तीनकुने हिंसात्मक प्रदर्शन : दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दायर

574
Shares

काठमाडौं । राजधानीको तीनकुनेमा गत चैत १५ गते राजावादी समूहद्वारा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार, राज्यविरुद्धको कसुरमा धवलशमशेर राणा, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ । त्यस्तै, थप ११ जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर गरिएको छ ।

दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित राज्यविरुद्धको कसुरमा समेत मुद्दा लगाइएको छ । तीमध्ये हरिहरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारू समावेश छन् ।

प्रदर्शनका क्रममा भएको हिंसाले दुईजनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजकको आन्दोलनकारीले घरमा आगजनी गर्दा मृत्यु भएको थियो भने कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

त्यस दिन प्रदर्शनकारीहरूले सरकारी तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए। सरकारी सवारीसाधनसमेत क्षतिग्रस्त भएका थिए।

प्रहरीले घटनापछि करिब १५० जनालाई पक्राउ गरेको थियो । अनुसन्धानपछि संलग्नता नभएका र गम्भीर अपराध नगरेका व्यक्तिहरूलाई छाडिएको थियो । १०८ जनाविरुद्ध अनुसन्धान प्रतिवेदन बुझाइए पनि सरकारी वकिल कार्यालयले तीमध्ये ६५ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको हो । चार जना नाबालकको विषयमा भने बाल अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

Skip This