पर्यटन क्षेत्रको पूर्वाधार विकासमा व्यवसायी र बैंकले ढुक्कले लगानी बढाएका छन् तर सोही अनुपातमा पर्यटक बढाउन राज्यले ध्यान नदिएकोमा व्यवसायीहरू चिन्तित देखिन्छन् ।

काठमाडौं । केही समययता नेपालमा विदेशी ब्राण्डका चेन होटलहरू धमाधम थपिइरहेका छन् । अझ भनौं, नेपालमा विदेशी चेन होटलको मोह नै देखिएको छ ।
हाल नेपालका एक दर्जनभन्दा बढी पाँचतारे होटल विदेशी चेनकै छन् । यसले नेपालको आतिथ्य उद्योगमा विदेशी ब्राण्डको भरोसा बढिरहेको अर्थ पनि दिन्छ र पर्यटन उद्योगलाई टेवा पुर्याउँछ । अन्तर्राष्ट्रिय चेन होटलको बढ्दो उपस्थिति र नेपालको पर्यटन उद्योगको सम्भावनाकै कारण पछिल्ला दिन नेपालको आतिथ्य सत्कार क्षेत्रमा लगानी पनि धमाधम बढिरहेको छ । त्यससँगै, होमस्टेदेखि तारे होटलसम्मका पूर्वाधार निर्माणले प्राथमिकता पाइरहेका छन् ।
सन् २०२० का लागि नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेपछि निर्माण शुरू भएका होटल तथा रेस्टुरेन्ट अहिले धमाधम निर्माण सम्पन्न भएर सञ्चालनमा आउन थालिरहेका छन् । यद्यपि, कोभिड–१९ महामारीका कारण त्यसबेला घोषणा गरिएको नेपाल भ्रमण वर्ष स्थगित भयो भने विदेशी पर्यटक बढ्ने अपेक्षाले लगानी भएका पर्यटन पूर्वाधारले अपेक्षित लाभ पाउन सकेनन्।
केन्द्रीय तथ्यांक कार्यालयले २०८१ पुसमा सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण–२०८०’ अनुसार, नेपालमा एक लाख ४२ हजार २३३ वटा आतिथ्य सत्कार प्रतिष्ठान (होटल रेस्टुरेन्ट) छन् । तिनमा करीब पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।
उक्त सर्वेक्षण अनुसार, नेपालका आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूको स्थिर सम्पत्ति करीब पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको छ ।
अहिलेसम्म सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टमध्ये २८.४ प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गरेका छन् । बाँकी ७१.५ प्रतिशत प्रतिष्ठानले भने ऋण नलिएरै पूर्वाधार निर्माण गरेको केन्द्रीय तथ्यांक कार्यालयको सर्वेक्षणले देखाएको छ ।
राष्ट्र बैंकको गत चैत्र मसान्तसम्मको तथ्यांकअनुसार, पर्यटन क्षेत्रमा दुई खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो लगानी ठूला होटल तथा पर्यटकीय संरचना निर्माणमा भएको देखिन्छ । स्तर वर्गीकरणको उद्देश्यसहित निर्माण थालिएका होटल तथा पर्यटन पूर्वाधारमा बैंक तथा वित्तीय संस्थाको धेरैजसो लगानी छ ।
केन्द्रीय बैंककै २०८१ चैत मसान्तसम्मको तथ्यांक केलाउँदा, वाणिज्य बैंकहरूबाट मात्रै २ खर्ब १७ अर्ब रुपैयाँ पर्यटन उद्योगमा कर्जाको रूपमा लगानी भएको छ । त्यसैगरी, विकास बैंकहरूले २८ अर्ब र फाइनान्स कम्पनीको ४ अर्ब रुपैयाँ लगानी आतिथ्य सत्कार उद्योगलाई कर्जा दिएका छन् ।

