बैंकिङ क्षेत्रमा प्राविधिक छलाङ


विश्वभरि द्रुत गतिमा प्रविधिको विकास हुँदै गर्दा बैंकिङ क्षेत्रमा पनि क्रान्तिकारी परिवर्तन आइरहेको छ । कृत्रिम बुद्धिमत्ता (आर्टिफिशियल इन्टेलिजेन्स –एआई), ब्लकचेन र क्वान्टम कम्प्युटिङको उपयोग गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कार्यक्षमतामा अभिवृद्धि गर्न थालेका छन् । यी प्रविधिको सदुपयोगमार्फत बैंकहरूको वित्तीय कारोबार सुरक्षा पनि बलियो बनेको छ भने सेवाग्राहीहरूले पनि सहजता अनुभव गर्न थालेका छन् ।

एआईले बैंकिङ क्षेत्रमा ठूलो क्रान्ति ल्याएको छ । एआई च्याटबोटहरूले ग्राहकको जिज्ञासा शान्त पार्ने, कारोबारहरूलाई सहज बनाउने र वित्तीय सल्लाह समेत दिने काम गर्न थालेका छन् । यस्ता भर्चुअल असिस्टेन्टहरूले सेवाग्राहीहरूलाई घरैमा बसीबसी आवश्यक सबै सहयोग छोटो समयमा उपलब्ध गराउने भएकाले बैंकहरूको सञ्चालन खर्च पनि जोगिने गरेको छ ।

ग्राहकहरूलाई छिटोछरितो सेवा उपलब्ध गराउनुका साथै कारोबारमा हुन सक्ने ठगीहरू पत्ता लगाउन पनि एआईले प्रभावकारी भूमिका खेल्ने गरेको छ । ग्राहकहरूको व्यवहार, विगतमा ग्राहकले देखाएको खरिद प्रवृत्ति, कुन डिभाइसबाट खरिद गरेको हो लगायतका क्रियाकलापलाई विश्लेषण गरी शंकास्पद कारोबारप्रति सचेत बनाउने काम एआईले गर्छ ।

मशिन लर्निङका अल्गोरिदमहरूले तत्कालै विशाल संख्यामा कारोबारको डेटालाई विश्लेषण गरेर शंकास्पद कारोबार हुनुअघि नै त्यसलाई रोकिदिन्छन् ।

कुनै व्यक्ति वा कम्पनीसँग कर्जा लिने योग्यता छ कि छैन भनी मापन गर्ने क्रियाकलापलाई क्रेडिट स्कोरिङ भनिन्छ र एआईका कारण त्यसमा पनि लोभलाग्दो प्रगति भएको छ । विगतमा कर्जा प्रवाहका लागि गरिने मूल्यांकनहरू समयमा इमान्दारिताका साथ ऋण तिरे नतिरेकोमा निर्भर रहन्थ्यो । तर एआईले अब कर्जाका लागि योग्यताको मूल्यांकन गर्न सेवाग्राहीको सामाजिक सञ्जाल गतिविधि, पानीबिजुलीको महसुल समयमा तिरे नतिरेको विवरण तथा इन्टरनेटमा सेवाग्राहीले खोज्ने सामग्रीलाई समेत आधार बनाउने गरेको छ ।

यसले गर्दा बैंकहरूलाई विगतमा औपचारिक रूपमा कर्जा नलिएका सेवाग्राहीलाई समेत सेवाप्रवाह गर्न सहज बनाएको छ । यसका अतिरिक्त, एआईमार्फत गरिने पूर्वानुमानबाट बैंकहरूलाई बजारको ट्रेन्डको पूर्वानुमान गर्न, लगानी सम्बन्धी रणनीतिहरूलाई थप बलियो बनाउन र सेवाग्राहीहरूलाई उनीहरूको रुचिबमोजिमको स्किममा सहभागी बनाउन सहयोग गरेको छ ।

त्यस्तै ब्लकचेन प्रविधिले पारदर्शिता, सुरक्षा र प्रभावकारितामार्फत बैंकिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । ब्लकचेन भनेको विकेन्द्रीकृत डिजिटल लेजर हो र त्यसले बैंक तथा सेवाग्राहीहरूबीच हुने विनिमयको सुरक्षित अभिलेख राख्छ । ब्लकचेन सञ्जालहरूमा कोडिङ गरेर राखिएको सम्झौता तथा डिजिटल कन्ट्य्राक्टहरूले कुनै पनि कर्जा स्वीकृतिलाई सहज बनाइदिन्छन् । बैंकका कर्मचारीबाट हुन सक्ने त्रुटि, ढिलासुस्ती वा चलखेलको गुञ्जायस यसमा हुँदैन ।

