
काठमाडौं । बजेटमा ‘टाइपिङ मिस्टेक’ भएको भन्दै सरकारले विदेशी मदिरा आयात गर्दा लाग्ने भन्सार महसुल सच्याएको छ ।गत बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयकमार्फत मदिरा आयात गर्दा लाग्न भन्सार महसुल प्रतिलिटरमा रुपैयाँ तोकिँदै आएकोमा संशोधन गरेर रकमका आधारमा प्रतिशत बनाएका थिए ।
विदेशी मदिरा आयात गर्दा प्रतिलिटरमा भन्सार लगाउँदै आएकोमा अर्थमन्त्रीले संशोधन गरेर मूल्यको आधारमा लगाउने व्यवस्था गरेका थिए । जसले गर्दा विदेशी न्यून बिजकीकरणमा आयात भएर स्वदेशी मदिरा उद्योग धराशायी हुनसक्ने भन्दै उद्योगीहरु त्रसित भएका थिए । तर अर्थमन्त्री पौडेलले त्यसलाई संशोधन गर्दै प्रतिलिटरमा यसअघि लाग्दै आएको भन्सार वा मूल्यको प्रतिशतमा प्रस्ताव गरेको महसुलमा जुन धेरै हुन्छ सोही भन्सार कायम गरेका छन् ।
मूल्यको प्रतिशतमा भन्सार लगाउँदा सस्तोमा विदेश मदिरा नेपाली बजारमा सहज रुपमा आउने जोखिम समेत बढेपछि अर्थमन्त्री पौडेलले तत्काल त्यसमा परिमार्जन गरेका हुन् ।
जेठ १५ गते अर्थ मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको आर्थिक विधेयकमा माल्टबाट बनेको बियरमा ८० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेकोमा त्यसलाई सुधार गर्दै अब प्रतिलिटर २०० वा ८० प्रतिशतमध्ये जुन बढी हुन्छ सोही भन्सार लाग्ने बनाएको हो । यसअघि पनि प्रतिलिटर २०० रुपैयाँ नै भन्सार लाग्ने व्यवस्था थियो ।
स्पार्कलिङ वाइनमा पनि ८० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको थियो । अब भने त्यसलाई सच्याएर प्रतिलिटर ३०० वा ८० प्रतिशतमध्ये जुन धेरै हुन्छ सोही भन्सार महसुल लाग्ने व्यवस्था गरिएको हो । यसअघि पनि यसमा प्रतिलिटर ३०० रुपैयाँ नै भन्सार महसुल लाग्ने व्यवस्था थियो ।
भरमाउथ र विरुवा वा वास्नायुक्त तत्वहरुबाट स्वादिष्ट बनाइएको ताजा अङ्गुरको अन्य वाइनमा प्रतिलिटर ३०० वा ८० प्रतिशतमा जुन बढी हुन्छ सोही भन्सार लाग्ने व्यवस्था गरिएको छ । जेठ १५ मा यसमा पनि ८० प्रतिशत बनाइएको थियो। त्यसअघि भने प्रतिलिटर ३०० रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था थियो ।
छ्याङ (कन्ट्री बियर), सेम्पेन सेरी मिड, पेरी, साइडर, साके र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडिबुटी मिश्रित मदिरा, कक्टेल र अन्य फमेन्टेड मदिराको भने भन्सार ४० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याएको हो । जेठ १५ मा नै यसको भन्सार बढाइएको थियो ।
आयातका हिसाबल ६० प्रतिशत वा त्यसभन्दा बढी अल्कोहल शक्ति भएको अविकृत इथाइल अल्कोहलमा प्रतिलिटर ६० रुपैयाँ वा मूल्यको ३० प्रतिशतमा जुन बढी हुन्छ सोही अनुसार भन्सार महसुल लाग्ने भएको छ । यसमा पनि ३० प्रतिशत भन्सार लाग्ने बनाइएको थियो । त्यसअघि भने प्रतिलिटर ६० रुपैयाँ नै भन्सार महसुल तोकिएको थियो ।
८० प्रतिशतदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको विकृत स्पिरिट र अन्यमा पनि प्रतिलिटर ६० वा ३० प्रतिशतमध्ये जुन बढी हुन्छ सोही भन्सार महसुल लाग्ने भएको छ । यसमा पनि ३० प्रतिशत प्रस्ताव गरेकोमा संशोधन गरिएको हो । त्यसअघि प्रतिलिटर ६० रुपैयाँ नै थियो ।
