
आजको विश्वमा प्राइभेट इक्विटी (पीई), भेन्चर क्यापिटल (भीसी)र हेज फण्ड जस्ता नयाँ लगानीका माध्यमहरूले आर्थिक वृद्धि र नवप्रवर्तनमा क्रान्ति ल्याइरहेका छन् । यी कोषहरू परम्परागत बैंकिङ र शेयर बजारभन्दा बाहिर रहेर, उद्यमहरूमा पुँजी र विशेषज्ञता भित्र्याउँछन् । नेपालजस्तो विकासोन्मुख देशका लागि, यस्ता कोषहरूले नयाँ पुँजी, प्रविधि हस्तान्तरण र हजारौँ रोजगारी सिर्जना गरी आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छन् ।
प्राइभेट इक्विटी: प्राइभेट इक्विटी भनेको सार्वजनिक शेयर बजारमा कारोबार नहुने कम्पनी वा सम्पत्तिमा गरिने लगानी हो । पीई फण्डहरूले सामान्यतया स्थापित, परिपक्व र बलियो व्यवसायिक आधार भएका कम्पनीहरूलाई लक्षित गर्छन्, जसलाई थप विस्तार, सञ्चालन सुधार, पुनर्संरचना वा स्वामित्व परिवर्तनका लागि ठूलो मात्रामा पुँजीको आवश्यकता हुन्छ । पीई फर्महरूले अक्सर कम्पनीको ठूलो वा पूर्ण नियन्त्रण लिएर लगानी गर्छन् । उनीहरू केवल पुँजी प्रदायक मात्र नभई कम्पनीको व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन्छन्, रणनीतिक निर्णयहरूमा प्रभाव पार्छन्, दक्षता बढाउँछन् र नयाँ बजार विस्तार गर्न मद्दत गर्छन् । उनीहरूको मुख्य लक्ष्य कम्पनीको मूल्य बढाएर आकर्षक प्रतिफल कमाउनु हो, र सामान्यतया ५ देखि ७ वर्षभित्र कम्पनीलाई बिक्री गरेर वा सार्वजनिक निष्कासन मार्फत आफ्नो लगानी फिर्ता लिन्छन् ।
भेन्चर क्यापिटल: भेन्चर क्यापिटल प्राइभेट इक्विटीकै एक उप-प्रकार हो, जसले विशेष गरी प्रारम्भिक चरणका स्टार्टअप वा साना, उच्च-वृद्धि सम्भावना भएका कम्पनीहरूमा लगानी गर्छ । यी कम्पनीहरूमा नवीन विचार, विघटनकारी प्रविधि वा मौलिक व्यापारिक मोडल हुन्छ, तर उनीहरूसँग तीव्र वृद्धिका लागि आवश्यक पुँजीको अभाव हुन्छ । भेन्चर क्यापिटल लगानी उच्च जोखिमयुक्त मानिन्छ किनभने धेरै स्टार्टअपहरू असफल हुने गर्छन्, तर सफल भएमा यसले असाधारण प्रतिफल दिन सक्छ । आजका गुगल, फेसबुक, अमेजन, उबेर जस्ता विश्वव्यापी प्रविधि दिग्गजहरूले आफ्नो प्रारम्भिक चरणमा भेन्चर क्यापिटल फण्डबाटै पुँजी प्राप्त गरेका थिए । भेन्चर क्यापिटलिस्टहरूले केवल पुँजी मात्र दिँदैनन्, बरु स्टार्टअपहरूलाई रणनीतिक सल्लाह, मेन्टरशिप, उद्योग सञ्जाल र व्यवस्थापकीय मार्गदर्शन पनि प्रदान गर्छन्, जसले उनीहरूको सफलताको सम्भावना बढाउँछ ।
हेज फण्ड: हेज फण्ड लगानीको अलि फरक तर शक्तिशाली तरिका हो । यो यस्तो लगानी कोष हो जसले बजार जसरी चले पनि (चाहे शेयर मूल्य बढोस् वा घटोस्) नाफा कमाउने प्रयास गर्छ । उदाहरणका लागि, यदि कुनै कम्पनीको शेयर मूल्य बढ्ने सम्भावना छ भने, हेज फण्डले सामान्य लगानीकर्ताले जस्तै त्यो शेयर किनेर नाफा कमाउँछ । तर, यदि कुनै कम्पनीको शेयर मूल्य घट्ने सम्भावना देखेमा, उनीहरूले त्यसबाट पनि नाफा कमाउन सक्ने विशेष रणनीतिहरू प्रयोग गर्छन् । उनीहरूले अनुमान गरेभन्दा बजार विपरीत गएमा भने नोक्सान पनि हुन सक्छ ।
