ग्वार्को फ्लाइओभर निरीक्षणमा भौतिक मन्त्री, कहिलेबाट सञ्चालनमा आउला ?

126
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरस्थित ग्वार्को चोकको फ्लाइओभरमा जेठको अन्तिमसम्म गाडी सञ्चालनमा आउने जानकारी दिएका छन्।

आइतबार फ्लाइओभरको स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले प्राविधिक कारणले ढिलो भए पनि अब सबै काम समयमै सम्पन्न भई सवारीसाधन सञ्चालनमा आउने बताए। उनले फ्लाइओभर सञ्चालन भएपछि सो क्षेत्रमा हुने सवारी जामको समस्या अन्त्य हुने दाबी गरे।

हाल फ्लाइओभरको बीच भागमा माटो भरी एकतर्फ कालोपत्रे गरिसकिएको छ भने अर्को भागमा कालोपत्रे गर्ने तयारी भइरहेको छ। कालोपत्रे कार्य सम्पन्न भएपछि फ्लाइओभरमा सवारी आवागमन खुला गरिने मन्त्री दाहालले जानकारी दिए।

त्यस्तै, मन्त्री दाहालले ठूला र महत्वपूर्ण पूर्वाधार परियोजनाहरू समयमा सम्पन्न गर्न नियमकानूनमा आवश्यक संशोधन गरिने र ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए। आगामी बर्षायाममा राजमार्गहरूमा हुन सक्ने अवरोध तत्काल हटाउनका लागि सरकार उच्च सतर्कतामा रहेको उनले उल्लेख गरे।

सडक विभागले इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन) मोडलमा ग्वार्को फ्लाइओभर निर्माण गर्न २०७८ माघमा आरसी, समानान्तर, र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो। तर, निर्माण कार्य समयमै सम्पन्न नभएपछि पटक–पटक म्याद थप गर्दै अन्तिम म्याद पुष ८ गते तोकिएको थियो, जुन सकिइसकेको छ। त्यसपछि पनि निर्माण कम्पनीले काम जारी राखेको छ।