तीनकुने घटनाका अभियुक्त राप्रपाका धवलशमेशेर अदालतमा उपस्थित, मिश्र अझै ‘फरार’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री धवलशमेशेर राणा तीनकुने हिंसात्मक घटना सम्बन्धी मुद्दामा बयान दिन सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएका राणाको बयान जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासमा तोकिएको छ ।

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने चार दर्जनभन्दा बढी घाइते भएका थिए । त्यस्तै, प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुँदा अर्बौं रुपैयाँ बराबरको सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको थियो ।

उक्त घटनामा संलग्नको आशंकामा प्रहरीले १०८ जनाविरुद्ध अनुसन्धान गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो । सोही आधारमा जेठ ११ गते सरकारी वकिलले राणा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, ‘जनकमाण्डर’ दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

मिश्र र राणासहित केही अभियुक्तहरू फरार रहँदा अन्य प्रतिवादीमध्ये सात जना पुर्पक्षका लागि कारागार चलान गरिएका थिए भने बाँकीलाई अदालतले १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटीमा रिहा गरेको थियो ।

क्यान्सर पीडित राणा अदालतमा उपस्थित हुन नसक्ने भन्दै शर्तसहित हाजिरी जमानीमा रिहा भएका थिए । तर, मुद्दा दर्ता भइसकेपछि पनि उनी सम्पर्कमा थिएनन् । सोमबार भने उनी स्वयं अदालतमा उपस्थित भएका हुन् ।

त्यस्तै बन्दीप्रत्यक्षीकरणको आदेशपछि छुटेका रविन्द्र मिश्र भने अझै फरार छन् ।