
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थाहरुमध्ये पाँच संस्थान उच्च नोक्सानीमा पुगेको बताएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा सार्वजनिक गर्दै बिहिबार यस्तो जानकारी दिएका हुन् ।
सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा व्यवसायिक कारोबार सञ्चालन गरेका संस्थानमध्ये पाँच सार्वजनिक संस्थानहरु नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल उच्च नोक्सानीमा पुगेका छन् ।

यस्ता संस्थानको कूल नोक्सानको हिस्सा कूल नोक्सानको ६३.६३ प्रतिशत रहेको पाइएको छ ।
नेपाल वायु सेवा निगम १६ अर्ब ६८ करोड ७ लाख रुपैयाँबराबरको सञ्चित नाफा नोक्सानीमा पुगेको छ । यस्तै नेपाल खानेपानी संस्थान १ अर्ब ११ करोड १४ लाख, हेटौंडा सिमेन्ट उद्योग १ अर्ब ५० करोड ६४ लाख, जनक शिक्षा सामग्री केन्द्र १ अर्ब १५ करोड ९६ लाख र सार्वजनिक सेवा प्रसारण २ अर्ब ४७ करोड ४ लाख रुपैयाँबराबरको सञ्चित नाफा नोक्सानी व्यहोरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक खुद नोक्सान व्यहोर्ने नेपाल वायुसेवा निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरुको न्यून उपयोग र व्यवसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर रुपमा खस्किँदै गएको छ । खानेपानी संस्थान, हेटौंडा सिमेन्ट र सार्वजनिक सेवा प्रशारण नेपाल निरन्तर रुपमा खुद नोक्सानीमा छन् ।
प्रतिक्रिया