
रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास लिक भएर भएको आगलागीमा एकै परिवारका दाजु–बहिनीको ज्यान गएको छ । जेठ ११ गते पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनामा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादव गम्भीर घाइते भएका थिए । दुवैलाई तुरुन्तै भैरहवास्थित मेडिकल कलेज लगिएको थियो। शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने सोनमको उपचारकै क्रममा भैरहवामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानले ग्यास रेगुलेटर जडान गर्ने क्रममा ग्यास लिक भएको पुष्टि गरेको छ । सोही बेला गोठमा बलिरहेको आगोले ग्यास समातेर भान्सा कोठामा सल्किँदा ठूलो आगलागी भएको बताइएको छ। आगो नियन्त्रणमा ल्याउन इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोग थियो ।
चिकित्सकहरूका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको ७५ प्रतिशत भाग जलेको थियो ।
मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेले घटनापछि शोक व्यक्त गर्दै विद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ ।








प्रतिक्रिया