असल व्यवसायमा बैंकको सफल लगानी

539
Shares

हरेक बैंक तथा वित्तीय संस्थाहरूको बासलातमा सम्पत्तिको रूपमा सबैभन्दा ठूलो भाग कर्जाको देखिन्छ। असल कर्जा नै बैंक तथा वित्तीय संस्थाहरूको सबैभन्दा ठूलो सम्पत्ति हो । हाल नेपालको अर्थतन्त्र ६१ खर्बको रहँदा आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप मात्र ६७ खर्ब पुगेको छ । सोही आबमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५५ खर्ब ४८ अर्ब ५९ करोड रहेको छ ।

जसमध्ये थोक तथा खुद्रा व्यापारको अंश १९.१ प्रतिशत, उपभोग्य कर्जाको अंश १९.८ प्रतिशत र औद्योगिक उत्पादनको अंश १६.४ प्रतिशत रहेको छ। साथै, सेवा उद्योगको अंश ८.६ प्रतिशत, कृषिको अंश ७.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवाको अंश ८.१ प्रतिशत र निर्माण अंश ४.२ प्रतिशत रहेको छ ।

२०८१ फागुनसम्म सम्पूर्ण ७५३ ओटा स्थानीय तहबाट नै बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाबाट औसतमा २५२७ जनाले बैंकिङ सेवा लिँदै आएका छन् । २०८२ वैशाख मसान्तसम्म २० ओटा वाणिज्य बैंकहरूले मात्र ७९.२६ प्रतिशत सिडी रेसियो सञ्चालन गर्दै ४९१० अर्ब कर्जा लगानी गरेका छन् ।

उक्त लगानीमा २०८१ असारमा ३.८ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अनुपात २०८१ चैत मसान्तसम्म आइपुग्दा ४.८३ प्रतिशत पुगेको छ, जुन आजको दिनमा बैंकिङ क्षेत्रका लागि सबैभन्दा ठूलो चुनौतीको विषय पनि हो ।

अबको समय बैंकहरूको ध्यान असल व्यवसायमा सफल लगानी तर्फ जान्छ, जसको उत्पादन तथा बिक्रीले कर्जाको साँवा तथा ब्याज सजिलै तिर्न सक्छन्। स्टार्टअप उद्यमशीलता तथा व्यवसायीहरूको प्रगति, उन्नति र सुदृढीकरणका लागि सधैं बैंक तथा वित्तीय संस्थाहरू साथमै रहनेछन् ।

असल र सक्षम व्यवसायका लागि पालन गर्नुपर्ने केही महत्वपूर्ण नियम देहाय बमोजिम रहनेछन्:

स्टार्टअप उद्यमशीलताको योजना तथा नविनतम सोचको व्यवसायिक यात्रा व्यवसाय दर्ताबाट सुरु हुन्छ । निश्चित उद्देश्य, वार्षिक कारोबार सीमा तथा सुरुवाती पुँजी परिचालनको आँकलनसहित उद्योग, घरेलु, कम्पनी रजिष्ट्रार वा स्थानीय तहमा व्यवसाय दर्ता पश्चात आन्तरिक राजस्व विभागमा समेत दर्ता गरी स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर प्रमाणपत्र अनिवार्य रूपमा लिएको हुनुपर्दछ ।

२०८२ जेठ १५ गतेको बजेट भाषणमार्फत जारी भएको व्यवस्थाअनुसार व्यवसायको शाखा वा गोदाम पनि आन्तरिक राजस्व विभागमा अनिवार्य प्रमाणित गरिएको हुनुपर्दछ । यस आब २०८२/८३ को फिसकल पोलिसी मार्फत नै सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ।

भ्याटमा हो भने हरियो रंगको बोर्डमा, र प्यानमा हो भने पहेंलो रंगको बोर्डमा दर्ता प्रमाणपत्र र करपाटी प्रष्टसँग देखिने गरी राख्नु पर्दछ।

वस्तु वा सेवाको करसहितको मूल्य जोडेर बिक्री हुने अन्तिम मूल्यसहितको मूल्य सूची अनिवार्य राखिएको हुनुपर्दछ ।

सेवाको हकमा ३० लाख र वस्तु खरिद–बिक्रीको हकमा ५० लाख वार्षिक कारोबारसम्म प्यान र सो सीमा माथिको कारोबारमा अनिवार्य भ्याट हुने भएकोले, सोही बमोजिमको लेखा चुस्त–दुरुस्त राखी वार्षिक कर चुक्ता प्रमाणपत्र तथा वार्षिक लेखा परीक्षण अनिवार्य गरी/गराई असल व्यवसायीले अनुपालन गर्नुपर्ने नियमहरूमा चुक्नु हुँदैन ।

कर्जा उपभोग पश्चात पनि कर्जाको सही सदुपयोग तथा नियमित आम्दानी आर्जन गरी समयमै ब्याज तिरी क्रेडिट हिस्ट्री राम्रो राखिरहने व्यवसायहरू बैंकको नजरमा सधैं असल ग्राहक रहिरहने छन्।

देश विकासको मेरुदण्ड उद्यमशीलताको सुदृढीकरण र विकास पनि हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक दिनमा ३०० ओटासम्म एनओसी (नो अब्जेक्सन लेटर) जारी गरिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट दैनिक रूपमा औसतमा २००० भन्दा बढी श्रम स्वीकृति जारी हुँदै आएका छन्।

नेपालमै बस्छु र सक्षम उद्यमी बन्छु भनी लागिरहेका व्यवसायीहरूलाई सरकारको तर्फबाट सहज नीति र बैंक तथा वित्तीय संस्थाहरूबाट सहज बैंकिङ आजको आवश्यकता पनि हो । हाल जेठ महिनाको २० ओटा वाणिज्य बैंकहरूको औसत आधार दर ६.२६ प्रतिशत मात्र रहेकोले पनि व्यवसाय वृद्धिको लागि शुलभ ब्याजदरमा कर्जा लिने उद्यमीहरूको लागि उपयुक्त समय समेत हो ।

सक्षम व्यवसाय नै बैंकको सफल लगानी समेत हुने भएकोले, हरेक अनुशासित उद्यमी/व्यवसायी नै बैंकहरूको लागि असल ग्राहकहरू हुन् ।

(लेखक जोशी नेपाल बैंक लिमिटेड, महाराजगञ्ज शाखाका शाखा प्रबन्धक हुन् ।)