ब्राण्डीका कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका स्पिरिटमा प्रतिलिटर १ हजार ५०० वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ सोही भन्सार महसुल लाग्ने भएको छ । ८० प्रतिशत लाग्ने व्यवस्था भएकोमा त्रुटी भएको भन्दै यसलाई पनि सच्याइएको हो । त्यसअघि प्रतिलिटर यसको भन्सार महसुल १०० रुपैयाँ नै थियो । अन्य अङ्गुरको वाइन वा अङ्गुरको मार्कलाई आसवन गरी निकालिएको स्पिरिटहरुमा भने प्रतिलिटर २ हजार वा १०० प्रतिशतमा जुन बढी हुन्छ सोही भन्सार महसुल लाग्नेगरी संशोधन गरिएको छ । जेठ १५ मा मूल्यको १०० प्रतिशत भन्सार महसुल लाग्ने वयवस्था गरिएको थियो ।
ह्वीस्कीहरुमा कच्चा पदार्थको रुपमा प्रयोग हुने स्पिरिटमा प्रतिलिटर १५०० वा मूल्यको ८० प्रतिशतमा जनु बढी हुन्छ सोही भन्सार महसुल लाग्ने बनाइएको छ । अर्थमन्त्री पौडेलले संसदमा आर्थिक विधेयक पेश गर्दा मूल्यको ८० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेका थिए । तयारी ह्वीस्कीमा भने प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जनु बढी हुन्छ सोही अनुसारको भन्सार लाग्ने व्यवस्था भएको छ । यसमा पनि प्रतिलिटर २ हजार भन्सार लाग्ने प्रस्ताव गरिएको थियो ।
रम र अन्य स्पिरिटहरुको कच्चा पदार्थमा पनि मूल्यको ८० प्रतिशत भन्सार लाग्नेगरी आर्थिक विधेयक आएकोमा संशोधन गरेर प्रतिलिटर १५०० वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ सोही अनुसार भन्सार लाग्ने व्यवस्था भएको छ । तयारी रममा प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ सोही अनुसार भन्सार लाग्ने व्यवस्था गरिएको छ । यसमा पनि १०० प्रतिशतको व्यवस्थासहित आर्थिक विधेयक आए पनि अर्थमन्त्री पौडेलले संशोधन गरेका हुन् ।
जिनको कच्चा पदार्थको प्रतिलिटर १५०० वा मूल्यको ८० प्रतिशत नै हुनेगरी संशोधन भएको छ । यसमा पनि मूल्यको ८० प्रतिशतको व्यवस्था गरिएकोमा संशोधन भएको हो । तयारी जिनको भन्सार प्रतिलिटर २ हजार वा १०० प्रतिशतमा जुन बढी हुन्छ सोही अनुसार हुने भएको छ । यसमा पनि मूल्यको १०० प्रतिशतको व्यवस्था गर्न खोजिएकोमा संशोधन भएको हो ।
अन्य सबै प्रकारका मदिरको कच्चा पदार्थमा ८० प्रतिशत भन्सार लगाउन खोजेकोमा पुन संशोधन भएर प्रतिलिरट १५०० वा मूल्यको ८० प्रतिशत कायम गरिएको छ । यस्तै तयारी मदिरामा १०० प्रतिशतको सट्टा प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ सोही भन्सार लाग्ने भएको हो ।
अर्थसचिव घनश्याम उपाध्याय भने आर्थिक विधेयकमा शाब्दिक त्रुटीहरुलाई सच्याएको बताउँछन् । एक्सेलमा इन्ट्री गर्दा तल्लो लाइनमा परेर नदेखिएकालाई देखिने बनाएको उनले बताए । संसदमा पेस भएको आर्थिक विधेयक र व्यवहारमा भने प्रतिशत वा रकममा जुन बढी हुन्छ सोही महसुल कायम हुनेगरी जेठ १५ गते रातिबाट नै कार्यान्वयनमा गएको उनले बताए । यस्ता त्रुटी विगतमा पनि हुने गरेको र यो वर्ष पनि सुरुको डिजिटल संस्करणमा केही त्रुटी देखिएको उनको भनाइ छ ।
गत वर्षको आर्थिक ऐनमा सुरुमा ४ पाङ्ग्रे साना सवारीमा भ्याट छुटको व्यवस्था आएको थियो । पछि त्रुटी भएको भन्दै मन्त्रिपरिषद्मै लगेर भ्याट छुट पाउने बस्तुको सूचीबाट हटाइएको थियो । यो वर्षको समस्या गत वर्षकोजस्तो नभएको सचिव उपाध्यायले बताए । ‘संसदमा पेश भएको कपिमा कुनै त्रुटी छैन । सार्वजनिक भएको कपिमा केही त्रुटी देखिएकाले सो कपिलाई सुधार गरिएको हो,’ उनले भने ।
प्रतिक्रिया