
काठमाडौं। भारतको विनायक आयल इन्डस्ट्रिजले नेपालका उद्योगी राइसा टिवडेवालसँग सहकार्य गरी जनकपुरमा अत्याधुनिक खानेतेल उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको लगानी बोर्डको ६४ औँ बैठकले जनकपुरमा खाने तेल उद्योग स्थापना गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो।
यो उद्योग साढे ६ अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आउन लागेको हो ।
विनायक आयलको तर्फबाट नेपाली व्यवसायी टिबेडवालले लगानी बोर्डमा उद्योग स्थापनाका लागि प्रस्ताव पेस गरेका थिए। उद्योग पूर्वाधार बनाउन ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव परेको थियो । यो उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयलको हुनेछ ।
भारतको पश्चिम वंगालको हावरामा बिनायक आयलको मुख्यालय छ । सन् १९९७ मा स्थापना भएको यो उद्योगले रिफायनरी खानेतेल उत्पादन गर्दैआएको छ । यो उद्योगले प्रिमियम ब्रान आयल, सनफ्लावर आयल, सोयाविन आयल र तोरीको तेल उत्पादन गर्दैआएको छ ।
प्रतिक्रिया