यसको नाममा ‘हेज’ (जोखिम कम गर्ने) शब्द भए पनि, धेरै हेज फण्डहरूले ठूलो जोखिम मोलेर धेरै नाफा कमाउने लक्ष्य राख्छन् । यसका लागि उनीहरूले ‘लिभरेज’ (धेरै पैसा उधारो लिएर लगानी गर्ने) जस्ता विभिन्न विशेष रणनीतिहरू प्रयोग गर्छन् । हेज फण्डमा सामान्यतया धेरै धनी व्यक्तिहरू वा ठूला संस्थागत लगानीकर्ताहरूले मात्र लगानी गर्न सक्छन्, जस्तै: पेन्सन फण्ड, विभिन्न बीमा कम्पनीहरू, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष आदि । किनकि यसमा न्यूनतम लगानीको सीमा धेरै उच्च हुन्छ र यसको नियमन पनि सामान्य लगानी कोषको तुलनामा खुकुलो हुन्छ । यसको मुख्य लक्ष्य बजारको अवस्था जेसुकै भए पनि निरन्तर राम्रो प्रतिफल हासिल गर्नु हो ।
इतिहास र विकसित देशहरूमा अभ्यास
प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी) को अवधारणा दोस्रो विश्वयुद्धपछि अमेरिकामा सुरु भयो । सन् १९४० र ५० को दशकमा जोन हे ह्विटनी र अमेरिकन रिसर्च एन्ड डेभलपमेन्ट कर्पोरेशन जस्ता संस्थाहरूले यिनको जग बसाले, जसले डिजिटल इक्विपमेन्ट कर्पोरेशन जस्ता कम्पनीको सफलतामा ठूलो भूमिका खेल्यो । सन् १९८० को दशकमा ‘लिभरेज्ड बाइआउट’ ले पीई लाई व्यापक बनायो । आज अमेरिका, युरोप र चीनमा पीईभीसी बजार निकै विशाल र परिपक्व छ, जसको विश्वव्यापी सम्पत्ति व्यवस्थापन (एयूएम) सन् २०२५ सम्म १४३ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । भीसी ले सिलिकन भ्यालीका स्टार्टअपलाई पुँजीकरण गरी प्रविधि विकासमा अभूतपूर्व योगदान पुर्यायो । यता, हेज फण्डको अवधारणा सन् १९४९ मा अल्फ्रेड विन्स्लो जोन्सले ल्याएका थिए, जसको विश्वव्यापी एयूएम ४ ट्रिलियन डलरभन्दा बढी छ । यी कोषहरूले विकसित बजारमा तरलता र मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेले पनि, जटिल रणनीति र उच्च जोखिमका कारण यिनलाई विशेष दक्षता र कडा नियमनको आवश्यकता पर्छ ।
दक्षिण एसिया र भारतमा पीईभीसी को वर्तमान अवस्था
दक्षिण एसियामा, विशेष गरी भारतमा प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी) बजार तीव्र गतिमा विस्तार भइरहेको छ । भारतको विशाल अर्थतन्त्र, बढ्दो आन्तरिक उपभोग, जीवन्त स्टार्टअप इकोसिस्टम र प्रविधिमा आधारित नवप्रवर्तनले विश्वका ठूला पीईभीसी लगानीकर्ताहरूलाई आकर्षित गरेको छ । Iभीसीए को रिपोर्ट अनुसार, सन् २०२५ सम्ममा भारतमा पीईभीसी को कुल व्यवस्थापन अन्तर्गतको सम्पत्ति (एयूएम) ३५० अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान छ । सिकोया जस्ता फर्महरूले भारतमा २५ भन्दा बढी युनिकोर्नलाई समर्थन गर्दै फिन्टेक, ई-कमर्स, एडटेक र हेल्थटेक जस्ता क्षेत्रहरूमा ठूलो लगानी गरेका छन् । हेज फण्डको सन्दर्भमा, दक्षिण एसियामा यसको उपस्थिति पीईभीसी को तुलनामा कम छ । भारतमा केही घरेलु हेज फण्डहरू सञ्चालनमा रहे पनि, नेपालमा यसको ठोस बजार विकास भइसकेको छैन । यद्यपि, नेपालमा विनिमय जोखिम न्यूनीकरणका लागि हेज फण्ड स्थापना गर्ने कार्यविधि तयार भइरहेको छ, जसले भविष्यमा विदेशी लगानी आकर्षित गर्न मद्दत गर्नेछ ।
नेपालमा पीईभीसी कोष: महत्त्व, योगदान र ऐतिहासिक पृष्ठभूमि
नेपालमा पीईभीसी को अवधारणाको सुरुवात सन् २०१२ बाटै भएको थियो । यद्यपि, प्रारम्भमा सरकारी तथा निजी क्षेत्रबाट यसमा खासै चासो देखाइएन । निजी क्षेत्रबाट विशिष्टीकृत कोषहरूको सञ्चालन अभ्यास भने विस्तारै अगाडि बढ्दै गयो । सन् २०१४/१५ देखि ‘डोल्मा इम्प्याक्ट फन्ड’ र ‘बिजनेस अक्सिजन’ जस्ता वैदेशिक लगानीका पीईभीसी फण्डहरूले नेपालमा लगानी गर्न थाले, जसले यस क्षेत्रमा नयाँ आयाम थप्यो ।
