इरान र इजरायल युद्धबारेको ‘एक्सप्लेनर’: कसलाई के फाइदा ?

154
Shares

काठमाडौं । इरान र इजरायलबीच १२ दिनसम्म चलेको युद्ध गत मंगलवार अचानक अन्त्य भयो ।

यो लडाइँ लामो समयसम्म चल्ने र क्षेत्रीय युद्धमा परिणत हुने आशंका गरिएको थियो । तर, सबैलाई आश्चर्यमा पार्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धविरामको घोषणा गरे।

आज हामी यो भिडियोमा पश्चिम एसियाका दुई प्रतिस्पर्धी मुलुकबीचको युद्ध कसरी अनपेक्षित रूपमा अन्त्य भयो, युद्धले कसलाई के लाभ र हानी भयो भन्ने बारे चर्चा गर्दैछौं ।

गत जुन १३ मा इजरायलले इरानका आणविक केन्द्र र सैन्य अड्डाहरूमा अचानक आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । इरानले आणविक हतियार बनाइरहेको र त्यसले क्षेत्रीय अशान्ति फैलने भन्दै इजरायलले आक्रमण गरेको थियो । यसअघिको भिडियोमा हामीले युद्धको कारणका विषयमा चर्चा गरेका थियौं ।

युद्धकै क्रममा ट्रम्पले इरानका तीनवटा आणविक केन्द्रहरूमा बम बर्साउने आदेश दिए । त्यसका साथै उनले इरानमा सत्तापलट गराउन सकिने संकेत पनि दिए । त्यसपछि इरानले अमेरिकाका सैन्य अड्डामा आक्रमण गरिदियो । तर, युद्ध चर्किनुको साटो अचानक अन्त्य भयो ।

युद्ध अन्त्य हुनुका पछाडि विभिन्न कारण छन् ।

यस युद्धमा इरान र इजरायल दुवैले व्यापक क्षति बेहोरेका छन् । इजरायलको आक्रमणमा परेर इरानका शीर्ष सैन्य अधिकृत र आणविक वैज्ञानिकहरूको ज्यान गयो । आक्रमणका कारण ६२७ इरानीहरूको ज्यान गएको अधिकारीहरूले बताएका छन् । इजरायलले शीर्ष सैन्य अधिकृतहरूलाई सफाया गरेको भए पनि इरानले तत्कालै उनीहरूको उत्तराधिकारी नियुक्त गरिहाल्यो र प्रत्याक्रमणलाई सुस्त बन्न दिएन ।

इरानले गरेको प्रत्याक्रमणका कारण इजरायलका प्रमुख शहरहरूमा व्यापक क्षति भयो । २८ जना इजरायलीको ज्यान पनि गयो । इरानले एकैपटकमा धेरैवटा क्षेप्यास्त्र प्रहार गरेर इजरायलको प्रतिरक्षा प्रणालीलाई व्यस्त बनायो । इजरायली प्रतिरक्षा कमजोर भएको मौका पारेर इरानले हाइपरसोनिक सहितका क्षेप्यास्त्र र ड्रोन प्रहार गरी इजरायली शहरहरूमा अभूतपूर्व क्षति गरायो ।

इरानसँगको लामो युद्ध गर्न नसकिने कुरा इजरायलले बुझ्न थालिसकेको थियो । त्यसैले सन्तुलन आफूतिर ढल्काउनका लागि यस युद्धमा अमेरिका पनि सहभागी भइदिए हुन्थ्यो भनी इजरायलले कामना गरेको थियो ।

तर, ट्रम्प प्रशासनले पश्चिम एसियामा क्षेत्रीय युद्ध चाहेको थिएन । अमेरिकाले अहिले पश्चिम एसियामा भन्दा पनि चीनलाई लक्षित गर्दै एसिया–प्रशान्त क्षेत्रमा ध्यान दिन खोजिरहेको छ । तथापि, अमेरिकामा रहेको शक्तिशाली इजरायल खेमाले ट्रम्पलाई हस्तक्षेप गर्न दबाब दिइरहेको थियो । इरानको सत्तापलट गराउनलाई अमेरिकाको भूमिका हुनुपर्ने उनीहरूको माग थियो ।

ट्रम्पले इरानमा सत्तापलटका लागि स्वीकृति दिएको भए अमेरिकी सेनालाई इरानी भूमिमा पठाउनुपर्ने हुन्थ्यो । विगतमा इराक र अफगानिस्तानमा अमेरिकी सेना पठाएर गराएको सत्तापलटको दुष्परिणामबारे ट्रम्पलाई राम्रो ज्ञान थियो । त्यसैले, उनले अर्को उपाय सोचिरहेका थिए ।

अमेरिकी सैनिकहरूको ज्यान जोखिममा नपर्ने गरी ट्रम्पले इरानका आणविक केन्द्रहरूमा आकाशबाट बम खसाल्ने आदेश दिए । अमेरिकाको मिजूरीबाट उडेका बी–२ बमवर्षक विमानहरूले इरानको फोर्दोमा बंकर बस्टर बमहरू प्रहार गरेका थिए। नतान्ज र इसफाहानमा चाहिँ अमेरिकी सेनाले टमाहक बम प्रहार गरेको थियो ।

