
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एउटा बिहे घरमा दोहोरो झडप भएको छ।
बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। भजनलाल सहनीको छोरीको बिहे चलिरहेका बेला शुक्रबार राति ११स्३० बजेतिर झडप भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार बिहे विधि चलिरहेका बेला डिजे बजाएर नाच्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो।
मदिरा सेवन गरेका जन्ती (बेहुला पक्ष) र घरगाउँले (बेहुली पक्ष) बीच बढेको विवाद झडपमा परिणत भएको पाइएको जोशीले बताए। झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएको प्रहरीले जनाएको छ।
झडपमा दुवै पक्षका घाइते भएका छन्। तीमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ। घाइतेहरुको टाउकोमा टाँका लगाइएको र सबै जना खतरामुक्त रहेको जोशीले बताए।








प्रतिक्रिया