
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सगरमाथा क्षेत्रमा पर्यटकको खानामा विषाक्त वस्तु मिसाएर फेक रेस्क्यु गरिएको भनी सार्वजनिक भएका समाचारहरूको खण्डन गरेको छ।
ब्यूरोले एक विज्ञप्ति जारी गर्दै केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवं सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएका त्यस्ता समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पथप्रदर्शक (गाइड) हरूले पर्यटकको खानामा विषाक्त वस्तु मिसावट गरी बिरामी बनाएर नक्कली उद्धार (फेक रेस्क्यु) गरेको भनी आएका दाबीहरूमा कुनै सत्यता नभएको सीआईबीको ठहर छ।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हालसम्मको अनुसन्धानको क्रममा विषाक्त चिजवस्तु मिसावट गरिएको भन्ने तथ्य नदेखिएको र सोही अप्रमाणित विषयवस्तु उद्धृत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यम एवं फेसबुक पेजसमेतमा अत्यन्त भ्रामक र तथ्यहीन समाचार प्रकाशन हुनु खेदजनक छ।
सीआईबीले यस्ता आधारहीन र अप्रमाणित विषयवस्तुलाई समाचार बनाएर प्रकाशन गर्नु गैरकानूनी कार्य भएको स्पष्ट पारेको छ। ब्यूरोले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने गरी यस्ता भ्रामक समाचार सम्प्रेषण नगर्न र नगराउन समेत अनुरोध गरेको छ।
केही समयअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सगरमाथा क्षेत्रमा बीमा रकम ठगी गर्ने उद्देश्यले पर्यटकलाई जानाजानी बिरामी बनाउने गरिएको भन्दै समाचार प्रकाशित गरेका थिए। सोही विषयलाई लिएर ब्यूरोले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।








प्रतिक्रिया