ती केन्द्रहरूमा संवर्धित युरेनियम रहेनछ किनकि त्यसो हुन्थ्यो भने त्यसको विकिरण वरिपरिका क्षेत्रमा फैलिएर अकल्पनीय विनाश हुन्थ्यो ।  इरानले पहिल्यै संवर्धित युरेनियम र आणविक वैज्ञानिकहरूलाई ती केन्द्रबाट हटाएर सुरक्षित स्थानतर्फ पुर्‍याइसकेको रहेछ ।

ती बमहरूले इरानका आणविक केन्द्रलाई पूरै ध्वस्त पारिदिएको दाबी ट्रम्पले गरे । इजरायली खेमालाई शान्त पार्न ट्रम्पको यो कदम प्रभावकारी रह्यो । हुन त अमेरिकाकै सैन्य गुप्तचरहरूले दिएको प्रतिवेदनमा यस आक्रमणबाट इरानी आणविक केन्द्रमा आंशिक क्षति मात्र पुगेको उल्लेख छ । इरानले केही महिनाभित्रै आणविक कार्यक्रम पुनः आरम्भ गर्न सक्ने पनि बताइएको छ । तर, यस प्रतिवेदनलाई ह्वाइट हाउसले खण्डन गरेको छ ।

अमेरिकाको यो आक्रमणपछि इरानले पनि जवाफ फर्काउनुपर्ने भएको थियो । त्यसैले, उसले पूर्व‍सूचना दिएर कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदेदमा क्षेप्यास्त्र आक्रमण गर्‍यो । पूर्वसूचना पाएकाले अमेरिकाले अल उदेदबाट आफ्ना लडाकू विमानहरू हटाइसकेको थियो । अनि कतार र अमेरिकाले इरानका क्षेप्यास्त्रहरूलाई खसाइदिए । अमेरिकी सैन्य अड्डामा समेत आक्रमण गर्न आफू नहिचकिचाउने सन्देश जनतालाई दिन इरान सफल भयो ।

यसबीचमा ट्रम्पले कतारलाई इरानसँग कुराकानी गर्न लगाएका थिए । इरानलाई पहिलेदेखि नै यस युद्धमा सहभागी हुन मन थिएन । इजरायलले आक्रमण रोकेमा आफूले पनि प्रत्याक्रमण रोक्ने भनी इरानले अमेरिकालाई सन्देश पठायो । त्यसपछि अमेरिकाले इजरायललाई सबै आक्रमण रोक्न दबाब दियो ।

युद्धविराम लागू भइसकेपछि पनि इरानले क्षेप्यास्त्र आक्रमण गरेको आरोप इजरायलले लगायो । इरानले चाहिँ युद्धविरामपछिको कुनै आक्रमणमा आफू संलग्न नरहेको बतायो । शायद इरानले झुक्केर त्यो क्षेप्यास्त्र प्रहार गरेको थियो होला किनकि त्यसले उत्तरी इजरायलको कुनै पनि क्षेत्रलाई तारो बनाएको थिएन । तैपनि इजरायली विमानहरू इरानभित्र आक्रमणका लागि पुगेका थिए । त्यो थाहा पाएपछि ट्रम्पले इजरायललाई तत्कालै आक्रमण नगर्न र विमानहरू फर्काउन आदेश दिए ।

ट्रम्पकै इगोका कारण इजरायल र इरानले युद्धविराममा सहमति जनाएको देखिन्छ । हुन त ट्रम्प आफैंले इरानलाई आणविक सम्झौताका लागि दिएको ६० दिनको म्याद सकिएर ६१औं दिन लागेको कठोर सन्देश दिएका थिए । इजरायलले त्यस भनाइलाई इरानमाथि आक्रमण गर्ने बहानाका रूपमा लियो ।

तर, १२ दिनसम्म युद्ध चलेको भए पनि ट्रम्पले दुवै देशलाई युद्धविरामका लागि बाध्य बनाए । जसरी भए पनि नोबेल शान्ति पुरस्कार हात पार्न खोजिरहेका ट्रम्पले यो युद्धविराम र यसअघि भारत र पाकिस्तानलाई गराएको युद्धविरामको श्रेय लिन खोजेका छन् ।

अमेरिकी हस्तक्षेपका कारण इरान र इजरायलबीचको युद्धविराम कायम हुने अपेक्षा गर्न सकिन्छ । तर, इजरायलले कुनै पनि बेलामा इरानमाथि आक्रमण गर्न सक्ने सम्भावना कायम छ ।

इरानले आफ्नो सुरक्षाका लागि आणविक हतियार चाहिँदो रहेछ भन्ने कुरा बुझेको छ । उत्तर कोरियासँग आणविक बम भएकाले गर्दा अमेरिकाले उसमाथि आक्रमण नगरेको हो भन्ने उदाहरण इरानसामु छ । त्यसैले इरानले गोप्य रूपमा आणविक हतियार बनाएर आफूलाई लेटेन्ट न्युक्लीयर वेपन स्टेटका रूपमा प्रस्तुत गर्ने सम्भावना छ । उससँग ४०० किलो संवर्धित युरेनियम रहेको र त्यसबाट १० वटा आणविक बम बनाउन सकिने खबरहरू पनि आएका छन् । 

दुई देशबीचको युद्ध रोकिएपछि ट्रम्पले इरानसँग अर्को साता आणविक वार्ता गर्ने तयारी गरेका छन् । ट्रम्पले इरानलाई आणविक हतियार बनाउनका लागि युरेनियम संवर्धन रोक्ने शर्तमा इरानमाथिको आर्थिक प्रतिबन्ध फुकुवा गर्ने सम्भावना रहेको जनाइएको छ ।