स्किल आइकनको छनोट गर्दै सकियो कोशी सीप उत्सव

140
Shares

विराटनगर । कोशी प्रदेशमा सीप विकास, उद्योग र रोजगारबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजनामा र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन भएको सीप उत्सव २०८२ कोशी प्रदेश स्किल आइकनको छनोट गर्दै सम्पन्न भएको छ।

उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादनका साथै रोजगारदाता र रोजगारी खोजीमा रहेका युवाबीच संवाद र समन्वयको प्रयास गरिएको यस उत्सवमा अटोमोबाइल्स, सूचना प्रविधि र होटल म्यानेजमेन्ट गरी ३ विधामा सीप प्रतिस्पर्धा गराइएको थियो।

प्रतिस्पर्धामा मनमोहन स्मृति पोलिटेक्निक, हातिमुडा मोरङका चन्द्रदेव यादव अटोमोबाइल विधामा, नरबहादुर कर्माचार्य बहुप्राविधिक विद्यालय, ईटहरी सुनसरीका विवश कोइराला होटल म्यानेजमेन्ट विधामा र पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान, दमक झापाकी सोनम नेम्बाङ सूचना प्रविधि विधामा विजेता भई कोशी प्रदेश स्किल आइकन बन्न सफल भए।

उत्सवको क्रममा पूर्व बाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा ६ सयभन्दा बढी युवालाई प्रत्यक्ष तालिमको अनुभव गराई प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी, उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा १२ सयभन्दा बढी विद्यार्थी तथा युवालाई विभिन्न सत्रहरूको माध्यमबाट प्रेरणा, वृत्ति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन प्रदान गरिएको थियो।

समापन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्राविधिक जनशक्तिको परनिर्भरता कम गर्न तथा स्वदेशमै दक्ष जनशक्ति उत्पादनको प्रचुर सम्भावना रहेको सन्देश दिन सीप उत्सव सफल भएको बताए। उनले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको चासो र चिन्ता रहेको व्यक्त गर्दै, संगठनको अग्रसरतामा आयोजित सीप उत्सवले दक्षता र अनुभव साटासाटको वातावरण तयार पारेर प्रशिक्षार्थी, विद्यालय र उद्योगबीचको सहकार्यलाई थप प्रगाढ बनाएको धारणा व्यक्त गरे।

इन्स्योर हेल्भेटासका टिम लिडर रविन्द्र बहादुर सिंहले प्राविधिक शिक्षा, सीप तालिम तथा डुअल भेट अप्रेन्टिसिप कार्यक्रमप्रति आकर्षण बढाई रोजगारीका अवसरहरू पहिचान र प्रवर्द्धन गर्न आगामी दिनमा इन्स्योर हेल्भेटासले अन्य प्रदेशहरूमा पनि सीप उत्सव आयोजना गरी केन्द्रिय स्तरमा अन्तिम प्रतिस्पर्धा गराई स्किल आइकन छनोट गर्ने जानकारी दिए।