त्यसैगरी, निजी क्षेत्रबाट लगानी कम्पनीका रूपमा खुलेका टिम भेन्चर्स, अल्फा क्यापिटल, टु नोर्थ एसोसिएट्स लगायतका संस्थाहरूले पनि नेपालमा लगानीका वैकल्पिक स्रोत उपलब्ध गराउँदै पीईभीसी फण्ड प्रवर्द्धनमा ठूलो योगदान गरे ।
नीतिगत रूपमा, धितोपत्र बोर्डले २०७५ फागुन २२ मा विशिष्टीकृत लगानी कोष नियमावली जारी गर्दै ‘प्राइभेट इक्विटी फण्ड’, ‘भेन्चर क्यापिटल फण्ड’ र ‘हेज फण्ड’ जस्ता विशिष्टीकृत लगानी कोष सञ्चालनको ढोका खोल्यो । यो नियमावली नवीनतम ज्ञान, सीप–क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सक्ने गरी कार्यान्वयनमा ल्याइएको थियो । त्यसपछि, बोर्डले कोष व्यवस्थापकको लाइसेन्सका लागि आवेदन माग गर्दा धेरै कम्पनीहरूले निवेदन दिएका थिए र केही अग्रणी कम्पनीहरूले लाइसेन्स प्राप्त गरी कोष व्यवस्थापन कार्य सुरु गरेका थिए । अहिले पनि पीईभीसी सञ्चालन अनुमतिपत्रको माग गर्दै थुप्रै कम्पनीहरू धितोपत्र बोर्ड पुगेका छन्, जसले नेपालमा यस क्षेत्रको बढ्दो सम्भावनालाई स्पष्ट रूपमा इंगित गर्छ ।
महत्त्व र आर्थिक योगदान
• पुँजीको वैकल्पिक स्रोत: पीईभीसी कोषहरूले नवप्रवर्तनमा आधारित स्टार्टअप र साना तथा मझौला व्यवसाय का लागि वैकल्पिक र रणनीतिक पुँजी प्रदान गर्छन्, जसले नयाँ व्यवसाय र रोजगारी सिर्जनामा मद्दत गर्छ ।
• उद्यमशीलताको प्रवर्द्धन: भेन्चर क्यापिटलले नयाँ विचार र प्रविधिमा आधारित उद्यमहरूलाई बढावा दिई नवप्रवर्तनको संस्कृति विकास गर्छ र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्छ ।
• व्यापारिक दक्षता र सुशासनको सुधार: पीई कोषले लगानी गरेका कम्पनीहरूमा व्यवस्थापकीय विशेषज्ञता, सञ्चालन दक्षता र सुशासन भित्र्याएर प्रतिस्पर्धात्मक क्षमता बढाउँछ ।
• विदेशी लगानी आकर्षण: पीईभीसी कोषले स्थानीय फण्डहरूमार्फत विदेशी लगानीलाई नेपालमा भित्र्याउन पुलको काम गर्छ, जसले देशमा विदेशी मुद्रा भित्र्याउँछ र वित्तीय सम्बन्ध मजबुत बनाउँछ ।
• रोजगारी सिर्जना र मानवीय पुँजी विकास: नयाँ र विस्तार भइरहेका व्यवसायहरूमा लगानीले प्रत्यक्ष र परोक्ष रूपमा हजारौं रोजगारीका अवसरहरू सिर्जना गर्छ । साथै, यी कोषहरूले उद्यमीहरूलाई सल्लाह र मेन्टरशिप प्रदान गर्दा नयाँ सीप र ज्ञानको विकास हुन्छ ।
नेपालमा पीईभीसी विकासका चुनौतीहरू
नेपालमा प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी) को ठूलो सम्भावना भए पनि, केही मुख्य चुनौतीहरू छन् ।उदाहरणका लागि हाम्रो बजार सानो भएकाले लगानीबाट सजिलै पैसा फिर्ता लिन (निकास मार्ग) गाह्रो छ । सरकारी नियमहरू पनि केही स्पष्ट छैनन् र कतिपय कडा छन् । जस्तै, ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ मा कोषले दुई वर्षभित्र सबै इकाई बेच्नुपर्ने नियम व्यावहारिक देखिँदैन । त्यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बीमा कम्पनीजस्ता ठूला सरकारी संस्थाहरू पीईभीसी मा पैसा हाल्न डराउँछन् किनभने नियमहरू स्पष्ट छैनन्, पर्याप्त जानकारी छैन र जोखिम धेरै देख्छन् । विदेशी लगानीकर्ताका लागि पनि स्पष्ट र लगानीमैत्री कर नीति छैन । यी सबैसँगै, दक्ष मान्छेको कमी र पीईभीसी बारे पर्याप्त बुझाइ नहुनु पनि यस क्षेत्रको विकासमा बाधा बनेको छ । यी चुनौतीहरूलाई समाधान गर्न सरकार र सरोकारवालाहरूले मिलेर काम गर्नुपर्छ ।
