
काठमाडौं । सन् २०२५ मा विश्वव्यापी ठूला प्रविधि कम्पनीहरूले पुनः ठूलो संख्यामा जागिर कटौती गर्न थालेका छन् ।
सन् २०२५ को पहिलो पाँच महिनामा प्रविधि, खुद्रा व्यापार, र वित्तीय क्षेत्रका विश्वप्रसिद्ध कम्पनीहरूले ठूलो संख्यामा रोजगारी कटौती गरेका छन् । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, राजस्व वृद्धिमा सुस्ती, र विश्वव्यापी आर्थिक अनिश्चितता यी कटौतीको प्रमुख कारण मानिएको छ ।
एक तथ्यांक अनुसार यो वर्ष हालसम्म १३० भन्दा बढी कम्पनीबाट ६१ हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाइसकेका छन् ।
कामदार कटौती प्रविधि कम्पनीहरूले लागत घटाउने, संरचना सानो बनाउने र कृत्रिम बुद्धिमत्तामाथि अझ बढी निर्भर हुने रणनीति कार्यान्वयनमा ल्याएका छन् ।
पुराना प्रकारका जागिरहरू हटाउँदै गए पनि आगामी भविष्यमा वृद्धि हुने क्षेत्रमा नयाँ अवसरहरू सिर्जना भइरहेको कम्पनीहरूले जनाएका छन् ।
प्रविधि क्षेत्रकै कम्पनी ओराकलले ७ प्रतिशतका दरले ११ हजार कर्मचारी कटौती गरेका छन् । यसमा उच्च तहका कर्मचारी बढी छन् । यस्तै अटोडेस्कले ९ प्रतिशतका दरले ११ हजार कर्मचारी कटौती गरेका छन् ।
हेवलेट पेकार्ड(एचपी) ले पनि २ हजार कर्मचारी कटौती गरेको छ भने हेवलेट पेकार्ड इन्टरप्राइजले ५ प्रतिशतको दरले २ हजार ५ सय स्ट्राइपले ३ सय कर्मचारी कटौती गरेको छ ।
यस्तै खुद्रा तथा उपभोक्ता वस्तु क्षेत्रतर्फ कोहल्सले ९ हजार ६ सय, इस्टे लाउडरले ७ हजार, स्टारवकले १ हजार १ सय, वित्तीय र परामर्श सेवा क्षेत्रतर्फ बुज एलन ह्यामिल्टनले ७ प्रतिशतको दरले २ हजार ५ सय, मोर्गन स्टान्लीले २ हजार, व्ल्याकरकले २ सय र ब्रीजवाटर एशोसिट्सले ९० कर्मचारी कटौती गरेको छ ।
त्यस्तै व्लु ओरिजनले १ हजार, डउले १ हजार ५ सय, नेस्लेले २ सय २५ र साउथवेस्ट एयरलाइन्सले १ हजार ७ सय ५० कर्मचारी कटौती गरेको छ ।
इनटेल
प्रविधि कम्पनी इनटेलले विश्वभरको आफ्नो रोजगारी हिस्सामध्ये २० प्रतिशतका दरले २१ हजार कर्मचारी निकालेको छ । कम्पनीले इतिहासमै सबैभन्दा बढी कर्मचारी कटौती गरेको हो ।
माइक्रोसफ्टबाट ६ हजार कर्मचारी कटौती
माइक्रोसफ्टले यो वर्ष मात्रै ६ हजार कर्मचारीलाई कामबाट हटाएको छ । जुन सन् २०२३ यताकै सबैभन्दा ठूलो संख्याको कटौती हो । तीमध्ये करिब २ हजार कर्मचारी वाशिङ्टन राज्यमा थिए । कम्पनीले व्यवस्थापनका तह घटाएर इन्जिनियरिङ क्षेत्रमा बढी केन्द्रित हुने बताएको छ ।
गुगलद्वारा बिक्री र विज्ञापन टोलीमा कटौती
गुगलले पनि पछिल्ला केही महिनामा कर्मचारी घटाएको छ । सन् २०२५ को मे महिनाको सुरुवातमा मात्रै करिब २ सय कर्मचारीलाई विज्ञापन र बिक्री टोलीबाट हटाइएको थियो । यसअघि पनि पिक्सेल, एण्ड्रोइड, क्रोम र क्लाउड विभागहरूमा कटौती गरिएको थियो । यी सबै कदम २०२३ को प्रमुख पुनः संरचनापछि लिइएका हुन् ।
मेटा(फेसवुक, इन्स्टाग्राम र व्हाट्सअप)
