
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादनमा कार्टेलिङ हुने गरी चल्ला उत्पादनमा रोक लगाएको छ ।
संघको शुक्रबार बसेको बिशेष भेलाले सोमबार ( असार २३ गते) देखि आगामी आइतबार(असार २९ गते) सम्म एक साताका लागि संघमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर(कोइलर) कुखुराको चल्लाको उत्पादनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो ।
कुखुराको चल्लाको उत्पादन र बिक्री बितरणमा सिण्डीकेट र कार्टेलिङ कायम हुने गरी संघले चल्लाको उत्पादनमा पूर्ण रुपमा रोक लगाउनुका साथै बिक्री बितरण समेत नगर्न नगराउने गरी रोक लगाइएको छ ।
यो निर्णयको कुखुरा पालक तथा चल्ला उत्पादक किसानहरुले भने चर्को रुपमा बिरोध गरेका छन् । विभिन्न किसानहरुले संघको यो निर्णयले किसान डुब्ने बताएका छन् । किसानहरुले चल्ला उत्पादन र बिक्री बितरणमा रोक लगाएर संघले बजार मूल्य बढाउन खोजेको आरोप लगाएका छन् ।
ह्याचरी संघले उत्पादन र बिक्रीमा गरेको यो कार्टेलिङ र सिण्डीकेटको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ । उनीहरुले किसान र उपभोक्तालाई मार्ने गरी संघले यस्तो निर्णय गरेको भन्दै विरोध गरेका छन् ।
चल्ला उत्पादक किसान दीपकबिक्रम बनले संघमा आवद्ध ठूला फर्मले सस्तो चल्ला हालेर उत्पादन र बिक्री बितरणमा रोक लगाएर बजार भाउ बढाउन खोजेको आरोप लगाएका छन् । संघको आडमा बजारमा सिण्डीकेट कायम हुने गरी किसानलाई मार्ने र उपभोक्ताबाट अत्याधिक मूल्य गरी यस्तो निर्णय हुँदा पनि सरकारका नियमनकारी निकाय मुखदर्शक भएको किसानहरुको बताएका छन् ।

‘संघमा आवद्ध ठूला फर्म सस्तो चल्ला हालेर भरेका छन,’ बनले भने,‘अब बन्द गरेर महँगोमा आफ्नो चल्ला बिक्री गर्न खोज्ने संघले सधै किसानको हेरचाह गर्नु पर्नेमा चलखेल गरेको छ ।’
अर्का किसान नारायण अर्यालले चल्ला उत्पादन र बिक्री बितरणमा रोक लगाएर ह्याचरी संघले दादागिरी गरेर निमुखा गरिब किसान सिद्धाउन चलखेल गरेको आरोप लगाएका छन् ।
‘चल्ला उत्पादन गर्न कम्तिमा ३ साता लाग्छ, सिस्टममा ह्याचिङ भइरहेकोलाई यो दिनमा ननिकाल्नु भन्नु सोझा साझा किसानमा भ्रम छरिएको छ, मूल्य पाउने समयमा किसानलाई ह्याचरीबाट चल्ला नै दिदैंनन,’ अर्का किसानले भनेका छन् ।
अर्का किसान प्रेमराज न्योपानेले ठूलो ह्याचरी फर्मले साना किसान चल्ला र कुखुरा पालक किसानलाई सिद्धयाउने खेल खेलेको भन्दै उत्पादन भएको चल्ला कहाँ लगेर फाल्ने भनेर संघसँग प्रश्न गरेका छन् । न्योपानेले किसानलाई घाटा लागेर डुब्दा संघ किन मौन बसेको भनेर प्रश्न तेस्राएका छन् ।







प्रतिक्रिया