अर्थशास्त्री डा. श्रेष्ठ राष्ट्र बैंकबाट अवकाश, भन्छन्ः अझै पनि सार्वजनिक छु, राष्ट्रसेवा गरिरहन्छु

3.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अवकाश पाएका छन् । केन्द्रीय बैंकमा साढे २७ वर्ष सेवा पुरा गरी श्रेष्ठ सेवानिवृत्त भएका हुन् ।

श्रेष्ठले राष्ट्र बैंकको जागिर २०५४ साल मंसिर २३ गतेदेखि शुरु गरेका हुन् । उनी २०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् । हाल उनी राष्ट्रिय योजना आयोगको सदस्य छन् भने भर्खरै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सदस्य रहेर काम गरेका थिए ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुखका रूपमा लामो समय काम गरेका श्रेष्ठ विष्णु पौडेल यसअघि अर्थमन्त्री रहँदा आर्थिक सल्लाकारका रुपमा काम गरेका थिए । उनी राष्ट्र बैंककै लघुवित्त सुपरीवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग प्रमुख रहिसकेका छन् । त्यसअघि उनले शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्षका रुपमा पनि काम गरेका थिए ।

उनीसँग नेपाल धितोपत्र बोर्डको सञ्चालक बनेर काम गरेको अनुभव पनि छ । ५८ वर्ष उमेर हदका कारण श्रेष्ठ राष्ट्र बैंकको सेवाबाट निवृत्त भएका हुन् ।

आज ५८ वर्ष पुरा गरेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा ‘अवकाश, भ्रम र नयाँ गर्भनरलाई बधाई’ शीर्षकमा एक पोस्ट पनि गरेका छन् । पोस्टमार्फत् भनेका छन्, ‘गभर्नरको लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस् भनेर समयमा नै राजिनामा दर्ता गराएको थिए । तर, आवश्यक नपर्ने बुझिए पछि राजिनामा निष्कृय भएको हो । म अझै सार्वजनिक सेवामा नै छु । आफ्नो वुद्धि र विवेकले भ्याएसम्म जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको छु, थप अनुभव पनि भइरहेको छ । भोलिका दिनमा सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, वौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न सक्ने देख्छु ।’

यस्तो छ, डा. श्रेष्ठको फेसबुक पोस्ट

अवकाश, भ्रम र नयाँ गर्भनरलाई बधाई
१. आजदेखि युवा अवस्थाको उर्वर समयको करिब साढे २७ वर्ष बिताएर नेपाल राष्ट्र बैंकको स्थायी जागिरबाट अनिवार्य अवकाशमा । उक्त संस्थाले जागिर अवधिमा उच्च अध्ययन, मौद्रिक नीति र केन्द्रीय बैंक‌सम्बन्धमा तालिम गोष्ठीमा सहभागी हुने अवसर दिलायो । छात्रवृत्तिमा उच्च अध्ययन गर्न जाँदा पनि केन्द्रीय बैंक‌लाई काम लाग्ने समष्टिगत, मौद्रिक र वित्तीय अर्थशास्त्रका विषयहरू बढी अध्ययन गरें ।
पिचडीको शोध त “साना अर्थतन्त्रमा मौद्रिक नीति, बैंकिङ प्रणाली र विदेशी विनिमय सञ्चिति” रहेको थियो । आर्थिक अनुसन्धान विभाग सहित अन्य विभाग र कार्यालयमा रहेर निष्ठापूर्वक योगदान दिए जस्तो लाग्छ । यी सबै अवसरको लागि राष्ट्र बैंकलाई ह्रदयदेखि मुरी मुरी धन्यवाद । अझ, बेलाबखत नेपाल सरकारले दिने जिम्मेवारी निर्वाह गर्ने अवसर पनि प्रदान गर्यो । यसले गर्दा खारिने र अनुभव बढाउने अवसर मिल्यो । यस संस्थाको महानता कायम राख्न समयानुकूल थप सुधारको खाँचो भने अझै छ ।

२. राष्ट्र बैंककै क्याडर रहेको, जागिरको उत्तरार्धतिर गभर्नरको पद खाली हुन लागेको अवस्थामा नेपाल सरकारले गभर्नरको लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस् भनेर समयमा नै राजिनामा दर्ता गराएको थिए । तर, आवश्यक नपर्ने बुझिए पछि राजिनामा निष्कृय भएको हो। केही मिडियाले कामु गभर्नरले मेरो राजिनामा स्वीकृत नगरेको भन्ने गरेको कुरा सत्य होइन । केही ढिला भए पनि राष्ट्र बैंकले कृषि र स्रोत विज्ञ, आर्थिक इतिहासका जानकार गभर्नरको रूपमा पाएको छ । पक्कै पनि नयाँपन आउने छ ।‌ उहाँलाई हार्दिक बधाई र कार्य सफलताको शुभकामना । यस सन्दर्भमा मेरो लागि अपेक्षा गरेर शुभकामना, सद्भाव र शुभेक्षा दिनु हुने सबैलाई धन्यवाद ।

३. म अझै सार्वजनिक सेवामा नै छु, केही मिडियामा भ्रामक समाचार पनि छन् । नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको महत्त्वपूर्ण जिम्मेवारीमा गत साउनदेखि राखेको छ । आफ्नो वुद्धि र विवेकले भ्याएसम्म यस संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको छु, थप अनुभव पनि भइरहेको छ । थप प्रभावकारीताको लागि यस संस्थाको राम्रै पुनरसंरचना गर्नु पर्ने देख्दछु । भोलिका दिनमा सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, वौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न सक्ने देख्छु । खुला आकाशमा विचरणको पनि मजै आउने छ ।

Skip This