मेटाले पनि सन् २०२५ को अहिलेसम्म ६ हजारभन्दा बढी कामदार निकालेको छ । व्यवस्थापन, गैर प्राविधिक विभागका कामदारहरु निकालेको हो । व्यवस्थापन संरचना सानो बनाउने र इन्जिनियरिङ क्षेत्रमा केन्द्रित हुने उद्देश्यका साथ मुख्यगरी अमेरिकाको वाशिङटन राज्यबाट कामदार कटौती गरेको छ ।
अमेजन डिभाइस र सेवा विभाग प्रभावित
अमेजनले आफ्नो डिभाइस र सर्भिस इकाइबाट १ सय कर्मचारीलाई हटाएको छ । यो इकाइमा भ्वाइस असिस्टेन्ट र ईरिडर जस्ता उत्पादनहरू समेटिन्छन् । कम्पनीले उत्पादन लक्ष्य र स्रोतहरू मिलाउनका लागि कटौती गरिएको जनाएको छ ।
क्राउडस्ट्राइक
साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले दीर्घकालिन लाभ केन्द्रित रणनीतिअन्तर्गत आफ्ना ५५ कर्मचारी घटाएको छ ।
आईबीएम
आईबीएमका सीईओले गरेको खुलासा अनुसार कम्पनीको मानव संसाधन विभागबाट सयौं कामहरूलाई एआईबाट गराइरहेको छ । यद्यपि यसले केही जागिरहरू हटाए पनि कम्पनीले नयाँ कर्मचारीहरूलाई प्रोग्रामिङ र बिक्री क्षेत्रमा भर्ना गर्दैछ ।
सेल्सफोर्स
यो कम्पनीले दुई चरणमा गरी बिक्री, ग्राहक सेवा र प्रशासन विभागबाट ८ हजार कर्मचारी निकालेको छ । पोस्ट प्यान्डेमिक विस्तारका साथै एआई प्रविधि नीति कार्यान्वयनमा ल्याएर मानवशक्ति घटाइएको हो ।
स्पोटीफाई
यो कम्पनीले पनि सामग्री व्यस्थापन र मार्केटिङ विभागबाट ८ सय कर्मचारी घटाएको छ ।
टेक्सला
यो कम्पनीले विश्वभरको आफ्ना शाखाहरुमा कार्यरत कामदारमध्ये ३ हजार कर्मचारी कटौती गरेको छ । उत्पादन शाखा, मानव संशाधन शाखा र बिक्री शाखाबाट कामदार कटौती गरेको हो । आपूर्ति श्रृंखला समस्या र लागत व्यवस्थापनका कारण कामदार कटौती गरेको टेक्सलाको भनाई छ । टेक्सलाले विद्युतीय सवारी साधन उत्पादन बजारमा प्रतिस्र्पधा गरेसँगै सञ्चालन खर्च घटाउने नीति लिएको छ ।
एप्पल
मोवाइल कम्पनी एप्पलले प्रत्यक्ष रुपमा कटौती नगरेपनि पुनः संरचनाको नीति लिएको छ । विकास इकाई, चिप डिजाइन समूहको पुनः संरचना गर्न लागेको हो ।
प्रवृत्ति के देखिन्छ ?
प्रविधि कम्पनीहरूले तीन मुख्य कारणले कटौती गरिरहेका छन् :
१. कृत्रिम बुद्धिमत्ता मानवद्वारा गरिने धेरै काम अब एआई बाट स्वचालित हुँदैछ । यसले कामदारको आवश्यकतालाई घटाएको छ ।
२. राजस्व वृद्धि सुस्त : विश्व बजारमा आर्थिक अनिश्चितताले कम्पनीहरूको आम्दानी वृद्धि दर घटेको छ ।
३. संरचना सानो बनाउने रणनीति : कम्पनीहरू अब बढी चुस्त, छरितो र नवीन संरचना बनाउन खोजिरहेका छन् ।
नयाँ अवसर पनि खुल्दै
जागिर कटौतीको यो लहरले नकारात्मक सन्देश दिन सक्दछ । तर अर्को पाटोमा नयाँ प्रकारका अवसरहरू पनि सृजना भइरहेका छन् । डेटा वैज्ञानिक, एआई विशेषज्ञ, साइबर सुरक्षा विशेषज्ञ र सफ्टवेयर इञ्जिनियरिङका क्षेत्रमा नयाँ रोजगारीका संभावना खुलेका छन् ।
विश्व विख्यात विश्लेषक रोबिन हार्टले भने, ‘पुराना काम हराउँदैछन्, तर प्रविधिको विकासले नयाँ पेसाहरू जन्माइरहेको छ । बजार रूपान्तरण हुँदैछ ।’
प्रतिक्रिया