
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलाको बाढीबाट ५ जनालाई उद्धार गरिएको छ ।
रोशीखोलाबाट ढुंगागिट्टी निकाल्ने उद्देश्यले टिपर र लोडरसहित राति करिब ९ बजे खोलामा पुगेका ५ जना बाढी आएपछि फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीेले उनीहरुलाई राति १२ बजे खोलाको बाढीबाट उद्धार गरेको थियो ।
उद्धार गरिएका व्यक्तिहरुमा तेमाल गाउँपालिका–५ गिम्दीका ४२ वर्षीय सन्जय लामा, तेमाल गाउँपालिका ५ कै ३२ वर्षीय रेबन तामाङ, नमोबुद्ध नगरपालिका–५ डाँडागाउँका १९ वर्षीय मुस्कान तामाङ, ओखलढुंगा घर भई नमोबुद्ध नगरपालिका–५ डाडागाउँ बस्ने २१ वर्षीय सागर राई र डोजर चालक दोलखाको भिमेश्वर नगरपालिका घर भई हाल डाँडागाउँ बस्ने २९ वर्षीय समिर तामाङ छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो ।
प्रतिक्रिया