
काठमाडौं । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई ६.२५ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । कोषले आागमी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै साउन १ देखि ६.२५ प्रतिशतमै ऋण दिने बताएको छ । कोषले साउन१ देखि सञ्चयकर्ताले सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदरसँगै ऋण सापटीमा पाउने ब्याजदर समेत घटाएको हो ।
सञ्चय कोषले २०८२ साउन १ देखि लागू हुनेगरी सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ निर्धारण गरेको जनाएको छ । चालु आर्थिक वर्षमा ५.५ प्रतिशत ब्याजदर दिएको कोषले आगामी आर्थिक वर्षको लागि ०.५ प्रतिशत बिन्दुले घटाएर नयाँ ब्याजदर तय गरेको हो ।
कोषले सबै प्रकारका ऋण सापटीमा लिने ब्याजदर पनि घटाएको हो । कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत ब्याजदर तय गरेको हो । चालु आवमा विशेष सापटीमा ६.६० प्रतिशत रहेको ब्यादर साउन १ देखि थप घट्ने भएको हो । यस्तै घर कर्जा, शैक्षिक कर्जा र घरमर्मत कर्जाको ब्याजदर १ साउनदेखि ७.२५ प्रतिशत हुनेछ । चालु आवमा यी ३ वटै शीर्षकको कर्जामा ७.५ प्रतिशत ब्याजदर थियो ।
कोषले जग्गा खरिद कर्जा र सरल कर्जाको ब्याजदर ७.५० मा घटाएको छ । हाल ८ प्रतिशत रहेको यि कर्जाको ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएको हो ।
विशेष कर्जा बाहेक धितोमा आधारित कर्जाको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताहरूले ०.२५ प्रतिशत बिनदुले ब्याज छुट पाउने कोषले जनाएको छ । कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि १ करोडसम्म र घर मर्मतका लागि ३० लाखसम्म कर्जा दिदै आएको छ ।
कोषले सञ्चयकर्ता स्वयं वा पति/पत्नी र छोरा/छोरीलाई उच्च शिक्षा अध्ययन गर्न शैक्षिक कर्जा ४० लाख र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि सरल कर्जा ६० लाखसम्म दिँदै आएको छ । कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको विशेष कर्जाको रूपमा दिदै आएको छ ।
कोषबाट चालु आर्थिक वर्षमा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी लिएका छन् । त्यस्तै २५ हजार २९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन् ।
काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूलाई कर्जा सुविधा दिँदै आएको छ ।
हाल कोषामा करिव ५ लाख ८० हजार सञ्चयकर्ता र करिव ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध छन् ।








प्रतिक्रिया