वाणिज्य बैंकहरूबाट कर्जा लिएर पूर्वाधार विकास गर्ने होटल तथा रेस्टुरेन्टको हिस्सा भने असाध्यै थोरै छ । केन्द्रीय तथ्यांक कार्यालयले प्रकाशन गरेको सर्वेक्षण प्रतिवेदनअनुसार, नेपालमा रहेका कुल आतिथ्य सत्कार प्रतिष्ठानहरूमध्ये जम्मा ११.३६ प्रतिशत अर्थात १६ हजार १५७ ले मात्रै वाणिज्य बैंकहरूबाट प्रवाह भएको साढे दुई खर्ब कर्जा उपभोग गरेको तथ्यांक छ ।
बैंकहरूले प्रवाह गरेको कर्जा र निर्माण भइरहेका ठूला पर्यटन पूर्वाधारको तथ्यांकले ऋण नलिई बनेका तथा चलेका साना होटल तथा रेस्टुरेन्ट धेरै रहेको देखिन्छ ।
बैंकको ऋण लगानी र होटलको संख्याका हिसाबले पनि आतिथ्य सत्कार उद्योगमध्ये धेरैले बैंकबाट ऋण नलिएरै पूर्वाधार बनाएको अध्ययनले देखाएको छ । तर, व्यवसायीहरू भने बैंकबाट कर्जा नलिँदैमा आतिथ्य सत्कार उद्योग फस्टाएन भन्न नमिल्ने बताउँछन् ।

पर्यटन विभागको २०८१ वैशाखसम्मको तथ्यांक अनुसार नेपालमा २६ वटा पाँचतारे होटल पुगिसकेका छन् । यस अवधिसम्ममा विभागको सूचीमा अटाएका चारतारे होटलको संख्या ३९ पुगेको देखिन्छ । विभागका अनुसार, तीनतारेको संख्या ४०, दुईतारेको ५२ र एकतारेको ४७ छ । विभागले सूचीकृत गरेका २१२ होटलमध्ये अधिकांश पर्यटकीय स्तरका छन् ।
होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष प्रवीणबहादुर पाण्डे भन्छन्, ‘सबैले बैंकबाट ऋण लिएर होटल बनाएका हुँदैनन् । नेपालमा ठूला पाँचतारे होटल बनाउन होटलकै सम्पत्ति धितो राखेर कर्जा लिइएको हुन्छ । कतिपयले जग्गा धितो राखेर कर्जा लिएका हुन्छन् तर प्रयोजन खुलाएका हुँदैनन् । त्यस्तो कर्जा होटल तथा रेस्टुरेन्ट निर्माणमा नआएको हुनसक्छ ।’
होटलमा लगानी गर्दा दीर्घकालीन लक्ष्य राखिएको हुन्छ । अन्य नगद प्रतिफल छिटो आउने गरी भएका लगानीका क्षेत्रजस्तो होटलमा आज गरेको लगानीले तुरुन्त भोलिदेखि नै प्रतिफल दिइहाल्छ भन्ने होइन । दशकौंको सोच र योजनासहित होटलका पूर्वाधार बनेका हुन्छन् । कतिपय त पुस्तान्तरणको हिसाबले सोचिएको र बनाइएको हुन्छ । केही चाहिँ बाबु–बाजेले बनाइदिएको प्रतिष्ठान नाति पुस्ताले सञ्चालन गरिरहेको पनि हुन्छ ।
‘पर्यटकीय पूर्वाधार निर्माण गर्दा कम्तीमा २०/३० वर्षको योजना बनाएर लगानी गरिएको हुन्छ । यो आजको भोलि नै प्रतिफल आइहाल्ने क्षेत्र पनि होइन’, पाण्डे भन्छन् ।

