अब नेपालमा तीन प्रकारका ट्याक्सी, सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड

लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा शतप्रतिशत भाडा लिन पाउने

2.1k
Shares

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।

ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१ लाई संशोधन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख ३० गतेदेखि यो मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।

कार्यान्वयनमा आएको यो मापदण्डअनुसार नेपालमा गुड्ने सबै प्रकारका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरिएको छ । जसअनुसार साधारण(अर्डिनरी), विशेष(डिलक्स) र विशिष्ट(लक्जरी) गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ ।

यो मापदण्ड कार्यान्वयनमा आएसँगै मिटर जडित ट्याक्सीको मापदण्ड २०७६ खारेज भएको छ । खारेज भएको मापदण्ड अन्तर्गत भए गरेका काम नयाँ मापदण्डअनुसार हुने राष्ट्रिय मापदण्डमा उल्लेख छ ।

नयाँ मापदण्डअनुसार तीन प्रकारमा वर्गीकरण गरिएका ट्याक्सीको हकमा सुविधाहरु पनि तोकिएको छ । ति सुविधाको आधारमा साधारण, विशेष र विशिष्ट ट्याक्सी भनेर वर्गीकरण गरिएका छन् । यो मापदण्डअनुसार ट्याक्सीमा हुनुपर्ने न्यूनतम सुरक्षाका मापदण्डसमेत तोकेको छ ।

जसअनुसार इलेक्ट्रिक ब्रेक फोर्स डिस्ट्रिव्युसनसहितको एण्टी लक ब्रेकिङ्ग सिस्टम(एबीएस), ड्राइभर र सहायक ड्राइभरको हकमा एयर ब्याग(कम्तिमा दुई), हाई स्पीड अलर्ट सिस्टम, सबै सिटमा सिट बेल्ट(फ्रन्ट र रियर), ड्राइभर र सहायक ड्राइभर सिट बेल्ट रिमाण्डर, रियर पार्किङ्ग सेन्सर र रियर भ्यू क्यामेराजस्ता सुरक्षा सम्बन्धी सुरक्षा तीनवटै प्रकारका ट्याक्सीमा हुनुपर्ने व्यवस्था गरिएको छ ।

साधारण ट्याक्सीमा ‘ओ’, विशेष ट्याक्सीमा ‘डि’ र विशिष्ट ट्याक्सीमा ‘वाई’ अक्षर ८०×८० मिलिमिटर आकारको वर्गाकार पारदर्शी प्लास्टिकभित्र रातो रंगमा ६० मिलिमिटर उचाई र ८ मिलिमिटर मोटाई भएको स्टिकर अनिवार्य रुपमा ट्याक्सीमा टाढाबाटै देखिने गरी टाँस्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो स्टिकर अगाडिको सिसाको चालकतर्फको माथिल्लो कुना, पछाडिपट्टिको दायाँ र बायाँ ढोकामा र पछाडिको सिसाको बायाँतर्फको तल्लो कुनामा टास्नुपर्ने मापदण्ड तोकिएको छ ।

नेपालमा आयात हुने, उत्पादन एसेम्बल हुने वा रुपान्तरण भएको सवारी साधनको कुनै मोडेललाई ट्याक्सीको रुपमा दर्ता गराउन वा वर्ग कायम गराउन पैठारीकर्ता (आधिकारिक विक्रेता), उत्पादक, एसेम्बलीकर्ता वा रुपान्तरणकर्ताले अनिवार्य रुपमा त्यस्ता सवारीको वर्गीकरण गराउनुपर्ने मापदण्डमार्फत सरकारले व्यवस्था गरेको छ ।

सरकारले यो मापदण्डमार्फत ट्याक्सीमा यात्रु हुँदा, यात्रु नहुँदा र प्रयोगमा नहुँदा अवस्थाको लागि छुट्टाछुट्टै बत्ती बाल्ने मापदण्डसमेत तोकिएको छ । जसअनुसार ट्याक्सीको छतमा जडान भएको ‘ट्याक्सी’ अंकित लोगोभित्र तीनप्रकारको बत्ती अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्डअनुसार ट्याक्सीमा यात्रु नहुँदा अर्थात खाली हुँदा ‘ट्याक्सी’ अंकित लोगोभित्र हरियो रंगको बत्ती चालकले वाल्नु पर्छ । यसैगरी ट्याक्सीमा यात्रु हुँदा रातो रंगको बत्ती वाल्नुपर्ने हुन्छ । त्यस्तै ट्याक्सी प्रयोगमा नभएको अवस्था(अफ ड्युटी) मा सेतो रंगको बत्ती बाल्नु पर्छ ।

