
काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट आएको आदेशपछि उनकी पत्नी निकिता पौडेलले धारणा सार्वजनिक गरेकी छन् । आदेश आउने दिनको अदालत यात्रा, आदेश नपाएर भोगेको पीडा र न्यायप्रणालीप्रति गहिरिँदै गएको असन्तोष-उनको स्टाटसमा तीव्र भावनात्मक अभिव्यक्ति देखिएको छ ।
‘न्याय मर्दा गणतन्त्र पनि रोएको छ’ भन्ने आशयमा लेखिएको स्टाटसमा उनले अदालतको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएकी छन् । उनले भनेकी छन्, ‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो, नियत राखेर थुनियो ।’
शुक्रबारको दिनलाई उनले ‘जिन्दगीकै अत्यन्तै कठिन दिन’ भनेकी छन् । अदालतबाट आधिकारिक आदेश सुन्ने आशामा बसेको सात घण्टा, आदेश सुनाउने प्रवक्ताको गायब हुने शैली र अन्ततः बाहिरबाट नकरात्मक समाचार सुन्नु परेकाले आफू पूर्णतया ध्वस्त भएको उनले लेखेकी छन् ।
‘अदालतले न्याय त दिएन-नदिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश!’ उनले लेखेकी छन् ।
शनिबार भैरहवा पुगेको प्रसंग उल्लेख गर्दै उनले आफू जिउँदो लाशजस्तै भएर हिंडेको र श्रीमानसँग भेट भएपछि मात्रै होस खुलेको उल्लेख गरेकी छन् ।
निकिताको प्रश्न छ, ‘अब, न्याय माग्न म कहाँ जाऊँ?’ उनले आफ्नो विश्वास र आस्थाको जग हल्लिएको बताउँदै लेखेकी छन् ‘थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!’
निकिताले के लेखिन् ?
जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले । अन्याय हुँदैन भन्ने लागिरह्यो ।
हाम्रो तर्फबाट बहस राम्रो भयो । बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ । बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें । न्यायप्रतिको विश्वास झनै बढ्यो ।
करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे । केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए । आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।
‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए ।
‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता । बाहिर निस्किँदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु । म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।
शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन ।
भोलिपल्ट (शनिवार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला । कसरी उहाँको अगाडि पुगें, थाहा छैन । सायद जिउँदो लाश भएर हिँडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किए ।
केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ?
गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ । थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !








प्रतिक्रिया