अर्कोतर्फ, पारिवारिक रूपमा पनि आतिथ्य क्षेत्रमा संलग्नता र लगानी भएको हुँदा वित्तीय क्षेत्रको उपस्थिति पनि न्यून मात्रै भएको देखिन्छ । दर्ता नभएका र एक करोड रुपैयाँसम्म लगानी भएका कतिपय पूर्वाधारको तथ्यांकीय रूपमा अभिलेख नै नभएको पनि हुनसक्ने होटल सञ्चालकहरूकै भनाइ छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षण प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९/८० सम्ममा देशभर १०१ वटा तारे होटल छन् । त्यसैगरी, तारारहित होटलको संख्या पाँच हजार २३७ र रेस्टुरेन्टको संख्या ३४ हजार २५ रहेको छ ।
राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० को तथ्यांक अनुसार, वाणिज्य बैंकबाट ऋण लिने आतिथ्य सत्कार प्रतिष्ठानको संख्या १६ हजार १५७ छ । त्यसैगरी, फाइनान्सबाट ऋण लिने २ हजार २९५, माइक्रोफाइनान्सबाट ५ हजार ४३५ र सहकारीबाट ऋण लिने ११ हजार ८ होटल तथा रेस्टुरेन्ट रहेका छन् ।
देशभर रहेका १०१ वटा तारे होटलमध्ये ९९ वटाले वाणिज्य बैंकबाट ऋण लिएका छन् । १२ हजार १६६ वटा रेस्टुरेन्टले वाणिज्य बैंकबाट ऋण लिएका छन् भने त्यसरी ऋण लिने गैर तारे होटलको संख्या ३ हजार ३४२ छ । त्यसैगरी, ८४ वटा रिसोर्टले पनि वाणिज्य बैंकबाट ऋण लिएको राष्ट्र बैंकले प्रकाशन गरेको २०८१ चैतसम्मको तथ्यांकमा उल्लेख छ ।
पर्यटन क्षेत्रमा बैंक वित्तीय संस्थाको लगानी निरन्तर बढ्दो छ । अहिलेसम्म बैंकबाट साढे २ खर्ब रुपैयाँभन्दा बढी लगानी आतिथ्य सत्कार उद्योगमा भएको छ । पर्यटकीय पूर्वाधार निर्माणले पनि उत्तिकै तीव्रता पाइरहेको छ । होटल तथा रेस्टुरेन्ट क्षेत्रमा बढेको लगानीबाट प्रतिफल लिने आधार राज्यले तयार गरिदिनुपर्ने र त्यसका लागि पर्यटक भित्र्याउने आधार बनाउनुपर्ने होटल संघ नेपालका अध्यक्ष विनायक शाहको भनाइ छ ।

‘सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दा ती पर्यटकलाई लक्षित गरेर निर्माण भएका होटल पूर्वाधार धमाधम पूरा हुन थालेको छ । अहिले बनेकै संरचना अनुसार ३५ लाख पर्यटक धान्न सक्ने क्षमता नेपालका होटल रिसोर्टले बनाइसकेका छन्’, शाह भन्छन्, ‘पर्यटकको आवागमन नबढ्ने तर पूर्वाधार मात्रै बन्ने अवस्था रह्यो भने स्थिति भयावह हुनसक्छ ।’
सरकारले २० लाख पर्यटकलाई लक्षित गर्दा बनाएको संरचनामा १० लाख पर्यटक मात्रै पुगेका छन् । अहिलेको पर्यटक आगमनको तथ्यांकले अधिंकाश होटल रेस्टुरेन्टको अकुपेन्सी वार्षिक औसतमा ३० देखि ४० प्रतिशत मात्रै रहेको अनुमान होटल संघ नेपालको छ ।
व्यवसायीले पर्यटक आउने आशामा लगानी बढाउने तर राज्य चाहिँ क्षमता सकिएको त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै देखाएर बस्ने अवस्था भइरहेकोले पनि संभावना भएर पनि पर्यटक आगमन नबढेको सम्बन्धित पर्यटन व्यवसायीको भनाइ छ । पोखरा र भैरहवामा बनेका विमानस्थलहरू चलाउने, सडक पूर्वाधार निर्माणमा ध्यान दिने जस्ता काममा सरकार लाग्नुपर्ने हुन्छ ।

