
काठमाडौं । जलवायु परिवर्तनको असरका कारण नेपालको मासु र दूध उत्पादनमा उल्लेख्य नकारात्मक असर पुर्याएको एक अध्ययनले निश्कर्ष निकालेको छ ।
हेफर इन्टरनेशनलले नेपालको विभिन्न जिल्लामा सञ्चालनमा ल्याएको जलवायु स्मार्ट डेरी फार्मिङ आयोजना सञ्चालनको क्रममा यो निश्कर्ष निकालेको हो ।
हेफरले यो आयोजना सञ्चालन गरेको जिल्लाहरुमा जलवायु परिवर्तनका कारण पशुपालन, मासु उत्पादन र दूध उत्पादनका के कस्तो असर गरेको बिषयमा अध्ययन गरेको थियो ।
यो आयोजना हालै सम्पन्न भएको छ । जलवायु परिवर्तनले विश्वभर नराकारात्मक असर पुर्याइरहेको अवस्थामा हेफर इन्टरनेशनलले नेपालका विभिन्न सरोकारवाला निकायको सहकार्यमा यो आयोजना सञ्चालनमा ल्याएको थियो ।
खासगरी पशुपन्छी पालन, मासु र दूध उत्पादनका क्षेत्रमा जलवायु परिवर्तनले गर्दा परेको असरको बारेमा अध्ययन गर्ने र त्यस्ता असरलाई न्युनिकरण गर्ने उद्देश्यले यो आयोजना नेपालमा सञ्चालनमा आएको थियो ।
बदलिंदो मौसम, अत्यधिक गर्मी, बाढी, सुख्खा र रोगको संक्रमणले गर्दा किसानको जिविका मात्रै खोसिएको छैन । बरु मुलुकको खाद्य सुरक्षामा समेत प्रश्न चिन्ह खडा भएको यो आयोजना समापन कार्यक्रममा सहभागी बैज्ञानिकहरुले औल्याएका छन् ।
हेफर इन्टरनेशनलले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सहकार्यमा यो आयोजना सञ्चालनमा ल्याएको थियो । नेपालको कूल गार्हस्थ उत्पादनमा डेरीको योगदान करिब ४ प्रतिशत छ ।
आयोजनाअन्तर्गत जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै अनुकुलनका विधीलाई अंगाल्दै पशुपालनका साथै मासु र दूध उत्पादनको बिषयमा सहभागी किसानहरुलाई जानकारी गराइएको थियो ।
अध्ययनको क्रममा नेपालको डेरी क्षेत्रमा ३५ लाखभन्दा बढी सर्वसाधारण संलग्न छन् । रोजगारी सृजनामा यो क्षेत्रको योगदान ११ प्रतिशत छ । तर यहि क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन (जीएचजी) पनि पछिल्लो समयमा भइरहेको फेला पारिएको थियो ।
विशेष गरी पशुपको पेटबाट निस्कने एण्टेरिक मिथेन ग्यास र गोबरबाट निस्कने ग्यासहरु वातावरणको लागि हानिकारक रहेको अध्ययनको क्रममा फेला पारिएको छ ।
विश्व खाद्य संगठन (एफएओ) अनुसार विश्वरभर उत्सर्जन हुने कम्तिमा २० प्रतिशत हरितगृह ग्यास उत्सर्जन (जीएचजी) पशुपालन क्षेत्रबाट निस्काशन भइरहेको छ । यस्तै गर्मी, चिसो र रोगका कारण पनि मासु र दूध उत्पादनमा उल्लेख्य कमी आएको अध्ययनले औल्याएको छ ।
प्रमुख तीन वटा लक्ष्य राखेर यो आयोजना सञ्चालनमा आएको थियो । हरितगृह ग्यास उत्सर्जन घटाउने, पशु कल्याण र उत्पादन सुधार गर्ने र किसानलाई जलवायु अनुकुलन बनाउन सीप, प्रविधि र पहुँच बढाउने लक्ष्य राखिएको थियो ।
यो आयोजना सिन्धुली, तनहुँ, रुपन्देही, बर्दिया र धनकुट्टा जिल्लामा पाइलट नमुना फार्म स्थापना गरी अनुकुलनको कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।
आयोजनाअन्तर्गत विभिन्न जिल्लामा ५ हजारभन्दा बढी च्याङग्रा, बाख्रा, गाईभैसीको गोठमा सुधारका कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।
जसअन्तर्गत फार्ममा आधुनिक प्रविधिसहित गोठ सुधार, युएमएमबी ब्लक, सौर्य पानी प्रणाली, बायोग्यास, कम्पोष्ट मल उत्पादन प्रणाली, वनस्पतिमा आधारित चारा व्यवस्थापन, जैविक कृषिका अभ्यास, स्वास्थ्य हेरचाह, प्रजनन व्यवस्थापन, बीमालगायतका गतिविधी सञ्चालनमा ल्याइएको थियो ।
सिन्धुली र बन्दीपुरमा गरिएको अध्ययनअनुसार एउटा साधारण डेरी फार्मबाट वार्षिक औसत ३५ टन बराबर कार्वन डाइअक्साइड (सीओटु) उत्सर्जन भइरहेका छन् । उक्त उत्सर्जनलाई न्युट्रल गर्नका लागि ७५० देखि १८०० वटासम्म घाँस र रुख रोप्नुपर्ने निश्कर्ष निकालिएको छ ।
अध्ययनले जलवायु परिवर्तनका कारण उत्पन्न भएको असरबाट स्थायी रुपमा जोगाउन स्थायी अनुकुलनको लागि सरकारी नीति, निजी क्षेत्रको सहकार्य र वित्तिय पहुँचको आवश्यकता औल्याइएको छ ।
यसको लागि आयोजनाले १३ प्रजातिको घाँस र रुख (बढहर, कोइरालो, टाँकी, निमारो) रोपेर कार्वन सेस्ट्रेसन (कार्वन सोस्ने) दर मापन गरेको छ । टाँकीजस्ता रुखले वार्षिक ८० किलोग्रामसम्म कार्वन डाइअक्साइड सोस्ने क्षमता राखेको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार आगामी दिनमा नेपालको अधिकाँश भूभागमा ताप, आद्रता, चरन अभाव र चरम मौसमी घटनाहरुको जोखिम बढ्न सक्नेछ ।
आयोजनाअन्तर्गत ४ सयभन्दा बढी महिला किसानलाई सहभागी गराइएको थियो भने ७१ जनालाई क्लाइमेट स्मार्ट डेरी फार्मिङको तालिम दिइएको थियो ।







प्रतिक्रिया