यसैगरी सबै प्रकारका ट्याक्सीमा प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्पलेसहितको जिपीएस न्याभिगेसन प्रणालीसमेत राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । ट्याक्सी चालकले अनिवार्य रुपमा चालक तथा सवारीको विवरण भएको आईडी कार्ड ट्याक्सीमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै चालकको हकमा ड्रेक कोड अनिवार्य गरिएको छ । त्यसैगरी सरकारले वर्गीकरणमा परेका तीन प्रकारको ट्याक्सीमध्ये साधारण ट्याक्सीको हकमा अधिकतम भाडा दर सरकारले तोकेअनुसार हुने व्यवस्था गरेको छ ।

यस्तै विशेष वर्ग(डिलक्स) ट्याक्सीको हकमा साधारण वर्ग (अर्डिनरी) को ट्याक्सीको भन्दा २० प्रतिशत र विशिष्ट वर्ग(लक्जरी) ट्याक्सीको हकमा साधारण वर्गको ट्याक्सीको भन्दा १ सय प्रतिशत भाडादर हुन सक्ने मापदण्ड तोकेको छ ।

यसैगरी मापदण्ड लागू हुनुभन्दा अघि नै दर्ता भएर सञ्चालन भइरहेका ट्याक्सीको हकमा विशेष वा विशिष्ट वर्गमा कायम गराउन चाहनेले सवारी दर्ता कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ । सुरक्षा विशेषता नभएका ट्याक्सीलाई भने विशेष तथा विशिष्ट वर्गमा कायम गर्न नसकिने मापदण्डमा उल्लेख छ ।

यस्तो छ साधारण ट्याक्सीको न्यूनतम मापदण्ड

मापदण्डअनुसार साधारण ट्याक्सीतर्फ आन्तरिक दहन इन्जिन जडित सवारी(कम्व्युसन इन्जिन पावर्ड भेहिकल) र विद्युतीय सवारी (हाइड्रोजन) फ्युल सेलमा आधारित) गरी प्राविधिक विशेषता तथा सुविधा अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार साधारण ट्याक्सीतर्फ आन्तरिक दहन इन्जिन जडित सवारी(१ हजार सीसी वा त्यो भन्दामाथि) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समावेश भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समेत समावेश भएको हुनुपर्ने तोकिएको छ । त्यस्तै अधिकतम इन्जिन वा मोटरको टर्कतर्फ ६५ न्यूटन मिटर वा त्यसभन्दा माथि तोकिएको छ ।

यस्तै व्हील वेस २३०० मिलिमिटर वा त्यसभन्दा बढी र बुट स्पेश(मालसामान राख्ने क्षमता) र सबै सीट सिधा अवस्थामा राख्दा १६० लिटर वा त्यसभन्दा बढी हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यसैगरी साधारण ट्याक्सीतर्फ विद्युतीय सवारीको हकमा व्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भारत (जीभिडब्लु, किलो) बीचको अनुपात ०.०१५ हुनुपर्ने मापदण्ड बनाइएको छ । यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति ४० किलोवाट वा त्यो भन्दा बढी तोकिएको छ । इन्जिन वा मोटर टर्क, व्हील वेस, बुट स्पेश दहन इन्जिनमा जडित सवारीजस्तै तोकिएको छ ।

यस्तो छ डिलक्स ट्याक्सीको मापदण्ड

डिलक्स ट्याक्सीतर्फ दहन इन्जिन जडित सवारी (१२०० सीसी वा त्योभन्दा बढी) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समेत समावेश भएको, अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समावेश भएको, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्यूटन मिटर वा त्यसभन्दा बढी, व्हील बेस २५०० मिलिमिटर वा त्योभन्दा बढी र बुट स्पेस २०० लिटर वा त्यसमध्ये बढी हुुनुपर्ने मापदण्ड तोकिएको छ ।

