सिन्डिकेटधारी व्यवसायीले सञ्चालन गर्न दिएनन् मयुर यातायात

938
Shares

काठमाडौं । सार्वजनिक सवारीमा सिण्डिकेट जमाएको आन्दोलनरत यातायात व्यवसायीले मयुर यातायातलाई सञ्चालन गर्न नदिने दबाब दिएको छ ।

सिण्डिकेटधारी व्यवसायीले मयुर यातायात सञ्चालन गरे तोडफोड गर्नुका साथै आगजनी गर्ने चेतावनी दिएपछि सडकमा गुड्दै गरेको बस ग्यारेजमा थन्काउन बाध्य भएको उक्त कम्पनीले जनाएको छ ।

मयुर यातायातसँगै सरकारको लगानीमा अनुदानमा सञ्चालनमा रहेको साझा यातायातले सोमबार बिहानदेखि विभिन्न सडक खण्डमा आफ्नो सवारी साधन गुडाएका थिए । साझाले सुरक्षाकर्मी राखेर अहिले पनि आफ्ना वस सञ्चालन गरिराखेका छन् ।

तत्कालिन समयमा यातायात व्यवसायीको सार्वजनिक यातायातमा भएको सिण्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेका मयुर यातायातले सोमबार बिहान १० वटा बस सडकमा निकालेका थिए ।

मयुर यातायात प्राइभेट लिमिटेडका सञ्चालक गोपालबहादुर थापाका अनुसार सार्वजनिक यातायातसम्बन्धी ६ वटा संस्थाले संयुक्त रुपमा सोमबारदेखि देशैभर सार्वजनिक यातायात बन्द गरी आन्दोलन गरिरहँदा मयुर यातायातले १० वटा बस निकालेर सडकमा गुडाएको थियो ।

‘हामी पहिले पनि सिण्डिकेटको बिपक्षमा थियौं, अहिले पनि बिपक्षमा छौं, त्यहि भएर उनीहरुले बन्दको आह्वान गरेपनि बिहानदेखि दिउँसोसम्म हामीले १० वटा जति बस निकालेर विभिन्न रुटमार्फत यात्रुलाई सेवा दिएका थियौं,’ सञ्चालक थापाले भने,‘तर आन्दोलनकारीहरुले बसमा तोडफोड र आगजनी गर्ने भनेर अप्रत्यक्ष रुपमा दबाब दिएपछि ति बसहरु हामीले थन्काउन बाध्य भयौं ।’

उनका अनुसार आन्दोलनरत यातायात व्यवसायीका समर्थक विभिन्न सडक खण्डमा ढुकेर बसेका थिए । मयुर बस गुडेको देखेपछि उनीहरुले तत्कालै उक्त बस थन्काउन दबाब दिएका थिए । बस नथन्याए तोडफोडका साथै आगजनी हुन सक्ने चेतावनी दिएपछि कम्पनीले सडकबाट सबै बस फिर्ता लिएर विभिन्न स्थानको ग्यारेजमा थन्काएको जनाएको छ ।

मयुर यातायातले अहिले ९६ वटा बसमार्फत यात्रुलाई सेवा दिदैं आएको छ । २०७५ सालदेखि यो कम्पनीले आफ्नो बसमार्फत सेवा दिन खोज्दा सिण्डिकेटधारी यातायात व्यवसायीहरुले समितिअन्तर्गत दर्ता भएपछि आफुहरुको निगाहमा मात्रै रुट निर्धारण गरी सञ्चालन गर्न दिने ठूलो दबाब दिएका थिए ।

त्यो वेला सिण्डिकेटधारी समिति र यातायात व्यवसायीको दबाबकाबीच बस सञ्चालन गर्दा करिब २० वटा मयुर वस तोडफोडको सिकार भएको थियो । त्यो वेला मयुर यातायात एक्लै सिण्डिकेटधारी समिति र यातायात व्यवसायी लडेको थियो ।

यहि वेला सरकारले पनि सिण्डिकेटधारी समिति भंग गरेको थियो ।