उर्जा उत्पादकको भेलामा मागियो अर्थमन्त्री पौडेलको राजीनामा

231
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को भेलामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘बजेटमा सार्वजनिक टेक एन्ड पे पीपीएको प्रावधान विरुद्ध उर्जा उत्पादकहरुको भेला’मा अर्थमन्त्रीको राजीनामा माग भएको हो ।

बजेटमा रन अफ दि रिभर (आरओआर) आयोजनाको टेक एन्ड पेमा मात्र विद्युत खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणाका विषयमा अर्थमन्त्री, उर्जा मन्त्री सबैले थाहा नपाएको भन्न नपाउने उर्जा उत्पादकहरुको तर्क छ ।

‘अर्थमन्त्रीले बजेट ल्याएर त्यहाँ राखिएका कुरा थाहा छैन भन्न पाउनु हुन्न । कि उहाँले जिम्मा लिनुपर्छ कि राजीनामा दिनुपर्छ,’ उर्जा उत्पादक अरुण सुवेदीले कार्यक्रममा भने, ‘बजेटमा ल्याएको कुरा अर्थमन्त्रीले जिम्मा नलिने हो भने कसले लिने ह? जिम्मा कसैले नलिने हो भने विधुत आपूर्ति बन्द गरेर आन्दोलनमा जानुपर्छ ।’

बजेटमार्फत् उर्जा उत्पादकलाई ठूलो असर पुग्ने भन्दै इप्पानले आन्दोलन गर्ने घोषणा गरिसकेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा सार्वजनिक गर्दै रन अफ दि रिभर (आरओआर) आयोजनाको टेक एड पे मा मात्र विद्युत खरिद सम्झौता ९पीपीए० गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो ।

बजेटको सो घोषणाले अबबाट कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुले जलविद्युत् आयोजनामा ऋण लगानी नगर्ने भएकाले उत्पादन अनुमतिपत्र प्राप्त, उत्पादन अनुमतिका लागि आवेदन दिएका, सर्वेक्षण अनुमतिपत्र प्राप्त र यसका लागि आवेदन दिएका गरी झण्डै १७ हजार ११७ मेगावाट बराबरका आयोजनाको निर्माण कार्य उच्च जोखिममा परेको इप्पानको तर्क छ ।

सरकारको यो घोषणाका कारण यी आयोजनाहरुमा लगानी भइसकेको ६६ अर्ब २२ करोड रुपैयाँ डुब्ने अवस्था सिर्जना भएको उर्जा उत्पादकले बताएका छन् ।