कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । मनसुनी वायुको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा परेको छ ।

यसका साथै देशका पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।