
विराटनगर। नेपाल विद्युत् प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानीलाई आधार मान्दै हालै आफ्ना सर्वाधिक महत्वपूर्ण ‘टप टेन’ (शीर्ष दश) उपभोक्ताको नामावली सार्वजनिक गरेको छ।
उसका टप टेन विद्युत् उपभोक्ताको सूचीमा सर्वोत्तम स्टिल लिमिटेड, गोयल इस्पात प्रालि, प्रिमियर स्टिल प्रालि, होङसी शिवम् सिमेन्ट प्रालि, स्वस्तिक रोलिङ मिल्स, विजयश्री स्टिल्स लिमिटेड, आरती स्ट्रिप्स प्रालि, श्री स्टिल्स प्रालि, हुलास वायर इन्डस्ट्रिज लिमिटेड र जगदम्बा वायर्स प्रालि रहेका छन् ।
प्राधिकरणका टप टेन उपभोक्ताको सूची हेर्दा फलाम उद्योगको संख्या ९ वटा छ। तर तिनै फलाम उद्योगलाई प्राधिकरणले आवश्यकता अनुसार विद्युत् उपलब्ध नगराउँदा क्षमता अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । ती उद्योगलाई प्राधिकरणले रातिको पिक आवरमा नियमित रूपमा विद्युत् आपूर्ति कटौती गर्दै आएको छ ।
प्राधिकरणले खास गरी रातिको समयमा फलाम उद्योगलाई आवश्यकता अनुसार विद्युत् आपूर्ति नगराउँदा प्रायः सबै उद्योगले उत्पादन नै कटौती गरिरहेका छन् । तर प्राधिकरणले रातिको समयमा भारतलाई अहिले पनि प्रतियुनिट भारु ४ रुपैयाँमा विद्युत् बिक्री गरिरहेको प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको भनाइलाई सम्बद्ध उद्योगीले अनौठो मानेका छन् ।
प्राधिकरणले स्थानीय उद्योगलाई नियमित महसुलबाहेक चर्को मिडम्यान्ड शुल्क लिन्छ। भारतलाई प्रतियुनिट भारु ४ रुपैयाँमा प्राधिकरणले विद्युत् बिक्री गरिरहेको छ । सम्बद्ध उद्योगीले भने स्थानीय उद्योगसँग प्राधिकरणले सरदर प्रति युनिट डिमान्ड शुल्कबाहेक सरदर साढे ८ रुपैयाँ लिँदै आएको छ ।
‘प्राधिकरणले फलाम उद्योगलाई टप टेन ग्राहकको सूचीमा मात्र राख्ने होइन,’ एक उद्योगीले भने, ‘सूचीमै राखेपछि आवश्यकता अनुसार नियमित विद्युत् आपूर्ति गर्न सक्नुपर्छ । उनीहरूले भारतलाई राति बिक्री गर्ने विद्युत् स्वदेशी उद्योगलाई रातिकै समयमा उपलब्ध गराएर चौबीसै घण्टा उद्योग चल्ने वातावरण सृजना गर्नुपर्छ, अनि मात्र फलाम उद्योगलाई आफ्ना टप टेन उपभोक्ताको सूचीमा राखेको अर्थ रहन्छ ।’
सम्बद्ध उद्योगीहरूले जेठ १५ मा सार्वजनिक हुने आगामी वर्षको बजेटमै स्वदेशी उद्योगलाई आवश्यकता अनुसार चौबीसै घण्टा विद्युत् उपलब्ध गराएर उव्रिएको विद्युत् मात्र बिक्री गर्ने व्यवस्था गर्ने माग गरेका छन् । उनीहरूको एक स्वर छ, ‘स्वदेशी उद्योगको विद्युत् आपूर्ति कटौती गरेर निर्यात गर्नुको औचित्य रहँदैन ।’
प्राधिकरणले स्थानीय उद्योगलाई रातिको समयमा विद्युत् आपूर्ति नगराउँदा उद्योगले क्षमताको आधा मात्र उत्पादन गर्दै आएका छन् । तर प्राधिकरण चाहिँ रातिको समयमा भारतलाई विद्युत् बिक्री गरेर आत्मसन्तुष्टिमा रमाएको उद्योगीको आरोप छ । एक उद्योगीले भने, ‘प्राधिकरणको यो प्रवृत्तिलाई नियाल्ने हो भने स्वदेशी उद्योगमैत्री देखिँदैन ।’
हाल मुलुकमा साना ठूला गरेर तीन दर्जन फलाम उद्योग सञ्चालनमा छन् । ती उद्योगको उत्पादन क्षमताका आधारमा प्रति उद्योग २५ देखि ४० मेगावाट विद्युत् आवश्यकता पर्छ। एक उद्योगीले क्लिकमान्डुसँग भने, ‘उद्योगलाई क्षमता अनुसार चलाउन विद्युत् कहिल्यै आपूर्ति हुँदैन, र हरेक रात पिक आवरमा ४–५ घण्टा आपूर्ति नै ठप्प हुँदै आएको छ।’
प्रायः दिनहुँ राति ९ बजेपछि फलाम उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदै आएको छ। तर प्राधिकरण त्यसै बेला भारतलाई विद्युत् बिक्री गर्दै आएको छ। ती उद्योगीले भने, ‘रातिको पिक आवरमा झन्डै ४–५ घण्टा विद्युत् आपूर्ति बन्द हुँदा रातिको उत्पादन सेड्युल नै बन्द हुँदा उद्योग मजदुर कटौती गर्न बाध्य छन् । भारतलाई विद्युत् बिक्री नगरी स्थानीय उद्योगलाई त्यही विद्युत् उपलब्ध गराउने हो भने उद्योग पूर्ण क्षमतामा चल्छ र मजदुर कटौती हुँदैन ।”
प्रतिक्रिया