
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाएकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार शाही सूर्यविनायक नगरपालिका–२, वृहस्पतिमार्गस्थित डेरामा मृत फेला परेकी हुन् । घटनाको समयमा उनका श्रीमान् घरबाहिर थिए । काम विशेषले बाहिर गएका उनी फर्किंदा कोठाको ढोका भित्रबाट बन्द थियो । लामो समयसम्म ढोका नखुलेपछि प्रहरी बोलाएर स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोरेर हेर्दा शाही भुइँमा ढलेको अवस्थामा भेटिएकी थिइन् ।
प्रहरी वृत्त थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार शाहीको शरीरमा कुनै बाह्य चोटपटक देखिएको छैन । प्रारम्भिक अनुसन्धानमा अत्यधिक मात्रामा औषधि सेवनका कारण मृत्यु भएको आशंका गरिएको छ ।
स्वास्थ्यकर्मी शाही २०७६ सालमा तत्कालीन सभामुख महरामाथि जबरजस्ती करणीको आरोप लगाउँदै उजुरी दर्ता गरेकी थिइन् । सोही वर्ष असोज १२ गते साँझ तीनकुनेस्थित डेरामा महरा गएका बेला विवाद भएको थियो, जस क्रममा महराको चस्मा समेत फुटेको उल्लेख गरिएको थियो ।
शाही संसद सचिवालयमा कार्यरत थिइन् । उजुरीमा उनले महराले जबरजस्ती गर्ने प्रयास गरेको र आफूले प्रतिकार गर्दा निर्घात कुटपिट गरेको दाबी गरेकी थिइन् । तर, अनुसन्धानको क्रममा र अदालतमा बयान दिँदा उनले बलात्कारको प्रयास नभएको र महरा कोठामा नै नआएको उल्लेख गरेकी थिइन् ।
यिनै अभिव्यक्तिहरूको आधारमा काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते कृष्णबहादुर महरालाई प्रमाण अभावका कारण सफाइ दिएको थियो ।
शाहीको मृत्युको कारण पुष्टि गर्नका लागि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।








प्रतिक्रिया