ब्लकचेन प्रविधिको उम्दा उदाहरण केन्द्रीय बैंकबाट जारी हुने डिजिटल मुद्रा हो । चीनले डिजिटल युआन, भारतले डिजिटल रुपी र नाइजेरियाले ई–नाइराको परीक्षण गरिरहेका छन् भने अन्य देशले पनि यस्तै किसिमका पहलहरूका बारेमा सोच्दैछन् । नेपाल राष्ट्र बैंकले पनि डिजिटल रुपैयाँ सार्वजनिक गर्नका लागि काम अघि बढाइरहेको छ । परम्परागत फियाट मुद्राहरूको तुलनामा यस्ता डिजिटल मुद्रा सस्तो, सुरक्षित र द्रुत गतिमा विनिमय गर्न सहज हुन्छ ।

विकेन्द्रीकृत वित्तीय कारोबार बैंकिङ क्षेत्रमा अर्को महत्त्वपूर्ण प्रगति हो । ब्लकचेनमा आधारित भएर विकेन्द्रीकृत वित्तीय कारोबारले परम्परागत बैंकविना नै ऋण दिने र लिने अनि कारोबार गर्ने सुविधा दिन्छ । हुन त यो अहिले आरम्भिक चरणमै छ तर यसले वित्तीय सेवाहरूलाई अनुमति लिइरहनुपर्ने झन्झटबाट मुक्त गर्दै परम्परागत बैंकिङ मोडललाई चुनौती दिन्छ । तर नियामक संस्थाहरूले गर्ने अवरोध तथा सुरक्षा जोखिमको सम्बोधन नगरिएको अवस्थामा यसलाई सर्वस्वीकार्य बनाउन सकिएको छैन ।

कतिपय देशमा बैंकिङ सेवालाई गैरवित्तीय प्लाटफर्महरूसँग तादात्म्य मिलाउन पनि थालिएको छ । उदाहरणका लागि, उबर जस्ता सवारीसाधन उपयोग गराउने यापहरूले डिजिटल वालेटको सुविधा पनि उपलब्ध गराउन थालेका छन् । अनि शपिफाई जस्ता ई–कमर्श साइटहरूले सेवाग्राहीलाई बैंकले जस्तो गरी तत्कालै कर्जा दिने सुविधा ल्याएका छन् । बैंक र अन्य कमर्शियल संस्थाबीचको यस्तो तादात्म्यले सेवाग्राहीलाई सहज तुल्याएको छ भने परम्परागत बैंकिङ भन्दा बाहेक पनि आयआर्जनको नयाँ ढोका खोलिदिएको छ ।

त्यस्तै विदेशका लब्धप्रतिष्ठ बैंकहरूले क्वान्टम कम्प्युटिङको उपयोगका बारेमा अध्ययन गरिरहेका छन् । परम्परागत कम्प्युटरको तुलनामा क्वान्टम कम्प्युटरले निकै द्रुत गतिमा जटिल हिसाबकिताब गरिदिन्छन् । जेपीमोर्गन चेज र गोल्डम्यान स्याक्स जस्ता बैंकहरूले वित्तीय ठगी पत्ता लगाउन, जोखिम मूल्यांकन (रिस्क मोडलिङ) तथा मुनाफा अभिवृद्धि एवं जोखिम न्यूनीकरण (पोर्टफोलियो अप्टिमाइजेशन) का लागि क्वान्टम कम्प्युटिङको उपयोग गर्ने गरेका छन् ।

तर क्वान्टम कम्प्युटिङले डिजिटल बैंकिङ कारोबारको सुरक्षामा उपयोग हुने इन्क्रिप्शन मापदण्डमा जोखिम तेस्र्याउने विश्लेषकहरू बताउँछन् । क्वान्टम कम्प्युटरहरू थप विकसित हुँदै जाँदा इन्क्रिप्शन कोड भत्काउन सक्ने हुँदा अहिलेसम्म सुरक्षित रहेका अन्लाइन कारोबार जोखिममा पर्न सक्छन् । यसलाई निवारण गर्नका लागि बैंकहरूले क्वान्टम प्रतिरोधी क्रिप्टोग्राफीमा लगानी गर्न थालेका छन् ।

साइबर सुरक्षा सबै बैंकहरूको उच्च प्राथमिकतामा रहेको विषय हो । त्यसका लागि औंठाछापमा आधारित (फिंगरप्रिन्ट स्क्यानिङ) बायोमेट्रिक अथेन्टिकेशन अहिले प्रचलित छ । त्यसका अतिरिक्त, मुहार पहिचान (फेसियल रिकग्निशन) र आवाज पहिचान (भोइस आईडी) ले परम्परागत पासवर्ड प्रणालीलाई क्रमशः विस्थापित गर्दै लगेका छन् र पहिचानको चोरी (आइडेन्टिटी थेफ्ट) को जोखिमलाई घटाएका छन् । अझ, प्रविधि विकसित हुँदै जाँदा व्यवहारमा आधारित बायोमेट्रिकले कारोबार सुरक्षालाई एक कदम अघि बढाएर प्रयोगकर्ताको आनीबानीलाई विश्लेषण गर्न थालेको छ । जस्तो, प्रयोगकर्ताको टाइपिङ स्पीड, माउस चलाउने तरिका, स्मार्टफोनको टचस्क्रीनमा गर्ने व्यवहार आदिको अध्ययन गरेर उत्तिखेरै सम्भावित गडबडीहरूको पहिचान गर्न सक्छ ।

