
काठमाडौं । इरानले सोमबार राति कतारमा मिसाइलबाट आक्रमण गरेको छ । कतारमाथि इरानको यो आक्रमणसँगै नेपाली कामदार तनावमा परेका छन् ।
स्थानीय समयअनुसार सोमबार साँझ करिब ७.५५ बजे इरानले कतारमा मिसाइल आक्रमण गरेका थिए । यो आक्रमणपछि कतारमा रहेका ठूलो संख्याका नेपाली कामदारहरुले त्रासमा परेको जनाएका छन् । यो आाक्रमणपछि कतारी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा बन्द गरिएको घोषणा गरेको छन ।
कतारमा करिब ४ लाख नेपाली कार्यरत छन ।
इरानले कतारको सनैयास्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरिएको अन्तरार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी सेनाले उक्त हमलालाई सफलतापूर्वक आकाशमै निष्क्रिय पारेको समाचारहरुमा उल्लेख छ। प्रत्यक्षदर्शीहरुका अनुसार अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै इरानतर्फबाट ५० भन्दा बढी मिसाइल प्रहार भएको थियो ।
एक नेपाली प्रत्यक्षदर्शीका अनुसार राति इरानबाट आएको रकेट आउँदा निकै ठुलो आवाज आएको थियो । दोहामा बस्ने ती नेपालीका अनुसार भूकम्पमा आउने आवाज जसरी आवाज आएको थियो ।
‘साँझपख आकाशमा ठूलो आवाजसहित ५० भन्दा बढी झिल्काहरू देखिए, तारा खसे जस्तो’, उनले भने, ‘निकै ठूलो आवाज आयो, भूकम्प गएजस्तै। बम खसेको त छैन, माथि नै डिस्पोज गरियो।’
घटनालगत्तै कतारको हवाई क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। हवाइ उडान बन्द भएसँगै नेपालमा उडान हुने कतार एअरवेज, नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स लगायतका कुनै पनि व्यावसायिक उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन्।
नेपाली दूतावास कतारका अनुसार उक्त देशमा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ।
घटनापछि कतारका केही प्रमुख बजार क्षेत्रहरू बन्द गरिएको छ भने मानिसहरू घरभित्रै बेचैन अवस्थामा रहेका छन्। अमेरिकी सेनाको बेस क्याम्प रहेको क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।
इरानले कतारमा आक्रमण गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गर्नसक्ने आशंकाले स्थानीय स्तरमा थप त्रास बढाएको छ। रातिको समयमा दुई पक्षबीच थप हानाहान भए कतार असुरक्षित हुनसक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
कतारको कुन स्थानमा भयो आक्रमण
इजरायलले आणविक हतियार राखेको आरोपमा आक्रमण थालेको एक सातापछि युद्धमा जोडिएको अमेरिकाले इरानका तीन आणविक केन्द्रमा बम हानेको थियोे। तर उसको उक्त निर्णय प्रत्युत्पादक सावित भयो।
इरानले गएराति कतारस्थित अमेरिकी सैन्य बेसमै ६ वटा मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
इरानको सरकारी समाचार एजेन्सी इर्नाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को वक्तव्य उद्धृत गर्दै इरानबाट प्रक्षेपित ६ वटा मिसाइल कतारको अल उदैदस्थित अमेरिकी सैन्य बेसमा खसेको पुष्टि गरेको छ।
यस आक्रमणलाई गत साता अमेरिकाद्वारा इरानका प्रमुख परमाणु स्थलमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको थियोे।
तर, कतारले यस दाबीको खण्डन गर्दै इरानबाट जम्मा १९ वटा मिसाइल प्रक्षेपण भएको जनाएको छ। तीमध्ये एकमात्र मिसाइल बेसमा लागेको कतारको दाबी छ। बाँकी सबै कतारी हवाई सुरक्षा प्रणालीले खसालिएको दाबी कतारले गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अमेरिकी सैन्य हवाई बेस अल उदैदमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ।
अमेरिका वा उसका सहयोगीले फेरि आक्रामक कार्य गरे इरानले बल प्रयोग गरेर जवाफ दिने आईआरजीसीले जनाएको थियोे।
आक्रमणको बेलामा दोहाको आकाशमा आगोको ज्वाला र भिल्काहरू देखिएका थिए। अल उदैदको मिसाइल रक्षा प्रणाली सक्रिय रहेको दृश्य पनि देखिएको थियो। कतारको राजधानी वरिपरि धेरै ठूला विस्फोटहरूको आवाज पनि सुनिएको थियो।
कतारको परराष्ट्र मन्त्रालयले यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको थियो। दोहाले आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित राखेको बताएको थियो।
कतारको रक्षा मन्त्रालयले १९ वटा मिसाइलमध्ये १८ वटा आकाशमै खसालिएको जनाएको छ। एउटा मिसाइल बेसमा खसे पनि कुनै हताहत नभएको दाबी कतारले गरेको थियो।
नेपाली दूतावासले भन्यो सर्तक रहनु
यो घटना लगत्तै कतारको दोहास्थित नेपाली राजदूतावासले रोजगारीको क्रममा कतार पुगेका नेपाली कामदारलाई सतर्क रहन आग्रह गरेको छ।
दूतावासले सोमबार राति फेसबुकबाट एक सार्वजनिक सन्देश जारी गर्दै कतारमा रहेका नेपाली हरूलाई हालको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै शान्तिपूर्ण रूपमा यथास्थानमै रहन अपिल गरेको हो।

दूतावासले कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ।
राजदूतावासले भनेको छ, ‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहनुहोस् र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशन पालना गर्नुहोस्।’
सन्देशमा दूतावासले आफू सधैँ त्यहाँ रहेका नेपालीहरूको साथमा रहेको उल्लेख गर्दै आवश्यक परेको खण्डमा सम्पर्क गर्न सकिने समेत स्पष्ट पारेको छ।
प्रतिक्रिया