
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स अमेरिकी डलरको महत्त्व घटाउनका लागि बनाइएको दाबी गरेका छन् ।
ब्रिक्स सदस्य मुलुकहरूका विरुद्ध अतिरिक्त १० प्रतिशत आयातकर लगाइने धम्की पनि उनले दिएका छन् ।
तर, अमेरिकी डलरको महत्त्व घटाउनु स्वयं अमेरिका जिम्मेवार रहेको विज्ञहरू बताउँछन् । अमेरिकाले डलरलाई उपयोगी विनिमय मुद्रा भन्दा पनि राजनीतिक हतियारका रूपमा उपयोग गरेकाले यसप्रतिको आकर्षण घटेको विज्ञहरूको भनाइ छ ।
ब्रिक्स समूह कुनै समान विचारधारामा गोलबद्ध हुने प्रयास भन्दा पनि अमेरिकाको ट्रेजरी र विदेश मन्त्रालयले गर्दै आएको एकपक्षीय ज्यादतीविरुद्धको प्रतिक्रियाका रूपमा जन्मेको हो ।
अमेरिकाले आफूलाई मन नपरेका मुलुकहरूको सम्पत्ति रोक्का गर्नेदेखि लिएर उनीहरूमाथि आर्थिक प्रतिबन्ध लगाउनेसम्मका काम गर्दै आएको छ ।
युक्रेनमा आक्रमण गरेको भन्दै रुसको ३०० अर्ब डलर बराबरको सम्पत्तिलाई अमेरिका नेतृत्वको पश्चिमले रोक्का गरेको छ । भेनेजुएलाले लन्डनमा राखेको सुनमा पनि पश्चिमले कब्जा गरेको छ । चीनको सेमीकन्डक्टर चिप्स विकासलाई अवरुद्ध गर्नका लागि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको छ ।
यस्तो अवस्था नआओस् भनी संसारका अन्य मुलुकले आफ्नै आर्थिक प्रणाली बनाइरहँदा अमेरिकाले त्यसमा आश्चर्य व्यक्त गरिरहेको छ ।
गैरपश्चिम विश्वले डलरलाई तटस्थ मुद्राका रूपमा हेर्दैन । गैरपश्चिमी मुलुकका केन्द्रीय बैंकहरूले आजभोलि एउटै प्रश्न सोध्ने गरेका छन् : हामीले वाशिङटनको कुरा मानेनौं भने हाम्रो सम्पत्तिको के हालत हुनेछ ?
यही प्रश्नको जवाफ खोज्नका लागि ब्रिक्स जन्मेको हो । अमेरिकाको विरोध गर्नका लागि नभई अमेरिकी प्रभुत्वबाट बच्नका लागि ब्रिक्सले राष्ट्रिय मुद्रामा कारोबार र गैरडलर मुद्रामा व्यापारिक भुक्तानी गरिरहेको हो । यो परीक्षण मात्र हैन, यो त ब्रिक्स मुलुकहरूका लागि सञ्जीवनी नै हो ।
अहिले ब्रिक्स प्लसमा तेल तथा ग्यास उत्पादक, औद्योगिक रूपमा शक्तिशाली र विश्व व्यापारका नाकाहरूमा नियन्त्रण राख्ने मुलुकहरू जोडिएका छन् । यी मुलुकहरू नै अहिले बहुमतमा छन् । पतनको बाटोमा हिँडिरहेको र आर्थिक प्रतिबन्धलाई हतियार बनाउने अमेरिकासँग उनीहरू आफ्नो भविष्य जोड्न चाहँदैनन् ।
अमेरिकी साम्राज्यले लगाएका आयातकर, प्रविधिमाथिको प्रतिबन्ध, निर्यात प्रतिबन्ध र आर्थिक कालोसूची लगायतले यस प्रक्रियालाई सुस्त बनाउन सक्दैन । उल्टो, अमेरिकाको त्यो कामले गैरडलरीकरणलाई तीव्रता दिइरहेको छ । वाशिङटनले जस्तो समूह नबनोस् भन्ने चाहेको थियो, अहिले त्यही बनिरहेको छ ।
अमेरिका नियममा आधारित व्यवस्थाका लागि लडिरहेको ठान्छ । तर, बाँकी विश्वले अमेरिकालाई सत्तापरिवर्तन गराउने, अर्काको सम्पत्ति हडप्ने, अर्कालाई धुत्ने र विदेशीको सम्पत्ति रोक्का गर्ने शक्तिका रूपमा हेर्छ ।
चीनलाई मन पराउने वा रुसलाई विश्वास गर्ने मुलुकहरू मात्र ब्रिक्समा जोडिन चाहेका छैनन् । वाशिङटनले आफूलाई भविष्यमा तारो बनाउँदा आफू बलियो स्थितिमा रहौं भन्ने सुनिश्चितताका लागि मुलुकहरू ब्रिक्समा जोडिन खोजेका हुन् । ब्रिक्सले मुलुकहरूलाई भूराजनीतिक सुनिश्चितता दिन्छ ।
अमेरिकाले आफूलाई विश्वको वित्तीय अभिभावक ठान्छ । तर, जहिलेदेखि अमेरिकाले डलरलाई हतियारका रूपमा उपयोग गर्न थाल्यो, त्यही बेलादेखि अमेरिकी अभिभावकत्व सम्बन्धी बाँकी विश्वको भ्रम तोडियो ।
साम्राज्यवादीको जस्तो व्यवहार गरे पनि संसारले आफूलाई तटस्थ मध्यस्थकर्ताको रूपमा विश्वास गरोस् भन्ने सोच अमेरिकाले पालेको छ । तर, उसलाई अहिले बाँकी विश्वले पत्याउन छाडेका छन् ।
ब्रिक्सले डलरलाई मार्दैन किनकि वाशिङटन आफैंले डलरलाई पहिल्यै मारिसकेको छ । अहिले सारा विश्व अमेरिकाको विरोधमा लागेको हैन । नेतृत्व र असुलीधन्धा गर्नेको फरक थाहा नपाउने शोषक प्रणालीबाट अलग्गिन खोजेको मात्र हो ।








प्रतिक्रिया