअघि मात्र रक्षा मन्त्रालयमा ग्रोक च्याटबोट चलाउने ठेक्का पाएको छ । २० करोड डलर बराबरको उक्त ठेक्का पाएपछि अब ग्रोक ४ ले सरकारी सेवालाई थप द्रुत र प्रभावकारी बनाउनुका साथै राष्ट्रिय सुरक्षा तथा वैज्ञानिक चुनौतीहरूलाई सम्बोधन पनि गर्ने एक्सएआईले जनाएको छ ।

यसरी यी दुई प्रतिवेदनहरूले पश्चिमका शक्तिशाली मुलुक र निजी कम्पनीहरूले कसरी युद्धबाट लाभ उठाइरहेका छन् भनी स्पष्ट चित्र कोरेका छन् । अमेरिकाका पूर्व राष्ट्रपति ड्वाइट डी. आइजनहावरले अमेरिकी राजनीतिमा हतियार कम्पनीहरूको पकडको खतरनाक स्थितिका बारेमा ६ दशकअघि नै सचेत गराएका थिए । अहिले तिनका साथै प्रविधि कम्पनीहरूको प्रभाव झनै बढेको छ र तिनले अमेरिकालाई नयाँ नयाँ युद्धमा जानका लागि दबाब दिइरहेका हुन्छन् । इजरायलले गाजामा चलाएको नरसंहारले पनि यिनै हतियार र प्रविधि कम्पनीहरूको नाफाका लागि निरन्तरता पाइरहेको स्पष्ट छ ।