आतिथ्य सत्कार उद्योगमा ढुक्कले लगानी गर्छन् बैंक
बैंक तथा वित्तीय संस्थाले आतिथ्य उद्योगमा ढुक्कसँग लगानी गरिरहेका छन् । ठूला होटल, रिसोर्ट र रेस्टुरेन्टको प्रशस्त भौतिक सम्पत्ति हुने भएकाले त्यसैको आधारमा कर्जा दिइने हुँदा बैंकले बिना हिच्किचाहट लगानी गरिरहेको छ ।
त्यतिमात्रै होइन, लगानी भएको कर्जा तीन दशकसम्म चुक्ता नहुँदा पनि आफ्नो कर्जा नडुब्ने भएकाले बैंक ढुक्कले बसिरहेका छन् ।
नेपाल बैंकले पोखराको पाँचतारे होटल फूलबारी रिसोर्ट एण्ड स्पामा गरेको लगानी तीन दशकसम्म पनि उठेको छैन ।
नेपाल बैंकले उक्त होटलमा डेढ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । त्यसमध्ये उठाउनुपर्ने रकम बढेर तीन अर्ब रुपैयाँ पुगेको छ ।
बैंकले आफ्नो लगानी उठाउनको लागि २०७९ मै फूलबारीको होटलसहितका जग्गा लिलामीको सूचना निकालेको थियो । बैंकलाई चाहिएको ऋण भुक्तानी गर्ने र ब्याजसहितको नियमित किस्ता तिर्ने होटलको प्रतिबद्धतालाई बैंकले विश्वास गरेर अहिलेसम्म थमौतीमा छ । होटलको सम्पत्ति लिलामी गर्दा बैंकको लगानी सजिलै उठाउन सकिने अवस्था भएकाले बैंकले धेरै ताकेता नगरेको बैंककै अधिकारीहरू स्वीकार्छन् ।
कुन बैंकको कति लगानी ?
पछिल्लो समय पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्टको मात्रै २३ अर्ब रुपैयाँ आतिथ्य सत्कार उद्योगमा लगानी गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जा लगानीमध्ये पर्यटन क्षेत्रमा औसतमा १० प्रतिशत लगानी गरेको सम्बन्धित बैंकहरूको वित्तीय विवरणले देखाउँछ ।
पर्यटन क्षेत्रमा पछिल्लो एक वर्षमा मात्रै करीब ३० अर्ब रुपैयाँ लगानी थपिएको छ । होटल क्षेत्रमा आक्रामक रूपमा लगानी विस्तार भइरहेको छ । पर्यटन क्षेत्रमा होटलको योगदान ९० प्रतिशतभन्दा बढी हुने र यही क्षेत्रमा बैंकको लगानी आकर्षित हुने गरेका छन् । त्यसबाहेक, पर्यटन क्षेत्रका ठूला पूर्वाधारहरू केबलकार, बन्जी, प्याराग्लाइडिङ लगायतका क्षेत्रमा बैंकको लगानी बढिरहेको छ ।

स्थायित्वको चुनौती
बैंक तथा वित्तीय संस्थाले आतिथ्य सत्कार उद्योगमा ढुक्कले लगानी गरिरहेको भए पनि भविष्यमा लगानी फिर्ताको ग्यारेन्टी र उद्योगको स्थायित्वको बारेमा भने अहिल्यैबाट सोच्नुपर्ने व्यवसायीहरू नै बताउँछन् ।
पर्यटन क्षेत्रमा बैंक वित्तीय संस्थाले गरेको लगानी फिर्ता हुन ढिलो हुने वा डुब्ने अवस्था आउन नदिन पनि बेलैमा सचेत हुनुपर्ने अवस्था देखिएको पाँचतारे होटल सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए । उनले भने ‘अहिले बैंक तथा वित्तीय संस्थाको लगानीमा जति पनि होटलहरू चलिरहेका वा बनिरहेका छन्, त्यसको दीर्घकालीन स्थायित्व हुनुपर्छ र उनीहरू आम्दानी गरेर कर्जा भुक्तानी गर्न सक्ने अवस्था समेत बनाउनुपर्छ ।’
आतिथ्य सत्कार उद्योगले नयाँ गन्तव्य खोज्ने भन्दा पनि एकै प्रकृतिका स्थानमा सबैले लगानी खन्याउने हुँदा यस उद्योगको व्यावसायिक स्थायित्वको चिन्ता थपिएको व्यवसायीहरू नै बताउँछन् ।
‘एउटै प्रकृतिका र उही स्थान विशेषमा ५ गुणासम्म लगानी बढिरहेको छ । नयाँ गन्तव्यको खोजी र विकास हुन सकिरहेको छैन’, चापागाईंले भने, ‘पर्यटकीय पूर्वाधार चलायमान नहुने र भएकै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने हो भने होटलमा भएको लगानी खेर जानसक्छ ।’
नेपालमा विदेशी चेनको होटल चलाइरहेका मेरियट काठमाडौंका सञ्चालक शशिकान्त अग्रवाल पनि सम्भावना हेरेर मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन र लगानी गर्न आग्रह गर्छन् । ‘पछिल्लो समय सञ्चालनमा आएका सबै नयाँ होटलहरू घाटामा छन् । यी होटलको मुख्य खर्च नै ब्याजमा भइरहेको छ । यस्तो खर्च पनि ८० देखि ९० प्रतिशतसम्म ऋण लिएकाहरूमा बढी देखिन थालेको छ’, अग्रवालले भने ।

