इँटाभट्टामा जिउँदै जलाएको आरोपित अफताब आलमले पाए सफाइ

उच्चले उल्ट्यायो जिल्ला अदालतको आदेश

329
Shares

काठमाडौं । बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको पूर्वसांसद मोहम्मद अफताब आलमले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याएको हो ।

न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टी गर्ने आदेश दिएको हो । नेपाली कांग्रेसको पूर्वसांसद समेत रहेका आलमले काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएर घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

२०६४ को संविधान सभाको निर्वाचनको अघिल्लो राति बम विस्फोटमा घाइते भएकाहरुलाई रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर हत्या गरेको आरोपमा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गरेको थियो । घटनाको १२ वर्षपछि आलमलाई १९ असोज २०७६ मा पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले भने उनलाई सफाइ दिएको छ ।

आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोपमा उनी जिल्ला अदालतबाट दोषी ठहर भएका थिए ।