देशमा औद्योगिक इकोसिस्टम तयार गर्दै आध्यान्त

294
Shares

काठमाडौं । आर्थिक समृद्धिको तीव्र आकांक्षा बोकेर अघि बढिरहेको नेपाली अर्थतन्त्रको मागलाई परम्परागत वित्तीय स्रोतहरुले मात्रै धान्नसक्ने अवस्था छैन । देशलाई औद्योगिक विकासको बाटोमा डोर्‍याउन, रोजगारीका अनगिन्ती अवसर सिर्जना गर्न तथा नवीन उद्यमहरूलाई फस्टाउने वातावरण बनाउन बृहद लगानी, रणनीतिक साझेदारी, र व्यावसायिक व्यवस्थापनको खाँचो छ ।

यही खाँचोलाई पूरा गर्ने लक्ष्य राखेर निजी इक्विटीको अवधारणासहित सन् २०२१ देखि आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेड सञ्चालनमा छ । आध्यान्तको अर्थ हुन्छ, सुरुदेखि अन्त्यसम्म । यस कम्पनीले पनि उद्योगहरुलाई प्रारम्भिक चरणदेखि नै सहयोग गर्दछ । नेपाललाई मध्यम आय भएको राष्ट्र बन्ने यात्रामा निजी इक्विटीको रणनीतिक लगानीमार्फत टेवा पुर्‍याउने कम्पनीको योजना छ ।

यसका लागि, कम्पनीले ठूला संस्थागत लगानीकर्ताहरूबाट पुँजी संकलन गरी त्यसलाई नेपालका सम्भावनायुक्त उद्यम, व्यवसाय, र नवीन परियोजनाहरूमा रणनीतिक रूपमा लगानी गर्नेछ । साथै, उद्यमहरूलाई हुर्काउने, संयुक्त रूपमा चुनौतीहरूको सामना गर्ने र उनीहरूको विकासको हरेक चरणमा अटुट साथ दिने योजना छ ।

‘कुनै पनि कम्पनीलाई विकासका विभिन्न चरणमा वित्तीय स्रोत चाहिन्छ । तर, परम्परागत बैंकिङ प्रणालीका आफ्नै सीमाहरू छन् । जस्तो, बैंकले धितो माग्छन् । नेपालमा परियोजना ऋणको अवधारणा त्यति धेरै विकसित भइसकेको छैन । त्यहीकारण ठूला औद्योगिक परियोजनादेखि नवीन सोच बोकेका स्टार्टअपसम्म,संभावना बोकेका परियोजनाका लागि पुँजी खोज्न गाह्रो छ । यी परियोजनाका लागि पुँजी व्यवस्थापन गरिदिने लक्ष्यले निजी इक्विटीको अवधारणासहित हामी सञ्चालनमा आएका हौं,’ लगानी बोर्ड, विभिन्न निजी संस्था तथा विकास साझेदारमा विज्ञको भूमिकामा रहेर काम गरिसकेका आध्यान्तका सह—संस्थापक तथा अध्यक्ष, अर्थशास्त्री मनोज पौडेल भन्छन्, ‘निजी इक्विटी परम्परागत ऋण लगानीभन्दा फरक हो । यसमा लगानीकर्ता कम्पनीको सेयरधनी बन्छ, अर्थात् कम्पनीको स्वामित्वको हिस्सा लिन्छ । यसले गर्दा कम्पनीको सफलतासँग लगानीकर्ताको स्वार्थ प्रत्यक्ष रूपमा जोडिन्छ । निजी इक्विटी फर्महरूले केवल पैसा मात्र दिँदैनन्, उनीहरूले आफ्नो व्यावसायिक विशेषज्ञता, व्यवस्थापकीय कौशल, बजार पहुँच, र सञ्जाल पनि प्रयोग गर्छन् । उनीहरूको लक्ष्य कम्पनीलाई वृद्धि र विकासको नयाँ उचाइमा पु¥याउनु र त्यसको केही वर्षपछि मुनाफामा आफ्नो सेयर बेच्नु हो ।’

झन्डै ५ वर्षअघि पौडेल र अमित कोइरालाले मिलेर आध्यान्त सञ्चालनमा ल्याएका हुन् । आज ठूलो संख्यामा कर्मचारी तथा लगानीकर्ता यसमा जोडिएका छन् ।

उद्यमी र उद्योगहरुमा कसरी पुँजी परिचालन गर्न सकिन्छ भन्नेबारे अर्थशास्त्री पौडेलले लामो समयदेखि अध्ययन गरिरहेका छन् । त्यसैगरी कोइरालासँग म्यान्मार, कम्बोडिया, लाओस, ब्रुनाईलगायत देशमा स्ट्यान्डर्ड चार्टड बैंकको कार्यकारी निर्देशकका रुपमा काम गरेको अनुभव छ ।

कोष व्यवस्थापकको भूमिका
धितोपत्र बोर्डबाट नियमन प्राप्त आध्यान्तले बैंक तथा वित्तिय संस्था, जीवन बिमा कम्पनीहरु, कर्मचारी सञ्चय कोषजस्ता पेन्सन फन्डलगायत संस्थागत लगानीकर्ताबाट पुँजी संकलन गर्ने गरेको छ । ‘हाम्रा ६० प्रतिशत संस्थागत लगानीकर्ताहरु सार्वजनिक रुपमा सुचिकृत कम्पनीहरु हुन् । जसमा लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, महाँलक्ष्मी विकास बैंकलगायत प्रमुख बैंकहरु पर्छन् । यी संस्थाहरूसँग भविष्यमा आफ्ना ग्राहक वा सदस्यहरूलाई पैसा दिनुपर्ने दायित्व हुन्छ ।

त्यसका लागि उनीहरुले अहिले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । उनीहरू यस्तो लगानी गर्ने उपयुक्त ठाउँ खोजिरहेका हुन्छन्, जसले प्रतिफल दिन सकोस् । हामी ती संस्थाहरूका लागि कोष व्यवस्थापकको रूपमा काम गर्छौं,’ पौडेल भन्छन्, ‘विभिन्न सम्भावित ठाउँमा अध्ययन गरेर, जोखिम मूल्यांकन गरेर, रणनीतिक रूपमा लगानी व्यवस्थापन गर्ने गरेका छौं । सरल भाषामा भन्दा, हामी पुँजी भएका (लगानीकर्ता) र पुँजी चाहिने (उद्योग/व्यवसाय) बीच पुलको काम गर्छौ ।’

पौडेल थप्छन्, ‘हाम्रो काम लगानी ल्याउने र राम्रो कम्पनी छानेर त्यसलाई परिचालन गर्ने हो । हाम्रो आफ्नै आन्तरिक टिम छ, जसले यी सबै प्रक्रियाको व्यवस्थापन गर्छ ।’

आध्यान्तको लगानीको दायरा फराकिलो छ, जसले नेपालको आर्थिक विकासका विभिन्न आयामहरूलाई समेट्छ । यस कम्पनीको मुल लक्ष्य नेपालमा ठूला उद्योगहरुको स्थापना र विकासमा सहयोगी भूमिका खेल्नु हो । जसले रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसका लागि ३ अर्ब रुपैयाँको नेपाल अपरच्युनिटी फन्डजस्ता कोष खडा गरिएको छ । यस कोषको ४० प्रतिशत हिस्सा ऊर्जा क्षेत्र (जलविद्युत, सौर्य ऊर्जा) मा लगानीका लागि छुट्याइएको छ ।

‘ऊर्जा नेपालको विकासको मेरुदण्ड हो, र यस क्षेत्रमा गरिने लगानीले देशको औद्योगिक विकास र ऊर्जा सुरक्षामा दूरगामी प्रभाव पार्छ । त्यस्तै हामीले कृषि, पर्यटन, उत्पादन, र सूचना प्रविधिलगायत क्षेत्रमा पनि लगानी गरिरहेका छौं,’ पौडेलले भने ।

नेपाली अर्थतन्त्रको ठूलो हिस्सा साना तथा मझौला उद्यमले ओगटेको छ । त्यसलाई मध्यनजर गर्दै यस कम्पनीले भेन्चर क्यापिटल पनि सञ्चालनमा ल्याएको छ । जसमार्फत दीर्घकालीन सम्भावना बोकेका स्टार्टअप तथा मझौला उद्योगमा पनि आध्यान्तले लगानी गर्छ । त्यस्तै समस्यामा परेका उद्योगहरुलाई पनि पुँजी परिचालन गरेर सहयोग गर्छ ।

पौडेल भन्छन्, ‘उदाहरणका लागि कुनै कम्पनीका संस्थापक बित्नुभयो र उहाँका छोरासँग बिजनेशको आइडिया छैन भने व्यवस्थापन साझेदारका रुपमा पनि हामी भित्र्न सक्छौं । वा, कुनै स्टार्टअपसँग आइडिया छ, तर पैसा र आवश्यक ज्ञान छैन भने पनि हामीले उसलाई तालिम दिएर लगानीका लागि योग्य बनाउनसक्छौं ।’

आध्यान्तले महिला समृद्धि फन्ड पनि सञ्चालन गरेको छ, जसले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्छ । ‘हामीले समाजमा समावेशीकरणका कुरा गरिरहदाँ अर्थतन्त्र पनि लोकतान्त्रिक र समावेशी हुनुपर्छ । तसर्थ, हामीले सबैलाई अवसर प्रदान गर्नका लागि यस्ता विशिष्ट कोषहरु पनि खडा गरेका छौं । जस्तो, समृद्धि फन्डले महिला उद्यमीहरुलाई सहयोग गर्ने लक्ष्य राख्छ,’ पौडेलले भने ।

समग्र इकोसिस्टम निर्माण
आध्यान्तको भूमिका केवल कोष व्यवस्थापन र लगानीमा सिमित छैन । यस कम्पनीले समग्र उद्यमशील इकोसिस्टम निर्माणमा योगदान गरेर लगानीका लागि उपयुक्त वातावरण तयार गरिरहेको छ । ‘सबै कम्पनी लगानीका लागि योग्य हुन्छन् भन्ने हुँदैन ।

लगानीका लागि तालिम आवश्यक पर्छ । समय लाग्न सक्छ । हामी त्यस्तो वातावरण सिर्जना गर्ने र तालिम उपलब्ध गराउने काम गर्छाै । र , कम्पनी योग्य भइसकेपछि आवश्यकता हेरेर त्यसमा लगानी पनि गर्नसक्छौं ,’ पौडेल भन्छन्, ‘यसक्रममा हामीले कम्पनीको लेखापरीक्षणको अवस्था, संस्थागत सुशासन, बजारमा प्रतिस्पर्धा गर्दा उसले सही च्यानल प्रयोग गरेको छ कि छैन, उसको उत्पादन वा सेवा सही मूल्यमा उपभोक्तासम्म पुग्न सकेको छ कि छैन, जस्ता अनेकौं पक्षहरू हेर्नुपर्छ । जुन पक्षमा कम्पनी कमजोर छ, त्यसलाई सुदृढ बनाउनका लागि सहयोग गर्छौ ।’

विकास साझोदारहरुसँग सहकार्य
आध्यान्तले विभिन्न विकास साझेदारहरुसँग मिलेर स्टार्ट अप तथा मझौला कम्पनीहरुलाई पाइलटिङ तथा मार्गदर्शन प्रदान गर्दै आएको छ । भर्खरै मात्र डिटिजल नवप्रवर्तनमा आधारित कार्यक्रम ‘डायल एक्सिलेटर’ सञ्चालन गरेको छ । यस कार्यक्रममा दैलो कृषि, आर एन्ड डी सोलुशन्स, एग्रिबाटो, डा. फिस, पिक एन्ड ड्रप, थोप्लो मेशिन र प्लान्ट स्याटगरी कृषि तथा लजिस्टिक क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सहजता र पारदर्शीता ल्याउने लक्ष्य राखेका ७ कम्पनीहरुलाई मेन्टरसिप तथा तालिम प्रदान गरिएको छ ।

यस अवधिमा कम्पनीहरुलाई बजारमा जाने रणनीति, प्रयोगकमर्ताले मन पराउने उत्पादन कसरी बनाउने ? व्यवसाय मोडल क्यानभास र लिन मोडल क्यानभास, बजारमा उत्पादन कसरी चिनाउने, कम्पनी ठूलो बनाउन वित्तिय स्रोत कसरी खोज्ने, वातावरणीय प्रभाव र समावेशी विकासका लागि कस्ता कार्यक्रम तयार गर्ने ? लगायत विभिन्न शीर्षकमा तालिम तथा मेन्टरसीप प्रदान गरिएको थियो । त्यहीक्रममा ३२ घण्टे ह्याकाथन पनि आयोजना गरियो । जहाँ कम्पनीहरुले आफ्नो उत्पादनको प्रोटोटाइप विकास गरेर प्रदर्शनी समेत गरेका छन् ।

पौडेल भन्छन्, ‘यी कार्यक्रमहरूले विशेषगरी कृषि र प्रविधि क्षेत्रका उद्यमीहरूलाई आफ्नो उत्पादन परिष्कृत गर्न, बजार पहुँच बढाउन, र लगानीका लागि तयार हुन मद्दत गर्छन् ।’

यसअघि कम्पनीले ‘सहज’ परियोजनासँगको साझेदारीमा कोशी प्रदेशमा दुईपटक एक्सिलेटर कार्यक्रम सञ्चालन गरेको थियो । कोशी कोहर्ट १ मा सहभागी १० वटा उद्यममध्ये ८ जना उद्यम लगानीका लागि तयार भएका थिए । ८ महिनासम्म चलेको यस कार्यक्रममा सहभागी कम्पनीहरुलाई व्यवसाय विकास, वित्तिय व्यवस्थापन, मानव संसाधन, कानुन पालनालगायत विषयमा सहयोग र तालिम प्रदान गरेर ‘डेमो डे’ मा लगानीकर्तासमक्ष प्रस्तुत गरिएको थियो ।

कम्पनीहरुको प्रस्तुती नियालेर विभिन्न लगानीकर्ताबाट झन्डै २० करोड बराबरको लगानी रुची यस कार्यक्रममा आएको थियो । आध्यान्तको लगानीप्राप्त अनलाईन प्लेटफर्म ‘खेती’ ले यही कार्यक्रमका दौरान विराट ग्रुप अफ कम्पनीसँग सम्झौता गरेर प्रति किसानलाई २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । विराट फिडले माछापालक किसानलाई आहारा उपलब्ध गराउने काम गरिरहेको छ । ‘खेती’ ले माछापालक किसानलाई ऋण उपलब्ध गराउने र उक्त ऋणमार्फत किसानले विराट फिडबाट आहारा किन्नेगरी सम्झौता भएको थियो ।

त्यसैगरी कोशी— कोहर्ट २ अन्तर्गत ६ महिनाको कार्यक्रम सहभागी भएको थियो । जसमा, १८ वटा कम्पनी सहभागी थिए । यसमा ‘खेती’ र ‘जयपति कृषि फार्म’ बीच डेरी क्षेत्रमा सम्झौता भएको थियो । जसअनुसार कामधेनु सहकारीमा आबद्ध किसानले ‘खेती’ बाट ऋण लिएर ‘जयपति कृषि फार्म’ बाट बाच्छा किन्ने र उत्पादित दूध सहकारीलाई बेच्ने मोडेल विकास गरिएको थियो । १८ वैशाखमा कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनका दौरान ‘सहज कार्यक्रम’ अन्तर्गत तालिम लिएका तीनवटा कम्पनीले १ अर्ब २० करोडभन्दा बढी रकमको प्रतिवद्धता कोशी प्रदेश सरकारबाट प्राप्त गरेका थिए ।

लगानीको रुची (लेटर अफ इन्ट्रेस्ट) प्राप्त गरेका थिए । जसमध्ये हाई हिमालयन अर्गानिकले ८० लाख रुपैयाँ, टर्मो एग्रो हर्बोले १ करोड १९ लाख रुपैयाँ र ग्रीनयार्ड एग्रो प्राप्त गरेका थिए ।

‘हाम्रो आन्तरिक टिमले ज्ञान हस्तान्तरण र क्षमता अभिवृद्धिमा पनि ध्यान दिने गरेको छ । हामीले लगानी गरेका कम्पनीहरुले पनि सिक्छन् । उनीहरुको विकासबाट हामीले पनि सिक्छौं,’ पौडेल भन्छन्, ‘हाम्रो लक्ष्य पुँजी प्रवाह मात्रै नभएर व्यापारको समग्र इकोसिस्टम तयार गर्ने हो । जहाँ एकले अर्कालाई सहयोग गर्न सकोस् । यस्तो आपसी सहकार्यले मात्रै देशको उद्योगधन्दा वृद्धि हुन्छ ।’ कम्पनीले युएसएडसँग मिलेर सञ्चालन गरेको ‘रुफ अफ द वल्र्ड’ कार्यक्रममा अहिलेसम्म १ सय ५० उद्यमी सहभागी छन् । त्यस्तै ४० करोड बराबरको लगानी संकलन भएको छ ।

नीतिगत चुनौती र आध्यान्तको पहल
नेपालमा उद्योगधन्दाहरु फस्टाउने वातावरण नहुदाँ यहाँबाट ठूलो संख्यामा युवा जनशक्ति रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्यामध्ये १६ देखि ४० वर्ष उमेर समुहका युवाको संख्या ४२.५६ प्रतिशत छ । तर, यति ठूलो जनशक्तिबाट देशले उठाउनुपर्ने अपेक्षित जनसांख्यिक लाभ उठाउन सकेको छैन ।

उद्योगधन्दा फस्टाउन सकेमात्रै देशमा रोजगारीको वातावरण सिर्जना हुनसक्छ । तर, यसका लागि सरकारले केही झन्झटिला प्रावधान हटाउनुपर्ने निजी क्षेत्रका व्यवसायीहरुको माग छ । सरकारले लगाउने दोहोरो कर यसैमध्येको एक हो ।

‘सरकारले प्राइभेट इक्विटीको अवधारणा नबुझ्दा हामी समस्यामा परेका छौं । हामीले कोषमा रकम ल्याउँदा पनि कर तिर्नुपर्छ र लगानी गरेको कम्पनीले नाफा कमाएपछि त्यसबापत् पनि कर तिर्नुपर्छ । अन्यत्र म्यचुअल फन्डमा दोहोरो कर छैन, हाम्रोमा पनि यो हट्नुपर्छ । यस्तो हुँदा कम्पनीहरुको संख्या बढेर एक अर्बको बजार ५ अर्बको पुग्यो भने सरकारलाई नै बढी राजश्व आउँछ । त्यहीकारण व्यवसायलाई निरुत्साहित होइन, प्रोत्साहन गर्नुपर्छ ,’ पौडेलले भने ।

साना तथा मझौला उद्योगहरुमा लगानी गर्ने ठूला कम्पनीहरुलई पनि प्रोत्साहनस्वरुप कर छुटको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । ‘यस्तो हुँदा ठूला कम्पनीले पनि साना व्यवसायमा लगानी बढाउनेछन् र साना उद्यमीहरुलाई लगानी भित्र्याउन सहज हुनेछ,’ पौडेलले भने, ‘सरकारले भर्खरै अध्यादेशमार्फत प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा विदेशी लगानी गर्न पाउने व्यवस्था गर्‍यो, यो अत्यन्तै सकारात्मक छ । तर, यसपछिको काममा नेपाल राष्ट्र बैंक जस्ता नियामक निकायहरू तात्नुपर्‍यो । प्रक्रियागत ढिलासुस्ती हुनुभएन ।’

देशमा ठूला उद्योगहरुको स्थापना, ठूला ब्रान्डहरुको निर्माण, रोजगारीमा वृद्धि, नवप्रवर्तनमा साथ—सहयोग, दिगो विकासलगायत विषयलाई ख्याल गरेर आध्यान्तले आफ्ना गतिविधि अघि बढाइरहेको छ ।