कस्तो हुनुपर्छ राष्ट्र बैंकको भूमिका ?
आतिथ्य सत्कार उद्योगमा आगामी दिनमा लगानी बढाउँदा विस्तृत अध्ययनमा व्यावसायिक सम्भावना देखिएको, प्रोजेक्ट कस्ट न्यून भएको र प्रतिफल दिन सक्ने परियोजना हेरेर मात्रै लगानी गर्ने नीतिलाई केन्द्रीय बैंकले कडाइका साथ लागू गर्नुपर्ने व्यवसायीहरू नै बताउँछन् ।
‘प्रतिफल नै दिन नसक्ने होटलमा भएको लगानीले समस्या सिर्जना गर्न सक्छ । तसर्थ, प्रतिफलको अवस्था राम्ररी विश्लेषण गरेर मात्रै लगानी गर्ने वातावरण बनाउन केन्द्रीय बैंकले ध्यान दिनुपर्छ’, मेरियट काठमाडौंका सञ्चालक अग्रवालले भने, ‘कुनै पनि होटलले कुल लगानीको ५० प्रतिशतसम्म मात्रै ऋण लिन पाउने व्यवस्था गर्नुपर्ने बेला आइसकेको छ ।’
होटल बाराहीका सञ्चालक विप्लव पौडेल पनि सरकारले अब पर्यटकीय पूर्वाधार निर्माण गर्दा लगानी सुरक्षित गर्ने नीति ल्याउनुपर्ने तर्क गर्छन् । पौडेलले भने, ‘अहिले नेपालमा कुनै अध्ययन नै नभई पर्यटन क्षेत्रमा लगानी खन्याइएको छ, लहडकै भरमा लगानी भइरहेको देखिएको छ । दीर्घकालीन रूपमा यसले समस्या सिर्जना गर्न सक्छ ।’
रेस्टुरेन्ट व्यवसायी अरनिको राजभण्डारी भने प्रतिस्पर्धी बजारमा जसले सक्छ उसैले गरिखान पाउने भएकोले पनि लगानी कुनै पनि हालतमा निरुत्साहित गर्न नहुने तर्क गर्छन् । ‘राज्यले पर्याप्त पूर्वाधार बनाइदिने हो, पर्यटक आउने बाटो, विमानस्थल, पर्यटकीय पूर्वाधारमै जोड दिनुपर्छ,’ राजभण्डारीले भने, ‘ऋण लगानी जग्गाको आधारमा मात्रै नभएर सम्पत्ति, ब्राण्ड र कारोबारसहितबाट हुनुपर्छ । नेपालमा ९० प्रतिशत रेस्टुरेन्ट भाडामा तथा पालमा खुलेका छन् । तर, उनीहरूको आम्दानी भने राम्रो छ भने ऋण लगानी किन रोक्ने ?’
२०८१ चैतसम्म पर्यटन क्षेत्रमा कुन वाणिज्य बैंकको कति लगानी ?

प्रतिक्रिया