
काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले देउवाले आफूलाई फोन गरेर ‘के भएको हो ?’ भनी सोध्दा आफू अचम्ममा परेको बताएका छन् ।
‘देउवाजीले झूट बोल्नुहुन्न,’ प्रचण्डले भने, ‘हिजो फोन गरेर सोध्नुभयो- के भएको हो ? माधवमाथि मुद्दा कसरी दर्ता भयो ? भनेर। उहाँले मलाई सोध्नुभयो, म त अचम्ममा परेँ । उल्टै मैले भन्नुपर्ने- तपाईंलाई थाहा छैन?’
उनले देउवाको शैली सिधा र स्पष्ट हुने भएकाले उनीसँग सल्लाहमा बसेर मुद्दा लगाइएको नभएको आफूले बुझेको बताए ।
प्रचण्डले उक्त मुद्दालाई राजनीतिक प्रतिशोधको परिणामको रूपमा व्याख्या गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध मुद्दा लगाइएको आरोप लगाए ।
‘यो प्रतिशोध साँध्ने नियत देखिन्छ,’ उनले भने, ‘अदालत पुगेको विषय भएकाले अब न्यायालयबाटै न्यायको अपेक्षा गर्नुपर्छ ।’
प्रचण्डले केही समयअघि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसम्बन्धी फाइल अख्तियारले मन्त्रिपरिषद्लाई जिम्मा लगाएर फिर्ता गरेको बताए । ‘अख्तियारको अधिकार क्षेत्रबाहिर भएकाले निर्णय मन्त्रिपरिषद्ले गरोस् भनेर भनेको थियो,’ उनले भने, ‘अब त्यसै अख्तियारले प्रधानमन्त्रीमाथि सिधै मुद्दा दायर गर्नु गम्भीर प्रश्न हो ।’
उनले मुद्दाको प्रकृतिले भविष्यमा अरू धेरै विषयहरू, जस्तै गिरीबन्धु, ओम्नी समूह र अन्य विवादित प्रकरणहरू पनि कानुनी कठघरामा आउने सम्भावना बढेको बताए ।
‘अब प्रधानमन्त्री कोही पनि जोगिने अवस्था छैन,’ प्रचण्डले भने, ‘माधवजीलाई मात्रै हुने कुरा भएन, अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए।’
प्रतिक्रिया