नेपालको अर्थतन्त्रमा योगदानका लागि अगाडि बढ्ने उपायहरू र बजेटका घोषणा
नेपालमा पीईभीसी र हेज फण्डको क्षेत्रलाई सशक्त बनाई अर्थतन्त्रमा यसको योगदान बढाउन सरकार र नियामक निकायबाट ठोस कदमहरू आवश्यक छन् ।
नियामक सुधार र स्पष्टता: ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ लाई लगानीमैत्री बनाउन इकाई निष्कासनको २ वर्षको समयावधि बजार सुहाउँदो बनाउनुपर्छ । कोषहरूको दर्ता प्रक्रिया सरलीकृत गरी सीमित दायित्व साझेदारी ऐन मार्फत यिनलाई दर्ताको विकल्प दिनु आवश्यक छ ।
बजेटको महत्त्वपूर्ण घोषणा: आर्थिक आर्थिक वर्ष २०८२/८३ को बजेटले नेपालको प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण घोषणा गरेको छ । यसले तेस्रो बजारमा सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकताका उद्योगमा लगानी गर्न थप सहजीकरण गर्दै पुँजी परिचालनलाई प्रोत्साहन गर्नेछ ।
बजेटको प्रमुख विशेषता भनेको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, र सामाजिक सुरक्षा कोषलाई पीईभीसी मा लगानी गर्न कानुनी बाटो खुलाउनु हो । यसका साथै, बीमा कम्पनीका निष्क्रिय कोषहरू पनि यस क्षेत्रमा आकर्षित हुनेछन् । यो कदम नेपालको पीईभीसी बजारका लागि वास्तविक ‘गेमचेन्जर’ साबित हुनेछ, जसले विदेशी लगानी आकर्षित गर्दै अर्थतन्त्रमा उल्लेख्य सकारात्मक प्रभाव पार्नेछ ।
कर नीतिमा सहजीकरण: कर नीतिमा सहजीकरण पनि जरुरी छ । विदेशी पीईभीसी कोषहरूलाई द्विपक्षीय कर सम्झौता अनुरूप कर लाग्ने व्यवस्था गरी करसम्बन्धी अस्पष्टता हटाउनुपर्छ । पुँजीगत लाभकर नीतिलाई पनि दीर्घकालीन पीईभीसी लगानीका लागि लगानीमैत्री बनाउनुपर्छ ।
बजार पूर्वाधार विकास र बहिर्गमन रणनीति: बजार पूर्वाधार विकास र लगानी फिर्ताका लागि बलियो रणनीतिहरू सहज बनाउन धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिष्ट्रार कार्यालयबीच समन्वय आवश्यक हुन सक्छ । बजेटले हेजिङ सेवा सञ्चालनको अनुमति दिने घोषणा गरेको छ, जसले विदेशी विनिमय जोखिम व्यवस्थापन गरी विदेशी लगानीकर्तालाई ठूलो राहत प्रदान गर्न सक्छ । यसले विदेशी प्रत्यक्ष लगानी प्रवाह बढाएर पीईभीसी कोषहरूलाई पनि सीधा फाइदा पुर्याउन सक्छ ।
दक्ष जनशक्ति विकास र चेतना अभिवृद्धि: अन्तमा, पीईभीसी क्षेत्रका लागि दक्ष जनशक्ति विकास अपरिहार्य छ । यसका लागि विश्वविद्यालयमा विशेष कोर्स र अन्तर्राष्ट्रिय सहकार्यमा तालिम/कार्यशाला सञ्चालन गर्नुपर्छ । उद्यमी, लगानीकर्ता र नीति निर्माताबीच पीईभीसी को महत्त्व र कार्यप्रणालीबारे व्यापक चेतना अभिवृद्धि गर्नु जरुरी छ ।
(बेलायतबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका र १५ वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा अनुभव भएका लेखक हाल निजी क्षेत्रमा आबद्ध छन् । उनी आर्थिक तथा समसामयिक विषयमा कलम चलाउँछन्।)







प्रतिक्रिया