शेखरलाई विनोद चौधरीको प्रश्न- निजी क्षेत्रकालाई प्रोत्साहन गर्ने कि गुटको राजनीतिमा थिच्ने ?

378
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले पार्टीको केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले आफ्नो योग्यतामाथि उठाएको प्रश्नको प्रतिवाद गरेका छन् ।

सोमबारको बैठकमा डा. कोइरालाले चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न उठाउनुका साथै लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनालमाथि अनुशासन समितिबाट अघि बढाइएको कारबाहीप्रति पनि आपत्ति जनाएका थिए ।

जवाफमा मंगलबारको बैठकमा बोल्दै चौधरीले निजी क्षेत्रका अगुवा र अन्तर्राष्ट्रिय स्तरमा चिनिएका व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्ने कि होइन भन्ने विषयमा गम्भीर प्रश्न उठाए । ‘कांग्रेसमा हामीजस्ता निजी क्षेत्रका व्यक्तिहरूको भूमिका के हो ? सम्पन्न नेपाल बनाउने एजेन्डा अघि सार्न यस्तो पृष्ठभूमिका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने कि गुटको राजनीतिमा थिच्ने?’ चौधरीले कोइरालामाथि प्रश्न गरे ।

उनले पार्टीको नेतृत्वमा उभिन चाहने व्यक्तिमै गम्भीर पूर्वाग्रह देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । चौधरीले लुम्बिनीका महामन्त्री विक्रम खनालजस्ता व्यक्तिहरूलाई संरक्षण दिँदै पार्टीभित्र संघर्ष गर्नेहरूलाई रोक्ने प्रवृत्ति गलत भएको बताए ।

अर्थतन्त्र बुझ्ने व्यक्तिले अर्थ मन्त्रालय चलाउने चाहना राख्दा ‘स्वार्थको द्वन्द्व’ भन्ने मानसिकता देखाएर निष्क्रिय बनाउने प्रवृत्तिप्रति उनले आपत्ति जनाए । ‘यदि जेलनेल खाएकाबाहेक अन्य पेसामा प्रतिष्ठा कमाएका व्यक्तिहरू कांग्रेसमा अयोग्य ठहरिन्छन् भने पार्टीले त्यसबारे स्पष्ट निर्णय गर्नुपर्छ,’ चौधरीले भने ।

त्यस्तै, उनले पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठप्रति देखिएको व्यवहारलाई पनि आलोचना गरे । ‘चन्दा र सहयोग माग्दा सानो नहुने, तर कोषाध्यक्ष बनाउँदा अपमान गर्ने मानसिकताले कांग्रेसलाई लज्जित बनाएको छ,’ चौधरीले भने ।

उनले कांग्रेसभित्र दोहोरो मापदण्ड हटाएर निजी क्षेत्र र अन्य पेशागत अनुभव बोकेकाहरूलाई पनि बराबरी अवसर दिनुपर्ने माग गरे ।