पासवर्ड रहित अथेन्टिकेशनले सेवाग्राहीको सुरक्षा बढाउने मात्र नभई कारोबारलाई थप सहज पनि बनाउँछ । सेवाग्राहीले लामो र जटिल पासवर्ड सम्झिरहनुपर्दैन जसले गर्दा डिजिटल बैंकिङ कारोबार झन्झटरहित हुन पुगेको छ । अहिले नेपालमा ग्लोबल आईएमई बैंक लगायतले आफ्नो यापमा पासवर्ड र पिनकोडको विकल्पसँगै फिंगर स्क्यानको सुविधा पनि दिएका छन् ।

कारोबारको क्षेत्रमा बायोमेट्रिक प्रविधिको विकासको कुरा गर्नुपर्दा, चीनमा त पसलमा गएर स्क्यानिङ मशिनमा हत्केला देखाएको भरमा सामान किन्न सकिने प्रविधि पनि विकसित भइसकेको छ ।

स्वायत्त वित्तीय कारोबार पनि प्रविधिको आडमा लोकप्रिय हुँदै गएको छ । यसअन्तर्गत एआईले न्यूनतम मानवीय (कर्मचारी) हस्तक्षेपविना नै सेवाग्राहीको वित्तीय निर्णयको व्यवस्थापन गर्दछ । यस्तो एआईलाई रोबो एडभाइजर भनिन्छ । अमेरिकामा बेटरमेन्ट र वेल्थफ्रन्ट जस्ता कम्पनीले रोबो एडभाइजरमार्फत सेवाग्राहीलाई बजारको अवस्था र व्यक्तिको प्रोफाइल हेरेर लगानीका रणनीतिहरू बनाइदिने गरेका छन् । यिनले सबै वर्गका सेवाग्राहीका लागि सुलभ सेवा उपलब्ध गराएर सम्पत्ति व्यवस्थापनलाई लोकतान्त्रिकीकरण गराएका छन् ।

त्यस्तै कर्जा प्रवाहको सवालमा एआईमा आधारित प्रणालीहरूले तत्कालीन परिस्थितिको जोखिम मूल्यांकनलाई आधार बनाएर स्वतः ब्याजदर निर्धारण गरिदिन्छन् । सुधारिएको क्रेडिट स्कोर भएका ऋणीले स्वतः ब्याजदर घटेको देख्न पाउँछन् भने समस्याग्रस्त क्रेडिट स्कोर भएका ऋणीलाई डिफल्टबाट बच्नका लागि सिफारिश गर्दछन् ।

भविष्यमा बैंकिङ क्षेत्रले एआईलाई उच्च महत्त्व दिएर कारोबार गर्नेमा दुईमत छैन । एआईले सामान्य र नियमित काम गरिरहँदा मानिसले व्यवस्थापकीय निर्णय लिने काममा जोड दिनेछन् । ब्लकचेनको आडमा सञ्चालन हुने विकेन्द्रीकृत पहिचान प्रणालीले प्रयोगकर्ताहरूलाई वित्तीय डेटामा पूर्ण नियन्त्रण दिलाउनुका साथै उनीहरूको कारोबारको गोप्यता र सुरक्षा पनि सुनिश्चित गर्दछ । यी प्रविधिलाई यथाशीघ्र अपनाउने बैंकहरूले द्रुत गतिमा सेवा, वित्तीय सुरक्षा तथा व्यक्तिगत लगानीमा सल्लाह दिएर सेवाग्राहीको मन जित्न सक्छन् भने यिनलाई आत्मसात नगर्ने बैंकहरू पछि पर्नेछन् ।

बैंकिङ क्षेत्रका नियामक निकायहरूले समेत विकेन्द्रीकृत वित्तीय प्रणाली र क्वान्टम कम्प्युटिङ जस्ता अत्याधुनिक प्रविधिलाई क्रमशः स्वीकार गर्दै जानेछन् ।

डिजिटल प्रविधिको उपयोगले बैंकिङ क्षेत्रको भविष्य समुज्ज्वल बनाउनेछ र सेवाग्राहीलाई पनि वित्तीय रूपमा थप सशक्त बनाउनेछ ।