पोखरेलले सम्हाले प्राधिकरण अध्यक्षको कार्यभार, अनुगमन र नियमनलाई प्रभावकारी बनाउन निर्देशन

245
Shares

Oplus_131072

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले मंगलबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।
नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।

प्राधिकरणमा कार्यभार सम्हाल्दै अध्यक्ष पोखरेलले बिमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बिमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिए ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत ल्याएका बिमा स्रम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिँदै अध्यक्ष पोखरेलले भने, ‘संस्थाको उद्देश्य प्राप्ति र बिमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गरौं, संस्थाको जिम्मेवारी ठूलो छ, बिमितको हकहित संरक्षण गर्नुछ, बिमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमान्दारिताका साथ काम गरौं ।’

अध्यक्ष पोखरेलले बिमा सचेतना मार्फत बिमाको पहुँच बढाउन, बिमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बिमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बिमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गर्दै बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताए ।

यसअघि, अध्यक्ष सेवन्तक पोखरेल प्राधिकरणमा आउनुहुँदा उनलाई प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।

Oplus_131072