अब सवारी चालक अनुमति पत्र सुरक्षण मुद्रण केन्द्रले छाप्ने

644
Shares

काठमाडौं । सवारी चालक अनुमति पत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो।

समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन्। अब सुरक्षण मुद्रण केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्ने छ। समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरि विभागलाई हस्तान्तरण गर्ने छ।

सवारी चालक अनुमति पत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिन अघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ बीच छलफल समेत भएको थियो। दुई सरकारी निकाय बीचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ।

तत्काल अनुमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने वाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ। हाल सोही एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ।