
काठमाडौं । नेपाल सरकारको उद्योग सञ्चालन गर्ने सार्वजनिक संस्था घाटामा जाँदा व्यापार गर्ने सार्वजनिक संस्थान भने नाफामा देखिएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा पेश गरेको सार्वजनिक संस्थानहरुको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्थिति समीक्षा प्रतिवेदनले उद्योग सञ्चालन गरेका १० मध्ये ९ वटा संस्थान घाटामा रहेको देखिएको छ । यस्तै वित्तीय क्षेत्रका १० मध्ये १० संस्थान र व्यापार क्षेत्रका ४ वटै संस्थान नाफामा छन् ।
आर्थिक वर्ष २०८०/८१ सम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ७ खर्ब ४ अर्ब पुगेको छ । जसमध्ये सेयर लगानी करिब ३ खर्ब ६५ अर्ब र ३ खर्ब ३९ अर्ब रुपैयाँ ऋण लगानी रहेको छ । ४५ मध्ये २० संस्थानमा सरकारका पूर्ण स्वामित्व र २५ संस्थानमा आंशिक स्वामित्व रहेको छ ।
गत आर्थिक वर्षमा संस्थानहरुको कुल आय ६ खर्ब ६० अर्ब रुपैयाँ पुग्दा २८ सार्वजनिक संस्थान नाफामा र १५ संस्थान घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको अघिल्लो वर्षको तुलनामा संस्थानहरुको नाफा १२.८८ प्रतिशतले घटेर ४२ अर्ब ६२ करोड रहेको छ । संस्थानहरुको कुल सञ्चित नाफा ९२ अर्ब ७२ करोड रुपैयाँ पुग्दा सरकारले गत आबमा ८ अर्ब ८४ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ । अघिल्लो आब २०७९/८० मा १३ अर्ब ७६ करोड लाभांश प्राप्त भएको थियो ।
घाटामा रहेका १५ संस्थान मध्ये ९ संस्थान उद्योग सञ्चालन गरेकाहरु छन् । औद्योगिक क्षेत्रका १० सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्षमा ९ वटा संस्थान घाटामा छन् । जनकपुर चुरोट कारखानाको नाफा भने २२ लाख रुपैयाँ छ ।

औद्योगिक क्षेत्रका संस्थानको सेयर धनी कोष आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ८० करोड ९ लाख ऋणात्मक रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ३४.५४ प्रतिशतले कमी आई ३ अर्ब ७९ करोड ७२ लाख ऋणात्मक रहेको छ । नेपाल औषधी लिमिटेडको सम्पत्तिको पुनःमूल्यांकनका कारण सेयरधनी कोष १६०.४७ प्रतिशतले सुधार भएकोले प्रतिवेदनमा उल्लेख छ ।
व्यापार क्षेत्रका भने ४ वटै संस्थान नाफामा छन् । नेपाल आयल निगमले मात्रै ९ अर्ब ५५ करोड नाफा कमाउँदा कृषि सामग्री कम्पनी लिमिटेडको नाफा २७ करोड रुपैयाँ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नाफा ५ करोड हुँदा नेपाल वन निगमको नाफा २ करोड छ ।

सेवा क्षेत्रका ९ मध्ये ७ संस्थान नाफामा
सेवा क्षेत्रका ९ मध्ये ७ वटा संस्थान नाफामा रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल वायुसेवा निगमको घाटा गत आर्थिक वर्षका १ अर्ब ४ करोड ७९ लाख हुँदा सञ्चित घाटा १६ अर्ब ६८ करोड पुगेको छ । त्यस्तै नेपाल रेलवे कम्पनीको घाटा गत आर्थिक वर्षमा २० करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षका सेवा क्षेत्रका कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाउँदा सञ्चित नाफा ६ अर्ब ५३ करोड पुगेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले ३ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाउँदा सञ्चित नाफा २१ अर्ब २ करोड पुगेको छ ।
सामाजिक क्षेत्रका ३ संस्थान घाटामा
सामाजिक क्षेत्रका ५ मध्ये २ संस्थान मात्रै नाफामा छन् । गोरखापत्र संस्थानको नाफा गत आवमा १२ करोड रुपैयाँ र राष्ट्रिय आवास कम्पनीको नाफा करिब ५२ लाख रुपैयाँ छ । गोरखापत्र संस्थानको सञ्चित नाफा करिब २० करोड पुगेको छ ।

सांस्कृतिक संस्थानको घाटा १ करोड हुँदा जनक शिक्षा सामग्री केन्द्रको घाटा २६ करोड ५९ लाख र सार्वजनिक सेवा प्रसारण संघको घाटा करिब २६ करोड छ । सामाजिक क्षेत्रका संस्थानको गत आवको घाटा ४१ करोड पुग्दा सञ्चित घाटा करिब ३ अर्ब ७२ करोड पुगेको छ । सार्वजनिक सेवा प्रसारण संघको मात्रै संचित घाटा २ अर्ब ४७ करोड पुगेको हो ।
जनउपयोगि क्षेत्रका ४ संस्थान नाफामा
जनउपयोगि क्षेत्रका ५ मध्ये ४ संस्थान नाफामा छन् । नेपाल खानेपानी संस्थान करिब ४१ करोड घाटामा छ । नेपाल विद्युत प्राधिकरणको नाफा करिब १० अर्ब ५३ करोड पुगेको छ । त्यस्तै नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) को नाफा ६ अर्ब २३ करोड हुँदा विद्युत उत्पादन कम्पनीको नाफा करिब ६ करोड र राष्ट्रिय प्रशारण ग्रिडको नाफा पनि ६ करोड रुपैयाँ नै छ ।

यस क्षेत्रका कम्पनीको गत आवको नाफा करिब १६ अर्ब ४७ करोड पुग्दा सञ्चित नाफा ९४ अर्ब ७१ करोड पुगेको छ । नेपाल दुरसञचाल कम्पनीको सञ्चित नाफा ४८ अर्ब र नेपाल विद्युत प्राधिकरण्को सञ्चित नाफा ४६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
वित्तीय क्षेत्रका १० वटै संस्थान नाफामा
वित्तीय क्षेत्रका १० संस्थानको आय ३.२७ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८२ का अनुसार आर्थिक वर्ष २०८०/८१ मा वित्तीय क्षेत्रका १० संस्थानको आय ३.२७ प्रतिशतले बढेको हो ।
यस क्षेत्रका १० संस्थानको कुल सञ्चालन आय गत समीक्षा अवधिमा ८७ अर्ब ७९ करोड २६ लाख रहेकोमा यस समीक्षा अवधिमा ३.२७ प्रतिशतले वृद्धि भई ९० अर्ब ६६ करोड ६१ लाख पुगेको हो ।
उक्त आयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सबैभन्दा बढी योगदान (२९ अर्ब ७४ करोड २६ रुपैयाँ) रहेको छ ।
तिवेदनअनुसार वित्तीय क्षेत्रका संस्थानको आर्थिक वर्ष २०७९/८० मा कुल प्रशासनिक खर्च १५ अर्ब ५५ करोड ३८ लाख रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ३.७४ प्रतिशतले वृद्धि भई १६ अर्ब १३ करोड ५५ लाख कायम भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा वित्तीय क्षेत्रका संस्थानको खुद नाफा १९ अर्ब ३९ करोड ६४ लाख रहेकोमा समीक्षा अवधिमा २१.८० प्रतिशतले कमी भई रू.१५ अर्ब १६ करोड ८६ लाख कायम भएको छ ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडको खुद नाफामा कमी आएकोले यस क्षेत्रको समग्र खुद नाफामा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको कुल सञ्चित नाफा १२ अर्ब ४७ करोड ४५ लाख रहेकोमा आव २०८०/८१ मा १२.७५ प्रतिशतले कमी आई १० अर्ब ८८ करोड ३६ लाख कायम भएको देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल बैंक लिमिटेड र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको सञ्चित नाफामा आएको कमीले गर्दा यस क्षेत्रको समग्र सञ्चित नाफा घटेको छ ।
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी संख्या आर्थिक वर्ष २०८०/८१ मा १४.९६ प्रतिशतले वृद्धि भई १० हजार ८ सय २९ जना पुगेको पाइएको छ। यस अवधिमा सञ्चालन आयमा प्रति कर्मचारी योगदान ९.५२ प्रतिशतले घटेर ८३ लाख ७२ हजारमा सीमित भएको छ ।
प्रस्तुत तथ्यांकले कर्मचारी उत्पादकत्वमा ह्रास आएको देखिएको छ भने यस क्षेत्रको औसत ऋण पुँजी अनुपात ०.२५ रहेको छ । यस क्षेत्रको समग्र सेयर धनी कोष अघिल्लो वर्षको तुलनामा ५.४६ प्रतिशतले वृद्धि भई रु. २ खर्ब १४ अर्ब २३ करोड २२ लाख पुगेकोले यस क्षेत्रको पुँजीगत आधार सुदृढ देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानले नेपाल सरकारलाई भुक्तानी गर्न बाँकी ऋण रकम सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अभिलेख अनुसार, अघिल्लो वर्षको तुलनामा २२४ प्रतिशतले वृद्धि भई २८ करोड ८९ लाख पुगेको छ ।
यसका साथै, समीक्षा अवधिको अन्त्यसम्ममा यस क्षेत्रमा नेपाल सरकारको कुल सेयर लगानी पनि ३.०४ प्रतिशतले वृद्धि हुँदै रु.५९ अर्ब ५ करोड १३ लाख पुगेको छ, जसले यस क्षेत्रमा सरकारी ऋण दायित्वमा उच्च वृद्धि र सेयर लगानीमा सामान्य वृद्धि भएको स्थिति दर्शाउँछ ।
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानको वित्तीय स्थितिको विवरण तालिका १७ मा प्रस्तुत गरिएको छ ।
समीक्षा अवधिमा यस क्षेत्रका संस्थानमध्ये राष्ट्रिय वाणिज्य वैंकबाट ८५ करोड ९८ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडबाट रू.६५ करोड ६५ लाख, नेपाल स्टक एक्स्चेन्ज लिमिटेडबाट रू. ३७ करोड ५४ लाख र नागरिक लगानी कोषबाट रू.१ करोड ३८ लाख गरी नेपाल सरकारलाई जम्मा १ अर्व ९० करोड ५७ लाख लाभांश प्राप्त भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको तथा सम्भावित दायित्व अघिल्लो वर्षको तुलनामा १८.८५ प्रतिशतले वृद्धि भई रु.२० खर्ब ४४ अर्ब ६८ करोड ६ लाख पुगेको छ। प्रस्तुत दायित्वमध्ये निक्षेप तथा कर्जा सुरक्षण कोषको हिस्सा ८०.९३ प्रतिशत (१६ खर्ब ५४ अर्ब ९२ करोड १४ लाख) रहेको छ ।
निक्षेप तथा कर्जा सुरक्षणको दायरा विस्तार भएको र सो वापतको सम्पूर्ण दायित्वलाई सम्भावित दायित्व अन्तर्गत गणना गरिएको कारण समग्र दायित्वमा वृद्धि भएको देखिन्छ ।
प्रतिक्रिया