रवि समर्थकलाई सर्वोच्च अदालतको चेतावनी: नियोजित ढंगले न्यायाधीशहरूको बेइज्जती नगर्नू

2.7k
Shares

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेका समर्थकहरूलाई सामाजिक सञ्जाल र मिडियामा न्यायिक आदेश र फैसलामाथि अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे ‘सुप्रिम सहकारी’ ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत तुलसीपुर, बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । यही आदेशसँगै अदालतले न्यायाधीशहरूको इज्जतमा आँच पुर्‍याउने खालका अभिव्यक्तिबाट टाढा रहन सबैलाई सचेत गराएको हो ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आदेशमा लेखेको छ, ‘अदालतका आदेश र फैसलामाथि स्वच्छ र रचनात्मक टिप्पणी सधैं स्वागतयोग्य हुन्छ । तर नियोजित ढंगले न्यायाधीशहरूको बेइज्जती गर्ने र जनतामा भ्रम फैलाउने गतिविधिले न्याय सम्पादनमा अवरोध पुर्‍याउने भएकाले यसप्रति सबैले संवेदनशील हुन जरुरी छ ।’

थुनामै राख्ने आदेश सदर

सर्वोच्च अदालतले गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले दिएको आदेश यथास्थितिमा राख्ने निर्णय गरेको छ । आदेशमा भनिएको छ, ‘रवि लामिछाने र छविलाल बन्जाडेलाई थप प्रमाणसहित मुद्दाको कारबाही अघि बढाउने र फैसला गर्ने प्रक्रिया अनुसार थुनामा राख्ने आदेश कानुनी रूपमा गलत देखिएको छैन ।’