राष्ट्र बैंकले पोलिसी रेट घटाएसँगै बैंकहरूले पनि घटाए ब्याजदर

1.8k
Shares

काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर झनै घटाएका छन् । वाणिज्य बैंकहरूले साउनका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२ प्रतिशत बिन्दुले कम भएको हो ।

२० वाणिज्य बैंकहरूमध्ये १४ वटाले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । ४ वटाले यथावत राख्दा २ वटाले भने बढाएका छन् । प्रकाशित ब्याजदरअनुसार स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकले मात्र ब्याजदर बढाएका छन् । माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबि र सिद्धार्थले भने निक्षेपमा दिने अधिकतम ब्याजदर हेरफेर गरेनन् ।

प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा ब्याज स्ट्यान्डर्ड चार्टर्डले दिनेछ भने सबैभन्दा कम प्रभु बैंकले दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरका सबै दरलाई घटाएसँगै बैंकहरूलाई ब्याजदर घटाउन बल पुगेको हो । मौद्रिक नीति २०८२/८३ मार्फत् केन्द्रीय बैंकले बैंकदरलाई ६.५ प्रतिशतबाट ६, नीतिगत दरलाई ५ बाट ४.५ र निक्षेप संकलन दरलाई ३ बाट २.७५ प्रतिशतमा झारेको थियो ।

फ्‌लोर रेटको रुपमा रहेको निक्षेप संकलन दर घटाएसँगै बैंकहरुले बचतको न्युनतम ब्याजदर पनि सोही अनुसार घटाएका छन् । निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा दिएको राष्ट्र बैंकले त्यसभन्दा तल बचतको ब्याजदर घटाएमा उक्त सुविधा लिन पाउँदैनन् । सोही कारण निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बचतको न्युनतम ब्याजदर पनि ३ प्रतिशतभन्दा तल झरेको थियो । तर, केन्द्रिय बैंकले पोलीसी रेट नै घटाएर बैंकहरुलाई ब्याजदर थप घटाउने बाटो दिएको हो ।

बचतको ब्याजदरसँगै बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर पनि घटाएका छन् । २ वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल झरीसकेको अवस्था छ । अझै थप ब्याजदर घट्दा कर्जा अझै सस्तो हुने देखिन्छ ।

पोलिसी रेट घटेसँगै असार २९ गते निक्षेप बोलकबोलको दर ३ प्रतिशतको हाराहारीबाट घटेर २.९२ प्रतिशतमा झरिसकेको छ ।