डिलक्स ट्याक्सीतर्फ नै विद्युतीय सवारीको हकमा व्याट्रीमा सञ्चित हुने उर्जा(किलोवाट आवर) र सवारीको कूल भार(जीभीडब्लु), किलो) बीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति ५० किलोवाट वा त्योभन्दा बढी तोकिएको छ ।

अधिकतम इन्जिन वा मोटर टर्क, व्हील बेस र बुट स्पेशको हकमा दहन इन्जिन जडिनजस्तै मापदण्ड तोकिएको छ ।

तर डिलक्स ट्याक्सीको हकमा छुट्टै विशेष प्रकारको मापदण्डअन्तर्गत अनिवार्य रुपमा टच स्क्रीनसहितको डिस्प्ले स्क्रीन कम्तीमा एक, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल(अगाडि र पछाडि), जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने वातानुकुलन प्रणालीलाई मापदण्डको रुपमा तोकिएको छ । सवारी निर्माता कम्पनीवाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले समेत मान्य हुने व्यवस्था गरिएको छ ।

यस्तो छ लक्जरी ट्याक्सीको मापदण्ड

विशिष्ट (लक्जरी) ट्याक्सीतर्फ दहन इन्जिन जडित सवारी (२ हजार सीसी वा त्योभन्दा बढी) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समेत समावेश भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समेत समावेश भएको, अधिकतम इन्जिन वा मोटर टर्क १७० न्यूटन मिटर वा त्यसभन्दा बढी, ब्हील बेस २७०० मिलिमिटर वा त्यसभन्दा बढी र बुट स्पेश ४०० लिटर वा त्यसभन्दा बढी हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यसैगरी बिद्युतीय सवारीतर्फ ब्याट्रीमा सञ्चित हुने उर्जा(किलोवाट आवर) र सवारीको कूल भार(जीभीडब्ल, किलो) बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्ने उल्लेख छ । अधिकतम इन्जिन वा मोटर टर्क, ब्हील बेस, बुट स्पेशको हकमा दहन इन्जिन जडित सवारीको हकमा तोकिएको मापदण्ड नै विद्युतीय सवारीतर्फ तोकिएको छ ।

तर लक्जरी ट्याक्सीतर्फ भने छुट्टै सुविधाहरु अनिवार्य रुपमा तोकिएको छ । जसअनुसार विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि), जाडो गर्मी मौसमको लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकूलन प्रणाली, पछाडिको सीटको लागि समेत वातानुकुलित हावा प्रवाह हुने हावा पथ, पछाडिको सीटमा शिर अड्याउने हेडरेष्ट, पछाडिको यात्रुको लागि हात अड्याउने आर्म रेष्ट, अगाडि र पछाडि कप होल्डर र पछाडिको सीटका यात्रुको लागि समेत मोवाइल तथा अन्य विद्युतीय उपकरणहरु चार्ज गर्न डिसि वा एसी पावर आउटलेट सुविधा अनिवार्य मापदण्ड तोकिएको छ ।

त्यसैगरी वाईफाई इन्टरनेट सुविधा, अगाडिको शिर कक्ष (फ्रन्ट हेड रुम) र पछाडिको शिर कक्ष (रियर हेड रुम) कम्तीमा क्रमशः १००० मिलिमिटर र ९५० मिलिमिटर हुनुपर्ने (१ प्रतिशत कमसमेत समावेश हुनेगरी) र अगाडिको पाउ कक्ष (फ्रन्ट लेग रुम) र पछाडिको पाउ कक्ष (रियर लेग रुम) कम्तीमा क्रमशः १००० मिलिमिटर र ९०० मिलिमिटर हुनुपर्ने (१ प्रतिशत कम समेत समावेश हुनेगरी) अनिवार्य मापदण्ड तोकिएको छ ।

सवारी साधन कम्पनीबाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले तथा वाईफाई इन्टरनेट सुविधा समेत मान्य हुने व्यवस्था यो मापदण्डमार्फत गरिएको छ ।