
काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार २६ प्रतिशतले घटेको छ । ग्रुपको व्यापारको तथ्यांक हेर्दा सन् २०२३ को तुलनामा सन् २०२४ मा २६ प्रतिशतले घटेको हो ।
ग्रुपको पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या प्लास्ट प्रालि, पञ्चकन्या स्टिल प्रालि र पञ्चकन्या रोटोमोल्ड प्रालि गरी चारवटा कम्पनीको व्यापारमा कमी आएको हो । उक्त चारवटा कम्पनीले सन् २०२४ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । ग्रुपले सन् २०२३ मा ७ अर्ब ८६ करोड रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०२२ मा १० अर्ब १० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
ग्रुपको व्यापारको तथ्यांक हेर्दा हरेक वर्ष कारोबार घट्दै गएको पाइन्छ । ग्रुपको पञ्चकन्या प्लास्टिक उद्योगले सन् २०२४ मा ८८ करोड २० लाख रुपैयाँ, पञ्चकन्या प्लास्ट प्रालिले ६४ करोड रुपैयाँ, पञ्चकन्या स्टिल प्रालि ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँ र पञ्चकन्या रोटोमोल्ड प्रालिले ६६ करोड ७० लाख रुपैयाँ गरी पौने ६ अर्बको व्यापार गरेको हो ।
ग्रुपको रेटिङअनुसार उक्त चार कम्पनीमार्फत् साढे ८ अर्ब बढी कर्जा लिने भएको छ । ग्रुपले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ अर्ब ६६ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको छ ।
पञ्चकन्या स्टिल प्रालिः पञ्चकन्या स्टिल प्रालिको व्यापार सन् २०२४ मा २८ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब ११ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
तर, सन् २०२५ मा भने व्यापार बढेको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३ अर्ब २३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ को सोही अवधिमा २ अर्ब ५९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार चालु आर्थिक वर्षमा व्यापार रिबाउन्ड भएको जनाएको छ ।
कम्पनीले भारतबाट कच्चा पदार्थको रुपमा एमएस ब्लेड आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार सन् २०२४ मा कारोबार गरेकोमध्ये ७५ प्रतिशत कच्चा पदार्थको रहेको छ ।
कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर ९० वटा डिलर छन् । साथै, कम्पनीको ७ वटा डिपो छन् । कम्पनीको बल्खु, ललितपुर, भैरहवा, पोखरा, धनगढी, नेपालगञ्ज र विर्तामोडमा डिपो रहेको छ । पञ्चकन्या ग्रुपद्वारा सञ्चालित पञ्चकन्या स्टिलमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रबन्ध निर्देशक प्रदिपकुमारसहित ७ जना बोर्ड सदस्य छन् ।
सन् १९९५ देखि निरन्तर टीएमटी स्टिल बार उत्पादन गर्दै आएको उद्योगको वार्षिक १ लाख ५० हजार मेट्रिक टन क्षमता छ ।
पञ्चकन्या रोटोमोल्ड प्रालिः पञ्चकन्या ग्रुपअन्तर्गतकै पञ्चकन्या रोमोल्ड प्रालिको व्यापार १५ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ६६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ७८ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
वार्षिक ५ हजार मेट्रिक टन युपीभीसी पाइप र फिटिङ्स उत्पादन क्षमता रहेको कम्पनीको आम्दानी सन् २०२४ मा १५ प्रतिशतले घटेको छ । नाफा भने १० प्रतिशतले घटेको छ ।
पञ्चकन्या ब्रान्डमै पाइप र फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीमा पनि ७ जना बोर्ड सदस्य छन् । कम्पनीले उत्पादन गरेको उक्त सामग्री देशभर उपलब्ध रहेको जनाएको छ ।
पञ्चकन्या प्लास्टिक उद्योग प्रालिः पञ्चकन्या ग्रपकै पञ्चकन्या प्लास्टिक उद्योगको व्यापार सन् २०२४ मा २९ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २९ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२४ मा ८८ करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ गरेको थियो । सन् २०२२ मा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
तर, सन् २०२५ मा भने व्यापार बढेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा ६० करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को सोही अवधिमा ५६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९८२ मा स्थापना भएको उद्योगले ९ हजार मेट्रिक टन एजडीई पाइप तथा फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । सात जना बोर्ड सदस्य रहेको कम्पनीले ‘पञ्चकन्या’ ब्रान्डमा पाइप तथा फिटिङ्स बजारमा बिक्री वितरण गर्दै आएको छ ।
पञ्चकन्या प्लास्ट प्रालिः पञ्चकन्या प्लास्ट प्रालिको व्यापार पनि १३ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ६४ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा ९३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षमा भने व्यापार रिबाउन्ड भएको जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ५८ करोड रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीले ४७ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
सन् २००३ देखि पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको कम्पनीसँग वार्षिक ५ हजार मेट््िरक टन उत्पादन क्षमता छ । पञ्चकन्या ब्रान्डमा सामग्री बिक्री गर्दै आएको कम्पनीको उद्योग भैरहवामा रहेको छ ।
साढे ८ अर्ब बढीको रेटिङ
सन् २०२४ मा व्यापारमा उच्च कमी आएपनि ग्रुपले कर्जाको क्षमता भने बढाएको छ । ग्रुपले साढे ८ अर्ब रुपैयाँ बढीको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ग्रुपले अहिले ८ अर्ब ६६ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको हो ।
ग्रुपले पञ्चकन्या रोटोमोल्ड कम्पनीमार्फत् १ अर्ब १० करोड १० लाख रुपैयाँ, पञ्चकन्या स्टिलले ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ, पञ्चकन्या प्लास्टमार्फत् १ अर्ब २४ करोड ५० लाख रुपैयाँ र पञ्चकन्या प्लास्टिक उद्योगमार्फत् १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।
प्रतिक्रिया