चालु खाता र शोधनान्तर बचतमा

203
Shares

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो ।

चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ ।

चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब छ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार छ सय ६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । चालु आवको नौ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ ।

चालु आवको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति पाँच दशमलव ९२ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो ।

गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो ।

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।