
काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठक सुरुवातमै स्थगित गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो रङको रिबन लगाएर बैठकमा उपस्थिति जनाएपछि सत्तापक्षले आपत्ति जनाएपछि बैठक स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै रास्वपाले केही समयदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । यसैक्रममा मंगलबार विरोधको नयाँ शैली अपनाउँदै रास्वपाका सबै सांसदहरूले निलो खादा लगाएर बैठकमा सहभागी भएका थिए।
बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए । कार्कीले आफ्नो सम्बोधनमा रास्वपाको जायज मागलाई सत्तापक्षले दुई-तिहाईको घमण्डमा दवाउन खोजेको आरोप लगाइन् ।
उनको भनाइपछि सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियम उल्लङ्घन भएको भन्दै आपत्ति जनाए । उनले संसदको कार्य सञ्चालन नियमावली अनुसार सांसदहरूले मर्यादित पोशाकमा उपस्थित हुनुपर्ने प्रावधान रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
नियमापत्तिपछि उत्पन्न विवादका कारण बैठक केही बेरमै स्थगित गरिएको हो ।
रास्वपा सांसदहरुले निलो रिवन लगाउनुको कारण यस्तो
मंगलबारको प्रतिनिधि सभामा रास्वपाका सांसदहरु निलो रंगको रिवन लगाएर देखा परे । संसद बैठकमा जाँदा रास्वपाका सांसदहरुले किन निलो रंगको रिवन लगाए भन्ने प्रश्न उठेको छ ।
विश्वव्यापी रुपमा निलो रिवनको रंगको रिवनले मानव तस्करी बिरूद्धको अभियानलाई जनाउँछ ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको रास्वपाका सांसदहरुको अवरोधका बाबजुद सभामुखले संसद चलाइ रहँदा उनीहरुले बिरोधको नयाँ स्वरुप खोजि गरेका हुन् ।








प्रतिक्रिया